Comments Add Comment

प्रदेश २ मा भारतबाट एक सातामै आए साढे ६ हजार जना

भरिन थाले क्वारेन्टाइन, व्यवस्थापनमा समस्या

१२ जेठ जनकपुरधाम । प्रदेश २ का जिल्लामा भारतबाट एक सातामै साढे ६ हजार भन्दा धेरै मानिस आएका छन् । जेठ ६ देखि १२ गतेसम्म प्रदेश २ मा ६ हजार ७ सय १३ जना मानिस भारतबाट आएका प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ । यी मानिसहरुलाई राख्न एक सातामा थप ७८ क्वारेन्टाइन थपिएको छ ।

मन्त्रालयका अनुसार ६ जेठसम्म २ सय वटा क्वारेन्टाइनमा ६ हजार ७ सय १० बेड भएकामा १२ जेठसम्म २ सय ७८ क्वारेन्टाइनमा १४ हजार २ सय ३२ बेड संख्या पुर्‍याइएको छ ।

६ जेठसम्म क्वारेन्टाइनमा ३ हजार ९ सय ८४ जना रहेकामा १२ जेठसम्म १० हजार ६ सय ८७ जना पुगेका छन् । प्रदेश २ मा अधिकांश क्वारेन्टाइन सामुदायिक विद्यालयमा बनाइएको छ ।

जनकपुरधाम उप महानगरपालिकाले अघिल्लो हप्ता गोपाल दास धर्मशालालाई क्वारेन्टाइन बनायो । ५० बेड क्षमताको उक्त क्वारेन्टाइनमा बस्नेको संख्या अहिले ७५ पुगेको छ । भारतबाट आउनेको संख्या ह्वात्तै बढेपछि हप्ता दिनमै क्वारेन्टाइन भरिभराउ बनेको छ ।

भारतबाट धमाधम मानिसहरु स्वदेश फर्किन थालेपछि उपमहानगरपालिकाले मंगलबारदेखि वडा नम्बर २० को बसहियामा अर्काे क्वारेन्टाइन सञ्चालनको तयारी गरेको प्रमुख प्रशासकीय अधिकृतगोपाल रेग्मीले जानकारी दिए ।

सप्तरीको सीमावर्ती बलान बिहुल गाउँपालिकामा पछिल्लो हप्ता भारतबाट १ सय ५१ जना आएका छन् । लकडाउन अवधीभर १ सय ८५ जना आए पनि ३२ जना परीक्षणपछि घर गइसकेको गाउँपालिका अध्यक्ष दयानन्द गोइत बताउँछन् ।

कोरोना संक्रमणबाट बच्न ११ चैत २०७६ बाट लकडाउन सुरु भएदेखि नै सीमामा व्यापक मात्रामा सुरक्षाकर्मी खटाएर आवतजावतमा रोक लगाइएको थियो । तर गएको ४ जेठदेखि सीमानाका खुकुलो बनाएसँगै प्रदेश २ का आठ वटै जिल्लामा भारतबाट भित्रिनेको संख्या अत्यधिक बढेको छ । अहिले एउटा जिल्लामा दैनिक ५० जनाको हाराहारीमा मानिस भारतबाट आइरहेका छन् ।

जेठ ६ गतेसम्म प्रदेश २ मा ६ हजार ७ सय १० बेड भएको २ सय क्वारेन्टाइन थियो र त्यहाँ ३ हजार ९ सय ८४ जना मानिसलाई राखिएको थियो । जेठ १२ गते सोमबारसम्ममा क्वारेन्टाइन बेड संख्या १४ हजार २ सय ३२ पुग्यो भने त्यहाँ १० हजार ६ सय ९७ जना बसेका छन् ।

क्वारेन्टाइन नथप्ने जिल्ला सर्लाही र बारा मात्रै छन् । सर्लाहीमा ३९ र बारामा १७ वटा क्वारेन्टाइन रहेको छ ।

परीक्षण सुस्त, व्यवस्थापनमा समस्या

भारतबाट आउनेको संख्या बढ्दै गए पनि कोरोना परीक्षण भने सुस्त देखिएको छ । एक सातामा क्वारेन्टाइनमा ६ हजार ७ सय १३ जना थपिए पनि २ हजार ६ सय ९८ जनाको मात्रै कोरोना परीक्षणका लागि स्वाब संकलन भएको छ ।

क्वारेन्टाइन संख्या थपिँदै जाँदा यसको व्यवस्थापनमा पनि समस्या देखिन थालेको छ । सिरहाका प्रमुख जिल्ला अधिकारी सरोजप्रसाद गुरागाइँ अहिलेलाई क्वारेन्टाइन पर्याप्त भए पनि व्यवस्थापनमा समस्या आउन सक्ने बताउँछन् ।

‘मान्छे अझै आउन सक्छन्, त्यसको व्यवस्थापनमा समस्या आउन सक्छ’ गुरागाइँले भने, ‘उनीहरुलाई खाना, खाजा, सेनिटाइजरसहितका सामान उपलब्ध गराउन समस्या आउन सक्छ ।’

सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसी पनि भारतबाट आउने क्रम नरोकिएकाले उनीहरुको व्यवस्थापनमा कठिनाई हुन सक्ने बताउँछन् । ‘भविष्यमा यस्ता कठिनाई धेरै आउन सक्छ’ उनले भने, ‘हामी पहिला नै गम्भीर भएर यस बिषयमा छलफल गरिरहेका छौं ।’

जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोपाल रेग्मी भारतबाट धमाधम मान्छे आउन थालेपछि व्यवस्थापनमा समस्या देखिन सक्ने बताउँछन् ।

‘हामी आफ्नो तबरबाट सबै व्यवस्थापन गरेका छौं र गरिरहेकै छौं’ उनी भन्छन्, ‘जनशक्तिको अभावले केही समस्या आउन सक्छ ।”

रेग्मीका अनुसार उपमहानगरपालिकाभित्र स्वास्थ्यकर्मीको संख्या कम छ । ‘क्वारेन्टाइनमा बाहिरबाट आउनेको संख्या बढ्दै जाँदा स्वास्थ्यकर्मीका साथै सफाइकर्मी, खाना खुवाउने व्यक्ति पठाउनुपर्ने हुन्छ’ उनी भन्छन्, ‘जनशक्ति कसरी व्यवस्थापन गर्ने भन्ने चिन्ता छ ।’

प्रदेशका मुख्यमन्त्री लालबाबु राउत पनि भारतबाट आउने क्रम तत्काल नरोकिने देख्छन् । सोमबार वीरगञ्ज पुगेका उनले पर्सा, बारा र सप्तरीमा गरी १५ सय बेडको क्वारेन्टाइन बनाउन लागिएको बताए ।

नेपाली सेनाले सञ्चालन गर्ने गरि वीरगंजमा ५ सय शय्याको होल्डिङ क्वारेन्टाइन, बारा र सप्तरीमा ५/५ सय शय्याको प्रादेशिक क्वारेन्टाइन निर्माणको प्रक्रिया शुरु गरिसकिएको मुख्यमन्त्री राउतले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment