Comments Add Comment

प्रदेश २ मा एकै दिन थपिए ९२ जना संक्रमित

१६ जेठ, वीरगञ्ज । प्रदेश २ मा कोरोना भाइरस संक्रमितको संख्या ४ सय ९२ जना पुगेको छ । पछिल्लो २४ घण्टामा सप्तरीमा ५, धनुषामा १, सर्लाहीमा ४ जना, रौतहटमा ७३ जना, बारामा ४ र पर्सामा ५ जनामा कोरोना संक्रणको पुष्टि भएको हो ।

सप्तरीको राजविराज नगरपालिकाका ५ जना पुरुष, धनुषाको खजुरीमा १ जना, सर्लाहीको कौडेना गाउँपालिकाका २, मलंगवा नगरपालिकामा २ जनामा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

त्यस्तै रौतहटको राजपुर नगरपालिकास्थित राजपुर फतवास्थित क्वारेन्टाइनमा रहेका ५० जना, रौतहटकै बोधिमाई नगरपालिकास्थित सरमझुवा क्वारेन्टाइनमा रहेका २ जना, मौलापुर नगरपालिकास्थित पतौरा प्राथमिक स्वास्थ्य केन्द्रको क्वारेन्टाइनमा रहेका ६ जनामा पनि कोरोना संक्रमण पुुष्टि भएको छ ।

त्यसैगरी रौतहटकै इशनाथ नगरपालिकास्थित डुमरिया माविको क्वारेन्टाइनमा बसेका १५ जनामा पनि कोरोना संक्रमणको पुष्टि भएको छ ।

बाराको पचरौता गाउँपालिकाको क्वारेन्टाइनमा रहेका ४ जना, पर्सा जिल्लास्थित जिराभवानी गाउँपालिकामा १ जना र पोखरिया नगरपालिकामा ४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

९८ जना डिस्चार्ज, बाँकीको उपचार हुँदै

प्रादेशिक अस्पताल जनकपुर अन्तर्गतको कोभिड विशेष अस्पतालबाट जेठ १५ गते १ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । योसँगै प्रदेश ं२ मा ९८ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्किएका हुन् । जसमा तीन जना पत्रकार, एक जना नर्स पनि छन् ।

सप्तरीस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालको आइसोलेसन कक्षमा २४ जना र सिराहामा महेन्द्र गेनाई अस्पतालको आइसोलसन कक्षमा १४ जनाको उपचार भइरहेको छ ।

प्रादेशिक अस्पताल जनकपुरको आइसोलेसन कक्षमा २९ जना, महोत्तरीको जलेश्वर अस्पतालको आइसोलसन कक्षमा १९ जना, सर्लाहीको मंलगवास्थित अल्पामाई रामनारायण यादव नर्सिङ कलेजको आइसोलेसनमा २० जना संक्रमितको उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

रौतहटको चपुर अस्पतालमा ७ जना पुरुष, गौर नर्सिङ इन्टिच्युटको आइसोलेसनमा २९ जना र राजपुर फरहदवास्थित प्राथमिक स्वास्थ्य केन्द्रको आइसोलेसनमा २५ जना संक्रमितको उपचार भइरहेको छ ।

बाराको कलैया अस्पताल अन्तर्गतको आइसोलेसनमा ४६ जना, पर्सामा ९ जना कोरोना संक्रमितको वीरगञ्ज महानगरपालिकास्थित गण्डक अस्पतालको आइसोलेसन कक्षमा उपचार भइरहेको छ ।

प्रदेश सचिव रामप्रसाद घिमिरेले बढ्दो संक्रमण दरले प्रदेशमा चुनौती थपेको बताए । उनले प्रदेशमा विशेष आर्थिक प्याकेजका लागि मुख्यमन्त्रीले प्रधानमन्त्रीलाई पत्राचार गरेको पनि जानकारी गराए ।

‘परीक्षण संख्या बढाउन दक्ष जनशक्ति, भीटीएमलगायत आवश्यक सुरक्षा सामाग्रीको माग गर्नुभएको छ’ उनले भने ‘त्यस्तै बाहिरबाट १० लाख युवा प्रदेशमा फर्कने भएकोले उनीहरुको व्यवस्थापनमा पनि सहयोग गर्नुपर्ने आवश्यकता देखिएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment