Comments Add Comment

दर्ता भएन राजपाको संविधान संशोधन विधेयक

१६ जेठ, काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले लिएर गएको संविधान संशोधन प्रस्ताव संसद सचिवालयले दर्ता गर्न अस्वीकार गरेको छ ।

राजपा संसदीय दलका नेता महन्थ ठाकुर पार्टी नेताहरुलाई लिएर संविधान संशोधन विधेयक दर्ता गर्न संसद सचिवालय पुगेका थिए । राजपाले शेरबहादुर देउवा प्रधानमन्त्री भएको बेला असफल भएको संशोधन विधेयकलाई नै दर्ता गर्न खोजेको थियो ।

तर संसदका महासचिव भरतराज गौतमले सभामुख अग्निप्रसाद सापकोटासँग पनि परामर्श गर्नुपर्ने भन्दै दर्ता गरेनन् । राजपा संसदीय दलका नेता ठाकुरले भने, ‘फर्म्याट पनि मिलाइयो, सही पनि भयो । तर कहाँबाट के आदेश आयो, त्यसअनुसार (दर्ता) गर्नु भएन ।’

सरकारले लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई समेटेर जारी गरेको नयाँ नक्साअनुसार निशान छाप संशोधन गर्न संविधान संशोधन विधेयक शुक्रबार संसद सचिवालयमा दर्ता गरेको थियो । १४ जेठमा विधेयक पेश गर्ने तयारीसहित प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार सर्वदलीय बैठकसमेत बोलाएका थिए ।

उनले सर्वसम्मत रुपमा संशोधन विधेयक पास गर्न आग्रह गरे । तर प्रमुख विपक्षी नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिबाट निर्णय गर्न भन्दै समय माग्यो भने राजपा र समाजवादी पार्टीका नेताहरुले मधेसको मागलाई पनि समेट्न आग्रह गरे ।

लगतै एकाएक संशोधन विधेयक पेश भएन । तर आफ्ना माग सम्बोधन गर्न सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) तयार नदेखिएको भन्दै राजपाले गैर सरकारी विधेयकका रुपमा संसदमा संविधान संशोधन विधेयक दर्ता गर्न खोजेको हो ।

संविधान संशोधनका लागि यो अवसर भएको भन्दै ठाकुरले भने, ‘यो अवसर हो । मधेसी, आदिवासी जनजाति, थारु समुदायको जुन समस्या छ, त्यसलाई पनि संशोधन गरौं ।’

तर देशको आधा जनसंख्या आक्रोशित राखेर राष्ट्रिय एकता हुन नसक्ने उनले बताए । राजपा नेता ठाकुरले भने, ‘आफ्नो कुरा मात्र गर्ने हो भने सम्वाद कठिन हुन्छ । विवाद अरु ठाउँमा पनि छ, मात्र त्यहाँ छैन । त्यो कुरा पनि उठ्छ ।’

संविधान संशोधन प्रस्तावमा के छ ?

राजपाले संविधानको ८ वटा धारालाई संशोधन गर्नुपर्ने विधेयक तयार पारेको छ । खासगरी उसले प्रदेशको संख्या तथा सिमांकन हेरफेरबारे सिफारिस गर्न संघीय आयोग बनाउने, प्रदेशसभामा प्रदेशको प्रतिनिधित्व हेरफेर गर्ने र वैवाहिक अंगीकृत नागरिकतालाई लिएर संविधान संशोधन गर्न चाहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment