Comments Add Comment
ब्लग :

सन्दर्भ रुकुम घटना : छुवाछुत कहिलेसम्म ?

चौरजहारी घटनाको विरोधमा बुटवलमा बुधबार गरिएको प्रदर्शन ।

एउटा प्रश्नले मन सधै‌ं अमिलो भइरहन्छ । आङ सिरिङ्ग हुन्छ । छुवाछुत कहिलेसम्म ? समय फेरियो, मान्छेहरु पनि नयाँ र आधुनिक भए, कानुन पनि आयो तर छुवाछुत हटेन । छुवाछुतमुक्त गर्ने भाषण मञ्चमा गर्छ मान्छे, फेरि आमा र बाबालाई देखाएर घरमा छुवाछुत गर्छ त्यही मान्छे । अन्तरघुलनका परिभाषा र महत्वको बारेमा निबन्ध लेख्छ मान्छे, आफ्नो छोरी तथाकथित तल्लो जातको मान्छेले भगाइदियो भनेर प्रहरी प्रशासनमा पुग्छ त्यही मान्छे ।

बिभेदमुक्त समाजको अभियन्ता बन्न रहर गर्छ मान्छे, सँगै बसेर चिया पिउने पर्ने अवस्था आयो भने बहाना बनाउछ त्यही मान्छे । आम मान्छेको कुरा गर्नुको खासै अर्थ छैन । यो लीला ? देखेर मनमा बिद्रोहको राँको सल्कन्छ । आखिर छुवाछुत कहिलेसम्म ?

के छुवाछुत कानुनले हटाउँछ त ? अहँ मलाई कत्ति पनि बिश्वास छैन छुवाछुत कानुनले हटाउँछ भनेर । कानुनले त छुवाछुतको अपराध गर्नेलाई कानुनअनुसार दण्ड सजाय गराउदछ । मान्छे मारे आजिवन जेल सजायको व्यवस्था भएको कत्ति भयो । तर, अझै मान्छे मार्न छाडेका छैनन् । कुनै कुनै देशमा त मान्छे मारे फासी हुन्छ, तर मान्छे फाँसी रोजेर पनि मान्छे मार्छ ।

त्यसैले गैरदलित समुदायका सचेत मानिसहरुले साँचो अर्थमा छुवाछुत विरोधी अभियान चलाउन सक्नुपर्दछ । दलित, गैरदलितहरुको फराकिलो बृहत् मोर्चा बनाएर जान जरुरी छ । बृहत् मोर्चाले मात्र पूर्ण रुपमा जातीय छुवाछुतमुक्त परिवेश र समाज निर्माण गर्न सक्छ । तर,गाँउगाँउमा यस्ता अभियानको नेतृत्व गरिदिने कसले ? छुवाछुत हट्ने कहिलेसम्म ?

हो, त्यो भनेको अपराधिक मानसिकताले हुने हो । अपराधिक मानसिकता हुने मान्छेलाई कानुनले दण्डित गर्छ नै । तर, यहाँ त आम रूपमा छुवाछुतलाई अपराध मानिँदैन । आजको मितिमा पनि छुवाछुतलाई प्रथा र परम्पराको रूपमा मानिएको अवस्था छ । समाज विकासको क्रमिकतामा छुवाछुत ‘प्रथा’ हट्दै जान्छ आत्तिनु पर्दैन भन्ने भनाइ विद्धान मित्रहरुबाट नै आउदा यो मन चसक्क बिझाउछ । आखिर समाज परिवर्तन हुने कहिलेसम्म ?

बितेको एक महिनाभित्र दर्जन बढी जातीय छुवाछुत र बिभेदका घटना सञ्चार माध्यममा छाएका छन् । घटेका घटनाहरुमध्ये प्रतिनिधिमूलक तीन घटना यस्ता छन् ।

भीम विश्वकर्मा क्षितिज

१. पोखरा १६ का मोहन सुनारको भाइको मृत्यु बिदेशमा भयो । मोहन सुनारले लकडाउनका कारणले गर्दा नजिकै भएको सार्वजनिक क्रियापुत्री भवन प्रयोग गर्न मागे । तर, जातीय कारणले प्रयोग गर्न दिइएन । उल्टै गाली गलौजमा उत्रिए जनक थापा र देव बहादुर थापा । हामी समान हुन खोज्ने भनी मार्ने धम्की दिएपछि घटनाले कानुनी बाटो समात्यो । सम्मानित कास्की जिल्ला अदालतले घटनामा संग्लग्न जनक थापा, देव बहादुर थापा र रामु जीसीलाई जनही एक लाख सत्तरी हजार धरौटी लिएको छ ।

२. पाल्पामा श्यामबहादुर परियार पानी परेकाले नजिकै घरमा ओत बस्छन् । गाँउलेहरुले घर अशुद्ध भयो भनेर घर चोख्याउन भन्दै श्यामबहादुर परियारलाई आठ हजार जरिवाना गर्छन् । तर, श्यामसँग पैसा नभएपछि पन्ध्र सय मात्र जरिवाना गर्छन् । अहिले यो जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता भएको छ ।

३. जाजरकोटका नबराज बिश्वकर्माले पश्चिम रुकुममा प्रेम विवाह गर्र्न खोज्छन् । उनकी प्रेमिका मल्ल भएको कारण उनी, टिकाराम सुनार र गणेश बुढाको हत्या हुन्छ । बाँकी ३ जना बेपत्ता छन् । गाँउले सबै मिली सामुहिक हत्या गरेको यो प्रकरण बिभत्स छ । जातीय छुवाछुत र भेदभावजन्य अपराधिक मानसिकता हत्यारा जल्लादको रुपमा प्रकट भएकोे छ ।

यी प्रतिनिधि घटनाले हाम्रो समाजलाई लज्जित बनाएको छ । अझैपनि हामीकहाँ कोही अछुत र कोही गैर अछुत भन्ने यस्तो डरलाग्दो खतरनाक मानसिकता छ । यो मानसिकताले नेपालको आजको आधुनिकीकरण हुदै गएको समाजको दानवीय स्वरुप बेला बेलामा प्रकट भइरहेको छ । यो मानसिकता परिवर्तन हुन्छ कहिलेसम्म ?

भारतमा १९६० दशकमा दलित प्यान्थर्स भन्ने एक लडाकु दस्ता थियो । जहाँ छुवाछुतजन्य घटना घट्थ्यो, दलित प्यान्थर्स पुग्थ्यो । ठाँउका ठाँउ कारबाही गर्‍थ्यो । आजको नेपाली परिबेशले नेपाली दलित समुदायलाई त्यो ठाँउमा पुर्‍याएमा कसले जिम्मेवारी लिन्छ ? विषय दिनानुदिन जटिल बन्दैछ । लगातार घटिरहेका यस्ता घटनाहरुको न्यूनीकरण र निर्मुलीकरणको लागि ठोस कदम चाल्नुपर्दैन ?

नेपाली समाजमा रहेको छुवाछुतजन्य विभेदलाई अन्त्य गर्न गैर दलितहरुको भूमिका महत्वपूर्ण हुन्छ । छुवाछुत गर्ने समुदायले नै छुवाछुत नगरेमा त छुवाछुतजन्य अपराध त समाजले ब्योहर्न पर्दैन नि त ।

त्यसैले गैह्र दलित समुदायका सचेत मानिसहरुले साँचो अर्थमा छुवाछुत बिरोधी अभियान चलाउन सक्नुपर्दछ । दलित गैह्र दलितहरुको फराकिलो बृहद मोर्चा बनाएर जान जरुरी छ । बृहद मोर्चाले मात्र पूर्णरुपमा जातीय छुवाछुतमुक्त परिवेश र समाज निर्माण गर्न सक्छ । तर,गाँउगाँउमा यस्ता अभियानको नेतृत्व गरिदिने कसले ? छुवाछुत हट्ने कहिलेसम्म ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment