Comments Add Comment

नेपाली सेनाले भन्यो – भारतीय मिडियाको समाचार प्रोपागाण्डा मात्रै

१६ जेठ, काठमाडौं । नेपाली सेनाको जंगीअड्डाले दुई भारतीय सञ्चारमाध्यममा प्रकाशित समाचार प्रोपगाण्डा मात्र भएको जनाएको छ ।

हिन्दुस्तान टाइम्स र टीएफआई पोष्ट डटकमले भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरभानेको टिप्पणीमाथि खण्डन गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशन दिए पनि नेपालका प्रधानसेनापति पूर्णचन्द्र थापाले अस्वीकार गरेको दाबी गरेको थियो । तर, नेपाली सेनाले एक विज्ञप्ति जारी गर्दै ती दाबीलाई प्रोपगाण्डा मात्र भएको जनाएको छ ।

सैनिक सूचना तथा जनसम्पर्क निर्देशनालयबाट जारी विज्ञप्तिमा भनिएको छ, ‘उक्त भ्रामक समाचार दुई मित्रराष्ट्र तथा विशिष्ट ऐतिहासिक सम्बन्ध भएका दुई सेनाहरुबीचको सम्बन्ध र विश्वासमा नकारात्मक असर पुर्‍याउने उद्देश्यबाट प्रेरित देखिन्छ ।’

राष्ट्रिय एकता थप मजबुत बनाउनुपर्ने परिस्थितिमा नेपालमा विभाजन ल्याउने तथा सेनालाई अनावश्यक विवादमा तान्ने कुत्सित मनसायले यस प्रकारको अफवाह फैलाइएको जंगीअड्डाको भनाइ छ ।

साथै, भारतीय सेनाध्यक्ष नरभानेको टिप्पणीबारे रक्षामन्त्री ईश्वर पोखरेलले पनि धारणा सार्वजनिक गरिसकेको उल्लेख गर्दै सेनाले भनेको छ, ‘नेपाली सेना नेपालको संविधान अनुरुप नेपाल सरकारबाट प्राप्त वैधानिक निर्णय र निर्देशन पालना गर्न सदैव कटिबद्ध रहोको पनि जानकारी गराउन चाहन्छौं ।’

सेनाले आगामी दिनमा पनि विभिन्न माध्यमबाट नेपाल, नेपाली नगारिक र नेपाली सेनासम्बन्धी अफवाह फैलाउने प्रयास हुनसक्ने पनि भनेको छ । नयाँ दिल्लीमा मनोहर पर्रिकर रक्षा अध्ययन एवं विश्लेषण संस्थान (आईडीएसए) ले आयोजना गरेको वेबनारमा नरभानेले लिपुलेकमा कुनै समस्या नभएको बताउँदै यो मुद्दा नेपालले कसैको इसारामा उठाएको दाबी गरेका थिए ।

यो पनि पढ्नुहोस भारतीय सेना प्रमुख उत्तेजक हुँदा नेपाली सेना नबोल्नु ‘अर्थपूर्ण’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment