+
+

ऋणपत्रको दोस्रो बजारमा कारोबार हुने

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ १५ गते १७:४१

१५ जेठ, काठमाडौं । ऋणपत्रको दोस्रो बजारमा कारोबार हुने भएको छ । सरकारले आगामी आर्थिक वर्षको बजेटमा ऋणपत्रलाई सेयर बजारको दोस्रो बजारमा कारोबार गराउने घोषणा गरेको हो ।

अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्ष ०७७/७८ का लागि बजेट प्रस्तुत गर्दै ऋणपत्रको दोस्रो बजारमा कारोबार खुला हुने बताए । चालु आर्थिक वर्ष ०७६/७७ को तेस्रो त्रैमाससम्ममा ५२ अर्ब ६० करोड रुपैयाँको ऋणपत्र जारी भएको छ।

राष्ट्र बैङ्कले मौद्रिक नीतिमा नै वाणिज्य बैङ्कहरूले ०७७ असार मसान्तभित्र आफ्नो चुक्ता पुँजीको न्यूनतम २५ प्रतिशत बराबर ऋणपत्र जारी गर्नुपर्ने व्यवस्था गरेको थियो।

कुल ऋण पुँजीलाई सर्वसाधारण सबैले खरिद गर्न सक्ने गरी स-साना इकाईहरूमा विभाजित गरिसकेपछिको एक अंश वा इकाई नै ऋणपत्र हो । कम्पनीले सार्वजनिक रूपमा सूचना प्रकाशन गरी कम्पनीको अचल जायजेथा धितो वा बन्धक राखी वा नराखी ऋण पुँजी उठाउन सक्छ ।

यो एक प्रकारले भन्ने हो भने बैङ्कले व्यक्ति वा संस्थासँग ऋण लिएजस्तै हो । बैङ्कले निश्चित अवधिका लागि ऋणपत्र जारी गर्ने गर्छन् । त्यसमा कति रकमको ऋणपत्र किन्ने भनेर सर्वसाधारणले आवेदन दिनुपर्ने हुन्छ ।

ऋणपत्रको पनि बैङ्कहरूले निक्षेपको जस्तै ब्याज भुक्तानी गर्छन् । तर, यो लामो अवधिका लागि मात्रै हुन्छ । यसमा ऋणको अवधि, ब्याजदर, ब्याज गणना र भुक्तानीको तरिका र समय उल्लेख गरिएको हुन्छ । जसको कार्यान्वयन कानुनतः बाध्यकारी हुन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?