Comments Add Comment

गण्डकी गाउँपालिकाको नाकामा विशेष टोली

१३ जेठ, गोरखा । गोरखाको गण्डकी गाउँपालिका भित्रिने प्रत्येक नाकामा रहेको झोलुङ्गे पुलमा जनप्रतिनिधि, स्वास्थ्यकर्मी र शिक्षकको संयुक्त टोली खटाइएको छ ।

कोरानो संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सोमबारबाट टोली राखिएको छ । शनिबार बसेको गाउँ कार्यपालिकाको बैठकले यस्तो विशेष टोली खाटाउने निर्णय गरेको अध्यक्ष होमबहादुर रानाले बताए ।

वडानम्वर १ को बुटार, २ को गोर्दी तारपुल, ३ को भैसीगौडा र ४ को फुजेल स्थित झोलुङ्गे पुलमा टोली परिचालन गरिएको छ ।
वडानम्वर ५ को दर्वुङघाट तथा ६ को फिस्लिङ, हिक्लुङ र कौलीखोलामा रहेको पुलमा पनि टोली खटाइएको रानाले जानकारी दिए । ‘वडानम्बर ७ को इटार, ज्यामिरेघाट, धवादीघाट र अमटेमा गरी चार ठाउँमा टोली बसेका छन्,’ उनले भने, ‘वडानम्वर ८ को चरौदी, चाइनाघाट र सिउरेनीटारको बाँदरेमा छन् ।’

उक्त टोलीले पालिकाभित्र आउजाउ गर्ने व्यक्तिको तथ्याङ्क संकलन गर्ने उनको भनाइ छ । उनका अनुसार बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म खटिने उक्त टोलीले पालिका प्रवेश गर्ने नयाँ व्यक्तिको ज्वरो नाप्ने र सम्बन्धित वडासँग समन्वय गरेर क्वारेन्टाइनमा राख्न सहजीकरण गर्नेछन् ।

एउटा पुलमा तीन जनाको टोली खटिने जानकारी गराउँदै रानाले नाकामा खटिएका टोलीलाई खाजा खर्च वापत दिनको एक सय रुपैया उपलब्ध गराइने बताए । ‘यो लकडाउनको समयमा कतिपय मानिसहरु कोरोनाको रेडजोनबाट आएर थाहा नदिइ घरमा लुकेर बसेका छन्,’ उनले भने, ‘फेरि अहिले भारतलगायतका अन्य ठाउँबाट पनि गाउँका मानिसहरु आउन थालेकाले सतर्कता अपनाएका हौं,’ उनले भने ।

भारतलगायत अन्य देशमा रहेका गाउँपालिकाका मान्छेहरुको तथ्याङ्क संकलनको काम पनि भइरहेको उनले जानकारी गराए । बाहिरबाट पालिका भित्रिने जो कोहीलाई पनि निश्चित अवधिभर क्वारेन्टाइनमा राखिने उनले बताए । लकडाउनका कारण पठनपाठन ठप्प भएकाले शिक्षकलाई पनि खटाइएको उनको भनाइ छ ।

नाकामा आउजाउ गर्ने व्यक्तिलाई कोरोना सम्बन्धी सचेतसमेत गराउने गरेको टोलीमा खटिएका शिक्षक झवीन्ऽ रानाले बताए । ‘नयाँ मान्छे कोही आएमा सबै विवरण संकलन गर्छाै, अनि केहीबेर कोरोनाको बारेमा सचेत गराएर सम्बन्धित वडासँग समन्वय गरी क्वारेन्टाइनमा पठाउँछौ,’ उनले भने ।

धादिङको रोराङ, चितवनको इच्छाकामना र गोरखाको शहीद लखन गाउँपालिकासँग गण्डकी गाउँपालिकाको सिमाना जोडिएका छन् । सोही सिमानामा रहेका झोलुङ्ग पुलहरुमा टोली परिचालनन गरिएको उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment