Comments Add Comment

निरोगी नेपाल : चुनौती र समाधान

पेशाले चिकित्सक भएको नाताले र चिकित्सा शिक्षा अध्ययन, अनुसन्धान तथा अनुसन्धानको प्रस्तुती/शिलशिलामा विदेशमा हुँदा आर्जन गरेको स्वास्थ्य सम्बन्धी ज्ञानको अधारमा र २८ वर्षे चिकित्सकीय अनुभवको आधारमा नेपालमा भएको स्वास्थ्यको अवस्थाबारे केही लेख्ने जमर्को गर्दैछु । म कुनै राजनीतिमा संलग्न नभएको र लेखसँग कोही कसैसँग लेनादेना नभएको जानकारी पनि गराउँदछु ।

५/६ वर्ष अघिदेखि नै स्वास्थ्यसँग सम्बन्धित व्यक्ति विशेष र संस्थामा काम गर्ने व्यक्तिहरुसँग अनौपचारिक रुपमा नेपालमा विद्यमान स्वास्थ्य सम्बन्धी समस्या/चुनौती र समाधानको वारेमा चर्चा गर्दै गर्दा आज लेखमार्फत् यस विषयमा आफ्ना धारणा राख्दै छु । किनकि कोभिड १९ महामारीका बेला ‘निरोगी नेपाल अभियान’ समय सान्दर्भिक भएर बहसमा आएको छ ।

नेपालमा बिद्यमान स्वास्थ्य समस्या/चुनौती र समाधान तल भएको त्रिभुजको आधारमा उल्लेख गर्न लागि रहेको छु ।

यो त्रिभुजको चुचुरो वा शिरमा सरकार छ । आधारको एकापट्टि स्वास्थ्यकर्मी, शिक्षणरस्वास्थ्य तथा अन्य सम्बन्धितहरु र आधारको अर्कोपट्टि उत्पादन कम्पनी देख्नु हुन्छ । यी सबैको काम र कर्तव्य देश र नागरिकलाई निरोगी राख्ने हो । नागरिक निरोगी भए देश निरोगी रहन्छ अर्थात् नेपाली निरोगी भए नेपाल निरोगी हुन्छ । त्रिभुजमा रहेका यी तीन अंगहरु त्रिभुजको केन्द्रमा एकीकृत भएको खण्डमा मात्रै निरोगी नेपाल संभव छ ।

तर आजका मितिमा यी तीनै अंगहरुमा समस्याहरु छन् र यसले चुनौती सृजना गरिदिएको छ । सबै तीन अंग त्रिभुजको केन्द्रमा केन्द्रित हुनुपर्नेमा त्रिभुजभन्दा बाहिर दिशा परिवर्तित अवस्थामा छन् । केन्द्रमा केन्द्रित नभई बाहिरिएमा लक्ष्यमा पुग्न निकै कठिन हुन्छ । मानौ हामीलाई सातदोबाटोबाट कोटेश्वर जानुछ भने ग्वार्को हुँदै गए चाडै र अवश्य नै पुगिन्छ तर कलंकी हुँदै गए भन्न सकिन्न र पुगे पनि ढिलो पुगिन्छ ।

अब त्रिभुजमा रहेका यी तीन अंगहरुको छुट्टाछुट्टै विश्लेषण गरौं ।

सरकार

सरकार देशको अभिभावक हो, त्यसैले यो सबैभन्दा माथि अर्थात् चुचुरोमा छ । यसको काम नीति निर्माण गर्ने, भौतिक संरचना निर्माण गर्ने, देशलाई आवश्यक जनशक्ति उत्पादन गर्ने र अनुसन्धान अगाडि बढाउने हो तर यी प्रत्येकमा समस्याहरु छन् ।

नीति निर्माण बल्लबल्ल अलिअलि शुरु भए जस्तो देखिन्छ । नीति पथ प्रदर्शक हो र यसले हामीलाई गन्तव्यमा सजिलै पुग्न मद्दत गर्दछ । हामीलाई कति र कस्ता जनशक्ति (स्वास्थ्यकर्मी) चाहिन्छ, यिनीहरुको उत्पादन गर्न के कस्ता शैक्षिक निकायको स्थापना, पुनः निर्माण गर्न आवश्यक छ आदि कुराहरु कहीँ कतै लेखाजोखा गरे जस्तो लाग्दैन (अहिलेको परिवर्तित अवस्थामा यो अझ झन् सान्दर्भिक छ ।।) नत्र यत्रो देशमा औंलामा गन्न सक्ने स्वास्थ्यकर्मीहरुले सेवा दिइरहेको अवस्था हुने थिएन, दुर दराजमा सेवा नपाएर नागरिकले समान्य विरामी हुँदा समेत मृत्युवरण गर्नु पर्ने थिएन ।

भौतिक संरचनालाई हेर्ने हो भने हाम्रा क्षेत्रीय अस्पतालहरु विदेशका प्राथमिक स्वास्थ्य संस्था सरह छन् । न शय्या यथेस्ट मात्रामा छन् न त प्रविधि, उपकरण, औजार र जनशक्ति न्यूनतम आवश्यकता अनुसार छन् । अलि ठूलो समस्या भएमा काठमाडौं नै ल्याउनु पर्ने अवस्था छ । अझ तल्लो इकाइको कुरा गर्ने हो भने छन् भन्ने मात्र छन् । बारम्बार समाचारमा सिटामोल, आइरन चक्की आदि समेत उपलव्ध नभएको हामीले सुन्ने गरेका छौं ।

जनशक्ति/विशेषज्ञ उत्पादन पनि यथेष्ट मात्रमा भएको देखिँदैन । विशेषज्ञको त के कुरा न्यूनतम एम.वी.वी.एस. गरेका जनशक्ति पनि पर्याप्त मात्रामा र सबै ठाउँमा पुग्ने गरी व्यवस्था भैसकेको छैन ।

अनुसन्धानको लागि नेपाल स्वास्थ्य अनुसन्धान परिषद नियमन गर्ने थलोको रुपमा छ तर अनुसन्धान गर्न उपयुक्त स्थान/संस्था र अनुसन्धानको लागि आवश्यक पर्ने खर्चको व्यवस्थापन यथोचित मात्रामा नभइराखेको अवस्था छ । अनुसन्धान आजको आवश्यकता हो ।

स्वास्थ्यकर्मी, शिक्षण/स्वास्थ्य संस्था तथा अन्य सम्बन्धितहरु

यसभन्दा अघि उल्लेख गरेझै स्वास्थ्यकर्मी, शिक्षणरस्वास्थ्य संस्था यथेष्ट मात्रामा छैनन् । साथै यिनीहरुमा पनि आफ्नै समस्या छन् । उचित मात्रामा सेवा सुविधा (बजेट/पारिश्रमिक) नहुनाले र व्यावसायिक तथा व्यक्तिगत सुरक्षा (हुलले गर्ने निर्णय) चुस्त नहुनाले चाहेर पनि सेवाको भाव मात्रै राखेर काम गर्ने वातावरण बनिनसकेको जस्तो लाग्दछ ।

यदाकदा सुनिने केही घटनाबाहेक स्वास्थ्यकर्मीहरु इमान्दार नै छन् तर योभन्दा बढी जिम्मेवार बनाउनको लागि यी समस्याबारे पनि लेखाजोखा हुनु जरुरी देखिन्छ । नत्र सरकारीमा काम गरेर निजीमा अतिरिक्त काम गर्ने वा आफैं निजी संस्था खोल्ने समस्याले विरामीलाई सेवाको आर्थिक भार कहिल्यै नघट्ने चुनौती बनेर रहिरहने छ । निजी अस्पताल थपिँदै जानेछन् र स्वास्थ्य सेवा लिनको लागि बढी शुल्क तिरिरहनु पर्नेछ । जुन सबैको पहुँचमा छैन ।

अधिकांश स्वास्थ्यकर्मीले चिकित्सा शिक्षा अध्ययन गर्दा खर्च आफैंले व्यहोरी राखेका छन् । यसले पनि चुनौति पैदा गरिदिएको छ ।

स्वास्थ्यकर्मीहरुले उपचार सम्बन्धमा राम्ररी काउन्सेलिङ्ग नगरेको समाचार यदाकदा सुन्न पाइन्छ । काउन्सेलिङ्ग गर्नु चिकित्सकको दायित्व हो र आफ्नो उपचारको वारेमा जान्ने अधिकार पनि विरामीको हो ।

काउन्सेलिङ्ग गर्दा विरामीले बुझ्ने भाषामा (वाक्यमा) गरिदिनु पर्दछ र विरामीले पनि मर्यादामा बसी जानकारी लिनु आवश्यक छ ।

नेपालमा के कति स्वास्थ्यसम्बन्धी विशेषज्ञ छन्, कसरी कहाँ काम गरिराखेका छन्, आफ्नो विशेषज्ञता अनुसार काम गर्न कठिनाइ भए नभएको यकिन गरी सहजीकरण गर्नु पनि आजको आवश्यकता हो । विशेषज्ञ छन् तर औजार, उपकरण प्रविधि छैन भने प्रतिभा मरेर जान्छ र देशले लाभ लिन सक्दैन । साथै चिकित्सा क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा लैजान पनि मुस्किल पर्दछ ।

चिकित्सा शिक्षण संस्थामा हुने पढाइको एकरुपता, गुणस्तर र शुल्क व्यवस्थापन पनि आजको चुनौतिको विषय हो । स्वास्थ्यकर्मीको बृत्ति विकासका योजनाहरु तयार पार्नु अर्को चुनौतिको विषय हो ।

उत्पादक कम्पनी

नेपाल अझै औषधि उत्पादनमा आत्मनिर्भर भैसकेको अवस्था छैन । उत्पादन गर्ने कम्पनी पनि कम छन् र सबैले सबै प्रकारका औषधि उत्पादन गरिरहेका छन् । एक क्षेत्रमा विशिष्टीकरण गरेर उत्पादन भैरहेको छैन । नशाबाट दिइने औषधिहरु, हार्मोन औषधिहरु (जस्तै थाइराइडको लागि), केमो थेरापीका औषधि आदि अन्य विशिष्टीकृत औषधि उत्पादन गर्ने कम्पनीहरु त टाढाको कुरो हो । यसको साथै चिकित्सासँग जोडिएका अन्य औजार, उपकरण उत्पादन गर्ने कम्पनीको शुरुआत हुनु अति आवश्यक छ ।

औषधि उत्पादन गरिरहेका संस्थाहरुले पनि अति आवश्यकीय औषधि उत्पादन नगरी मूल्य बढी प्राप्त गर्न सकिने औषधिको उत्पादन मात्रै गरिरहेको अवस्था छ । आधारभूत औषधि जस्तो सिटामोल, आइरन चक्की, जीबनजल, भिटामिन, जुकाको औषधि र केही आधारभूत एन्टिबायोटिक उत्पादन गरेपछि मात्रै आफ्नो इच्छामा अरु औषधिहरु उत्पादन गर्न पाउने अवस्था निर्माण भएमा राष्ट्रलाई केही टेवा पुग्ने देखिन्छ ।

अर्कोतिर औषधि, औजार, उपकरण र स्वास्थ्यसँग सम्वन्धित अरु उत्पादनको गुणस्तर के कस्तो हो भनेर नियमित जाँच गर्ने संस्थाले तदारुकताका साथ काम गर्नु पर्दछ ।

उत्पादन कम्पनीहरुले आफैंले अनुसन्धान गरेर नयाँ उत्पादन गर्नु पर्ने आवश्यकता पनि छ । यसले हाम्रो इज्जत विश्व सामु उजागर गर्न मद्दत मिल्नेछ ।

अन्तमा

१. संविधानतः स्वास्थ्योपचार गर्न पाउनु प्रत्येक नेपालीको हक हो । तसर्थ राज्यले सबै व्यक्ति, स्थान तथा तप्काहरुमा स्वास्थ्य सेवा पुग्ने गरी नीति निर्माण, भौतिक संरचना निर्माण, आवश्यक जनशक्ति तयार गरी अनुसन्धानमा जोड दिनु पर्दछ ।

२. स्वास्थ्य जनशक्तिको नियमन तथ्यांक राखेर उचित पारिश्रमिकको व्यवस्था, सुरक्षाको प्रत्याभूति हुने गरी गर्नु पर्दछ ।

३. आवश्यकता अनुरुप प्रत्येक क्षेत्रमा स्वास्थ्य शिक्षण संस्थाहरु सन्चालन गर्नुपर्दछ ।

४. स्वास्थ्यकर्मीको वृत्ति विकासको लागि आवश्यक योजना तयार गर्नु पर्दछ ।

५. अनुसन्धानको लागि आवश्यक संस्था र रकमको व्यवस्था गर्नु पर्दछ ।

६. औषधि उत्पादनमा आत्मनिर्भर हुने नीति अवलम्वन गरी आवश्यक व्यवस्था मिलाउनु पर्दछ ।

७. स्वास्थ्य औजार, उपकरण र यससँग सम्बन्धित अन्य उद्योगहरु सन्चालनमा ल्याउनु पर्दछ ।

८. सरकार, स्वास्थ्यकर्मी, शिक्षणरस्वास्थ्य संस्था, उत्पादक कम्पनीहरु तथा अन्य सरोकारवालाहरु हातेमालो गरी अगाडि बढ्नु पर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment