Comments Add Comment

सोसल मिडिया बन्द गरिदिने अमेरिकी राष्ट्रपति ट्रम्पको धम्की

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोसल मिडिया प्लाटफर्महरू बन्द गरिदिने धम्की दिएका छन् ।

माइक्रो ब्लगिड साइट ट्विटरले आफ्ना ट्विटहरूमा पहिलोपटक तथ्य परीक्षण गर्ने लिंकहरू हालिदिएसँगै राष्ट्रपति ट्रम्पको यस्तो चेतावनी बाहिर आएको हो ।

यद्यपि, सोसल मिडिया प्लाटफर्म र अमेरिकी राष्ट्रपति ट्रम्पबीच लामो समयदेखि आलोचना प्रतिआलोचनाको संघर्ष जारी रहँदै आएको छ । ट्विटरको पछिल्लो कदमबाट राष्ट्रपति ट्रम्प धेरै नै भड्किएको अनुमान गरिएको छ ।

आगामी नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपतीय निर्वाचन अघि भएको ट्विटर र ट्रम्पबीचको यस लडाइँलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

दुईदिन अघि मात्रै राष्ट्रपति ट्रम्पले अमेरिकी राष्ट्रपति निर्वाचनका क्रममा हुलाकमार्फत् गरिने मतदानमा फर्जी मतपत्रहरूको जोखिम रहेको सम्बन्धी गरेका ट्वीटमा ट्विटरले फ्याक्ट चेकिंग लिंक हालिदिएको थियो ।

उक्त लिंकमार्फत् प्रयोगकर्ता यस विषयका आधिकारिक तथा तथ्यपूर्ण समाचारको पेजमा पुग्दछन् । ती पेजमा रहेका तथ्यहरूले राष्ट्रपति ट्रम्पको भनाइलाई झुटो सावित गर्दछ ।

ट्विटरले दिएको लिंकमार्फत् पुगिने पेजहरू सिएनएन र वासिंटन पोष्टका समाचार हुन् । स्मरण रहोस् राष्ट्रपति ट्रम्पले ती दुई अमेरिकी सञ्चार माध्यमलाई आफ्नो घोर विरोधी ठान्दै आएका छन् ।

ट्विटरको उक्त कदम लगत्तै ट्रम्पले तत्कालै एक ट्वीट गर्दै भने, ट्विटरले पूर्णरुपमा वाक् स्वतन्त्रताको गला निमोठेको छ र राष्ट्रपतिको हैसियतले मैले यस्तो हुन दिनेछैन ।

बुधबार बिहान ट्रम्पले परिस्थितिलाई झनै गरम बनाउने गरी दुई खण्डको एउटा ट्विट गरे ।

ट्विटमा उनले भनेका छन्, सोसल मिडिया प्लाटफर्महरूले कन्जरभेटिभहरूको आवाजलाई पूर्ण रूपमा बन्द गराइदिएको अनुभव रिपब्लिकनहरूले गरेका छन् । तर यस्तो हुनु अगावै हामीले यस्ता प्लाटफर्महरूलाई बलियोसँग नियमन गर्नेछौँ वा बन्द गरिदिने छौँ । हामीले देखिहाल्यौँ उनीहरूले सन् २०१६ मा के गर्ने प्रयास गरे र असफल भए । हामीले त्यसको अत्याधुनिक संस्करणको पुनरावृत्ति हुन दिनेछैनौँ । यदि त्यस्तो भयो भने धोका, जालसाजी तथा मतपेटिकाको चोरी सबैका लागि खुल्ला हुनेछ । जसले चिटिंग गर्न सक्दछ, उसले जित्नेछ, सोसल मिडियाहरू जस्तै । त्यसैले तिमीहरूले कार्य अहिल्यैदेखि नै शुद्ध बनाउ ।

ट्विटरले भने निर्वाचनहरूमा असर नगर्ने आफ्नो नयाँ नीति अनुसार नै ट्रम्पका मेल इन ब्यालोट्ससम्बन्धी ट्विटमा तथ्य जाँचको जनाउ दिएको जनाएको छ । साथै ट्विटरले चुनावहरूलाई असर गर्ने वा जनसहभागितालाई दबाउने खालका ट्विटहरू नगर्नसमेत प्रयोगकर्ताहरूलाई चेतावनी दिएको छ ।

स्मरणरहोस् गत हप्ता ट्रम्पले एक ट्विट गर्दै फेसबुक, इन्स्टाग्राम, ट्विटर तथा गुगलहरू अतिवादी वामपन्थीहरूको पूर्ण नियन्त्रणमा रहेको आरोप लगाएका थिए । साथै त्यस्तो अवस्थाको अन्त्य गर्ने आफ्नो आशय पनि उनले प्रकट गरेका थिए । बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment