Comments Add Comment

अझै दुई महिना नेपालमा कोरोना संक्रमित बढ्छन् : सीसीएमसी

फाइल तस्वीर

१४ जेठ, काठमाडौं । कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले बनाएको क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएम) ले आगामी जुन र जुलाई महिनामा कोरोना संक्रमितको संख्या थप बढेर जाने प्रक्षेपण गरेको छ ।

नेपाली सेनाका स्वास्थ्यकर्मीसहित इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अधिकारीहरु सम्मिलित टोलीले कोरोना भाइरसको अन्तर्राष्ट्रिय ट्रेण्डलाई हेरेर यो आँकलन गरेको हो ।

‘कोरोना रोकथामसम्बन्धी प्रतिकार्यका लागि गरिएको गणितीय विश्लेषणले यो देखाएको हो’, नेपाली सेनाका मेजर डा. नविन फुयाँलले भने, ‘यसले हामीलाई थप पूर्वतयारी गर्नुपर्छ भन्ने सन्देश दिएको छ ।’

नेपाली सेनाले बुधबार आयोजना गरेको भिडियो कन्फरेन्समा बोल्दै सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले पनि भारत, चीन, स्पेन, इटलीलगायतका मुलुकको अभ्यासबाट पनि यसको प्रक्षेपण गरिएको बताए । उनले भने, ‘यो शतप्रतिशत मिल्छ नै भन्ने त होइन तर, पूर्वतयारीका संकेत हो ।’

चीनको बुहानबाट नेपाली उद्दार कार्यमा समेत खटिएका डा. फुयालले अहिलेसम्म नेपाल कोरोना संक्रमणको भयावह स्थितिसमेत पुगिनसकेको बताए ।

प्रधानमन्त्रीलाई बुझायो विदेशबाट नेपालीको उद्दार गर्ने खाका

कोरोना भाइरसको महामारीका वेला विभिन्न मुलुकमा अलपत्र नेपालीको उद्दारका लागि सीसीएमसी–अप्सले बनाएको कार्ययोजना प्रधानमन्त्री केपी शर्मा ओलीलाई पेश गरेको छ ।

कार्य योजनाबारे बुधबार बसेको मन्त्रिपरिषद बैठकमा पनि छलफल भएको स्रोतले बतायो । सीसीएमसीका एक अधिकृतका अनुसार कार्ययोजनामा हवाई तथा स्थलमार्गबाट आउन सक्ने नेपालीको संख्यासहित उनीहरुको व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा उल्लेख गरिएको छ ।

नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले केही अघि पृतनापतिहरुलाई आ–आफ्नो प्रदेशमा भित्रिन सक्ने नागरिकबारे विवरण पेश गर्न निर्देशन दिएका थिए । सोही अनुसार भएको रिपोर्टिङ र अन्य सुरक्षा निकाय समेतको रिपोर्टको आधारमा कार्ययोजना बनेको स्रोतको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment