Comments Add Comment

दाङका १५ जना काेराेना संक्रमित भारतबाट आएका थिए

१४ जेठ, दाङ । दाङमा बुधबार एकैदिन १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देउखुरीको लमहीमा ८ र सदरमुकाम घोराहीमा ७ जनामा संक्रमण पुष्टि भएको हो ।

लमहीका ८ जनामध्ये एकजना युवती दार्जिलिङबाट बस चढेर आएकी हुन् । अन्य व्यक्तिहरु भारतकाे हैदरावाद, उत्तरप्रदेश, राजस्थान, पञ्जाब र दिल्लीबाट आएका हुन् । उनीहरुलाई यही जेठ ९ गते कपिलवस्तुको कृष्णनगर नाका हुँदै एम्बुलेन्समार्फत लमही ल्याइएको थियो ।

दार्जिलिङमा ल्याब टेक्निसियन पढ्न गएकी अर्की युवती भने जेठ १० गते सार्वजनिक बस चढेर आएकी थिइन् । उनी उतैबाट संक्रमित भएर आएको अनुमान छ । उनीहरु सबैलाई लमहीस्थित नेत्रलाल अभागी स्मृति प्रतिष्ठान भवनमा बनाइएको क्वारेन्टाइनमा राखिएको थियो । लमही क्वारेन्टाइनका प्रमुख लाेकराज पाैडेलले उनीहरुलाई समुदायमा घुलमिल हुन नदिइएको बताए ।

यद्यपि उनीहरुकाे ट्राभल हिस्ट्री खाेज्न थालिएको पाैडेलले बताए । लमही नगरपालिकाले सहिद नेत्रलाल स्मृति प्रतिष्ठानमा बनाएकाे क्वारेन्टाइनमा ५१ जना छन्। यहाँ बसेकामध्य ८ जनामा काेराेना पुष्टि भएको हाे ।

घाेराहीका काेराेना संक्रमित पनि दिल्लीबाट कृष्णनगर हुँदै सीधै क्वारेन्टाइनमा राखिएकाहरु हुन् । ३ जना सिद्ध रत्ननाथ मावि नारायणपुरकाे क्वारेन्टाइनका, थप ३ जना गिठेपानी क्वारेन्टाइनका र १ जना बेलघारी क्वारेन्टाइनका हुन् । उनीहरु पनि समुदायमा सम्पर्कमा नरहेको स्थानीय जनप्रतिनिधिहरु बताउँछन् ।

यसअघि दाङका तीन जनामा काेराेना संक्रमण देखिएको थियाे । अब दाङ जिल्लामा कोरोना संक्रमितकाे संख्या १८ पुगेकाे छ ।

संक्रमित व्यक्तिहरुलाई आइसाेलेसन वार्डमा राख्न काेराेना विशेष अस्पताल  बेलझुण्डी लैजाने तयारी भइरहेको छ । घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि कोरोना संक्रमितको उपचार गर्न मिल्ने पूर्वाधार तयार पारिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment