Comments Add Comment

२५ जनाका लागि क्वारेन्टिनको तयारी, संक्रमित नै सय पुगे

१६ जेठ, विराटनगर । झापाको दक्षिणी क्षेत्रको कचनकवल गाउँपालिकाले कोरोना महामारी रोकथामका लागि एउटा क्वारेन्टिन स्थल निर्माण गरेको थियो । गाउँपालिकाले क्वारेन्टिनमा २०–२५ जना बस्न सक्ने अनुमान गरेको थियो ।

वैशाख दोस्रो सातासम्म अवस्था सामान्य थियो । तर भारतमा रेलसेवा सुरु भएसँगै नेपाल फर्कनेको संख्या बढ्यो । डेढ महिनासम्म तयारीमा ध्यान नदिएको गाउँपालिका मान्छे आउन थालेपछि अत्तालियो ।

‘हाम्रो सुरुको आकलन २०–२५ जना आउलान् भन्ने थियो’ गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख जागेश्वरप्रसाद यादव भन्छन् ‘संक्रमितको संख्या नै एक सय पुग्यो ।’

गाउँपालिकाका बैठकहरुमा पूर्वतयारी गर्नुपर्ने आवाज पनि नउठेका होइनन् । तर सम्भावित जोखिम आकलन गर्न नसक्दा समस्या बिकराल बन्यो । भारतबाट आएकाहरुलाई नाम मात्रको क्वारेन्टिनमा राखियो ।

हतार हतार विद्यालयलाई क्वारेन्टिन बनाउँदा संक्रमणको स्रोत नै क्वारेन्टिन बनेको गुनासो पनि कतिपयको छ । एउटै कोठामा १० जनासम्म बसेको स्वास्थ्य शाखा प्रमुख यादव स्वीकार गर्छन् ।

क्वारेन्टिनबाटै फैलियो !

गाउँपालिकाका सबै ठूला ६ वटा विद्यालयलाई क्वारेन्टिनको रुपमा प्रयोग गरेको छ । ती विद्यालयमा बस्नेका लागि व्यवस्थित शौचालय छैनन् । एउटै कोठामा धेरै मानिस सँगै राखिएको छ । अब आउनेलाई कहाँ राख्ने भन्ने चिन्ता थपिएको यादव बताउँछन् ।

तर उनी संक्रमणको स्रोत भने क्वारेन्टिन नभएको जिकिर गर्छन् । भारतबाट आउँदा गाडी तथा रेलमा आउँदा नै उनीहरु संक्रमित भएको हुन सक्ने यादवको भनाइ छ ।

कचनकवलको महेन्द्ररत्न मावि केचनाको क्वारेन्टिनमा बसेका ९९ जनामध्ये ५२ जनालाई कोरोना संक्रमण देखियो । शुक्रबार संक्रमण पुष्टि भएका २७ जना पनि सोही क्वारेन्टिनका हुन् । बिहीबार २५ जनामा कोरोना देखिएको थियो ।

पाठामारीस्थित जानकी आधारभूत विद्यालयको क्वारेन्टिनका ५७ जनामध्ये २३ जनामा संक्रमण देखिएको छ । भारतबाट आएकालाई सिधै क्वारेन्टिनमा राखेका कारण बस्तीमा भने संक्रमण नदेखिएको यादवको भनाइ छ ।

भारतमा रेलसेवा सुरु भएसँगै कचनकवलमा तीन सय ३५ जना आइपुगेका छन । शुक्रबार थप मानिसहरु स्वदेश फर्किने जानकारी आएको स्वास्थ्य शाखा प्रमुख यादवले बताए ।

तर गाउँपालिकाले आएकामध्ये दुई सय ६७ जनाको परीक्षण गरेको छ । बिहीबार र शुक्रबार क्वारेन्टिनमा रहेका २ सय जनाको स्वाब संकलन गरी पठाइएको छ ।

‘क्वारेन्टिनको निश्चित मापदण्ड हुन्छ, मापदण्ड पालना नगरे संक्रमण फैलने जोखिम हुन्छ’ जनस्वास्थ्यविद डा. नवराज सुब्बा भन्छन् ‘ व्यक्तिगत सरसफाइमा ध्यान दिनुपर्छ ।’

एउटै कोठामा बस्दा जोखिम बढ्ने उनले बताए । कचनकवलको हकमा पनि क्वारेन्टिनबाटै संक्रमण फैलिएको हुनसक्ने उनको अनुमान छ । ‘बेड न्यूनतम ५–६ फिटको अन्तरमा हुनुपर्छ’ उनी भन्छन् ‘क्वारेन्टिनमा बस्नेलाई सावधानीका उपाय सिकाउनुपर्छ ।’

झापाका स्थानीय तहहरुले गाउँमा आएका नयाँ मानिसलाई राख्न क्वारेन्टिन निर्माण गरेका छन् । तर हालका सबैजसो क्वारेन्टिनको अवस्था सुधार गर्नुपर्ने झापाका प्रहरी प्रमुख कृष्ण कोइराला बताउँछन् ।

‘अहिले देखिएको संक्रमण बाहिरबाट आएकाहरुमा मात्र हो’ उनी भन्छन् ‘क्वारेन्टिनलाई धेरै सुधार गर्नुपर्छ ।’ झापामा शुक्रबारसम्म १०७ जनालाई संक्रमण देखिएको छ । ती मध्ये २ जना निको भएर घर फर्किएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment