१४ जेठ, काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसका सांसद मीनेन्द्र रिजालले सर्वदलीय बैठकहरुका निष्कर्ष वा निर्णय संसदलाई जानकारी गराउने परम्पराको सुरुवात गर्न सरकारलाई आग्रह गरेका छन् ।
बुधबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै रिजालले, प्रधानमन्त्रीले मंगलबार बोलाएको बैठकबाट संविधान संशोधन प्रस्ताव सबै दलको सहमतिमा छिटो पारित गर्ने निर्णय भएको सुनिएको भन्दै खुसी व्यक्त गरे । ‘अहिलेसम्म यस्ता बैठकका निष्कर्ष सहभागी नेताले आआफ्ना दललाई जानकारी दिने चलन छ’ नेता रिजाल भन्छन्, ‘त्यस्ता बैठक अझ विशेषत संसदीय गतिविधिसँग सम्बन्धित बैठकका निष्कर्ष सरकारको तर्फबाट प्रधानमन्त्री वा संसदीय मन्त्रीबाट संसदलाई जानकारी दिने परम्परा सुरु गरौं ।’
नेपाल राजनीतिक संक्रमणको चरणमा नरहेको र संविधानसम्मत राजनीतिक अभ्यास र परम्परा स्थापित गर्दै गरेको अवस्थामा सर्वदलीय छलफल र निष्कर्षको प्रत्यक्ष प्रसारणले अहिले र चिरकालसम्म नागरिकको जानकारीमा रहने उल्लेख गर्दै उनले नयाँ अभ्यास सुरु गर्न माग गरेका हुन् । ‘संविधानको मर्म र भाव यहि हो । संसदीय सार्वभौमिकता पनि यहि हो । सभामुख महोदय र प्रधानमन्त्रीजीलाई नम्रतापूर्वक तर, गम्भीर रुपमा यो प्रारम्भ गर्न अनुरोध गर्न चाहन्छु’ सांसद रिजालले भने ।
रिजालको भनाइ जस्ताको तस्तै
प्रधानमन्त्रीले बोलाउनुभएको बैठकबाट संविधान संशोधन प्रस्ताव सबै दलको सहमतिमा छिटो प्रक्रियाबाट पारित गर्ने निर्णय भयो भन्ने सुन्यौं । खुसी लाग्यो । यो हाम्रो कर्तव्य पनि हो ।
अहिलेसम्म यस्ता बैठकका निष्कर्ष सहभागि नेताले आ आफ्ना दललाई जानकारी दिने चलन छ । अब हामी राजनीतिक संक्रमणको चरणमा छैनौं । संविधानसम्मत राजनीतिक अभ्यास र परम्परा स्थापित गर्दैछौं । त्यस्ता बैठक अझ विशेषत संसदीय गतिविधिसँग सम्बन्धित बैठकका निष्कर्ष सरकारको तर्फबाट प्रधानमन्त्री वा संसदिीय मन्त्रीबाट संसुदलाई जानकारी दिने परम्परा सुरु गरौं ।
त्यसपछिको छलफल र निष्कर्षको प्रत्यक्ष प्रसारणले संसदीय अभिलेखबाट आज र चिरकालसम्म आम नागरिकको जानकारीमा यस्तो रहनेछ । संसदीय उत्तरदायित्व सुनिश्चित हुनेछ । संविधानको मर्म र भाव यहि हो । संसदीय सार्वभौमिकता पनि यहि हो । सभामुख महोदय र प्रधानमन्त्रीजीलाई नम्रतापूर्वक तर, गम्भीर रुपमा यो प्रारम्भ गर्न अनुरोध गर्न चाहन्छु ।
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4