Comments Add Comment

संघीयताका कारण कोरोनासँग जुध्न सहज भयो : मुख्यमन्त्री राई

१४ जेठ, विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले संघीय संरचनाका कारण कोरोना महामारीसँग जुध्न सहज भएको बताएका छन् ।

बुधबार सुरु प्रदेश १ को प्रदेशसभा अधिवेशनमा बोल्दै मुख्यमन्त्री राईले तीन तहका सरकार भएका कारण कोरोना रोकथाम तथा उपचारमा सहज भएको बताएका हुन् ।

संघीयताकै कारण कोरोना संक्रमण रोकथाममा प्रदेश सरकार र स्थानीय सरकारले प्रभावकारी काम गरेको मुख्यमन्त्री राईले बताए ।

उनले कोरोना रोकथाममा प्रदेश १ अगाडि रहेको बताउँदै सबै स्थानीय तहहरुले राम्रो काम गरेको बताए ।

नेपालमा पहिलो पटक १० दिनमै कोरोना संक्रमितको उपचारका लागि प्रदेश १ ले सुविधा सम्पन्न अस्पताल तयार गरेको दाबी गर्दै मुख्यमन्त्री राईले प्रदेश सरकारलाई गाली गर्नेहरु पछिल्लो समय प्रशंसा गर्न थालेको बताए ।

प्रदेशको कोराना कोषमा २९ करोड ३५ लाख ८१ हजार रुपैयाँ जम्मा भएको उनले जानकारी दिए ।

२५ हजार भित्रिन सक्छन्

मुख्यमन्त्री राईले प्रदेश १ मा भारतबाट मात्र २५ हजार भन्दा बढी नेपाली नागरिक भित्रिने अनुमान गरिएको बताए । भारतबाट आएकाहरुलाई राख्नका लागि होल्डिङ एरिया र क्वारेन्टाइन तयारीको काम भइरहेको बताउँदै उनले विदेशबाट आउने सबैको कोरोना जाँच हुने बताए ।

भारतबाट आएकाहरुलाई राख्न झापा मोरङ र सुनसरीमा होल्डिङ एरिया तयार भएको उनले बताए । प्रदेशमा १५ वटा होल्डिङ एरिया हुनेछन् । जहाँ एकै पटक १७ सय मानिसलाई राख्न सकिने उनको भनाइ छ ।

विराटनगरको रानी, रंगेली सुनरीको भन्टाबारी, पशुपतिनगर, भद्रपुर, गौरीगञ्ज र काकडभिट्टा नाकाबाट नेपालीलाई ल्याएर होल्डिङ एरियामा राख्ने उनले बताए ।

झापा, मोरङ, सुनसरी र इलामलाई उच्च जोखिमको क्षेत्र घोषणा गरेको र ती जिल्लामा परीक्षणलाई पनि तीब्र पारिएको मुख्यमन्त्री राईको दावी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment