Comments Add Comment

हुलाकी सडकलाई ७ अर्ब १ करोड विनियोजन

१५ जेठ, काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमा हुलाकी राजमार्गका लागि साढे ७ अर्ब १ करोड रुपैयाँ विनियोजन गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा प्रस्तुत गरेको बजेटमा यो वर्ष हुलाकी राजमार्गका लागि ७ अर्ब १ करोड बजेट छुट्याइएको जानकारी दिएका हुन् । यो आयोजना ३ वर्षभित्र बनाइसक्ने बजेटमा उल्लेख छ ।

२९ वर्ष अघिबाट बनाउन सुरु गरिएको हुलाकी सडकले अझै गति लिन सकेको छैन । तत्कालीन भारतीय प्रधानमन्त्री चन्द्रशेखरले २०४७ सालमा नेपाल भ्रमणका क्रममा यो राजमार्ग निर्माण गर्ने घोषणा गरेका थिए । त्यसको १४ वर्षपछि ०६१ सालमा दुई देशबीच निर्माणको लागि औपचारिक सम्झौता भयो ।

तर, ‘भारतले बनाइदिन्छ’ भनेर बस्दाबस्दै वर्षाैं बितेपछि सरकार आफैंले काम थालेको यो हुलाकी राजमार्गमा अझै पनि खासै प्रगति छैन ।

हुलाकी राजमार्गले तराईका १७ जिल्लालाई छुन्छ । पहाडबाट तराईसम्म खनिएका फेडर रोडलाई पूर्व–पश्चिम महेन्द्र राजमार्ग हुँदै हुलाकी राजमार्गमा जोड्ने गरी काम भइरहेको छ

यो १७ सय ९२.२५ किलोमिटर लामो राजमार्ग हो । यसको पूर्व–पश्चिम खण्ड ९७५ किलोमिटरको छ भने महेन्द्र राजमार्गसँग जोड्ने सहायक खण्ड र सडकहरु ८१७ किलोमिटरका छन् । यो राजमार्गको प्रथम चरण अन्तरगतका १७ सडकमध्ये १० वटा खण्डमा भारत सरकारले काम गरिरहेको छ, जसको लम्बाइ २१८ किलोमिटर छ । १७ मध्ये ७ खण्डमा नेपाल सरकारले काम गरिरहेको छ जसको लम्बाइ २१८ किलोमिटर छ ।

दोस्रो चरणमा ४ सय ३७ किलोमिटर सडक स्तरोन्नतिको काम भइरहेको छ । करिब साढे ५ सय किलोमिटर खण्डमा काम नै सुरु भएको छैन । यो राजमार्गको धेरै खण्डहरु वर्षामा हिलाम्ये र हिउँदमा धुलाम्य हुने गरेका छन् ।

जसका कारण अलपत्र सडक आसपासका जनतालाई सास्ती त भएको छ नै, राजमार्ग भएर आवत–जावत गर्दा ज्यानकै जोखिम मोल्नुपर्ने बाध्यता छ । भारत सरकारले जिम्मा लिएका खण्डमा अझै पनि काम सुस्त नै छ ।

आयोजनाको निर्माण सक्न ४७ अर्ब लाग्ने पुरानो अनुमान थियो । अब त्यति लागतमा आयोजना बन्ने अवस्था छैन । हुलाकी सडकका लागि भारतले ८ अर्ब रुपैयाँ मात्र खर्चंदैछ । बाँकी रकम नेपाल सरकारले आन्तरिक स्रोतबाटै जुटाउनुपर्छ ।

मधेसी समुदायले यो मार्गको विकासलाई अत्यन्तै महत्व दिँदै आएको छ । तत्कालीन राजा महेन्द्रले पूर्व–पश्चिम राजमार्ग बनाउन सुरु गर्दा तत्कालीन मधेसवादी नेता तथा जनताले यही हुलाकी राजमार्गलाई पूर्व–पश्चिम राजमार्गको रुप दिन माग गरेका थिए । तर, महेन्द्रले त्योभन्दा माथि पहाडको फेद एवम् चुरे क्षेत्रलाई छुने गरी पूर्व–पश्चिम राजमार्ग निर्माण गराए ।

हुलाकी राजमार्गले तराईका १७ जिल्लालाई छुन्छ । पहाडबाट तराईसम्म खनिएका फेडर रोडलाई पूर्व–पश्चिम महेन्द्र राजमार्ग हुँदै हुलाकी राजमार्गमा जोड्ने गरी काम भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment