Comments Add Comment

एडीबीद्वारा कोभिड-१९सँग जुध्न नेपाललाई ३० अर्बको ऋण स्वीकृत

१३ जेठ, काठमाडौं । एसियाली विकास बैंक (एडीबी)ले कोरोना भाइरससँग लड्न नेपाल सरकारलाई २५ करोड अमेरिकी डलर (करिब ३० अर्ब रुपैयाँ) ऋण सहायता उपलब्ध गराउने भएको छ । एसियाली विकास बैंकले मंगलबार उक्त ऋण सहायता स्वीकृत गरेको हो ।

सार्वजनिक स्वास्थ्य सेवाको सुदृढीकरण तथा कोभिड-१९का कारण आर्थिक तथा सामाजिक रुपमा परेको क्षति न्यूनीकरणमा यो रकम खर्च हुने एडीबीले जानकारी गराएको छ ।
एसियाली विकास बैंकका अध्यक्ष मसास्टुगु असकावाले प्रतिकुल अवस्थामा बैंक नेपालको साथमा रहेको उल्लेख गर्दै यो सहुलियतपूर्ण ऋण सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका गतिविधिमा लगाउन सक्ने उल्लेख गरे ।

साथै, गरिब र विपन्न वर्गका लागि सामाजिक संरक्षण कार्यक्रम बिस्तार गर्न र तीब्र आर्थिक पुनरुत्थानमा जान समेत यो ऋण सहायता महत्वपूर्ण सावित हुन सक्ने उनले उल्लेख गरेका छन् । कोभिड १९ को महामारीले सार्वजनिक स्वास्थ्यमा समस्या सिर्जना गरेको छ । यसले नेपालको सामाजिक र आर्थिक विकासमा गहिरो असर गरेको छ ।

एडीबीले नेपाल सरकार र अन्य विकास साझेदारसँग मिलेर काम गर्ने समेत उल्लेख गरेको छ । यसअघि एडीबीले कोभिडसँग जुध्न १३ अपि्रलमा २० अर्ब डलरको सहायता घोषणा गरेको थियो ।

‘कोभिड १९ एक्टिभ रेस्पोन्स एण्ड एक्स्पेन्डिचर सहायता (सीएआरइएस) कार्यक्रम अन्तर्गत नेपालले समेत २५ करोड डलर ऋण सहायता पाएको हो । यो कार्यक्रमबाट नेपाल सरकारले सात वटै प्रदेशमा कम्तिमा २ लाख क्वारेन्टाइन निर्माण गर्न र दैनिक ३ हजार मानिसको कोरोना परीक्षण गर्न सक्ने एडीबीले उल्लेख गरेको छ ।

गरिब तथा कमजोर आयस्रोत भएका परिवारलाई खाद्यान्न वितरण, कमजोर आय भएका बेरोजगार मानिसलाई रोजगारी प्रदान गर्न तथा सामाजिक सुरक्षाका कार्यक्रम संचालनमा समेत सरकारले यो सहायता प्रयोग गर्न सक्ने भएको छ ।

एडीबीले यसअघि यूनिसेफका माध्यमबाट समेत नेपाललाई ३ लाख अमेरिकी डलर बराबरको अनुदान सहयोग प्रदान गरिसकेको छ । सरकारले यो रकम स्वास्थ्य उपकरण खरीदमा खर्च गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment