Comments Add Comment

शयनकक्षदेखि भान्सासम्म : कस्तो हुनुपर्छ आन्तरिक सज्जा ?

लकडाउन नभइदिएको भए सायदै हामीले घरभित्र यति लामो समय व्यतीत गर्ने थियौं। अहिले हामी सबैजसो घरभित्रै समेटिएका छौं। यसरी बसिरहँदा हामीले आफूलाई घामपानीबाट बचाउने घरलाई अरू नजिकबाट नियाल्न पाएका छौं । यतिबेला कतिपयले त घरको आन्तरिक सज्जालाई ध्यान दिएका होलान्, कतिपयले कोठाका सरसामानहरू व्यवस्थित गरिरहेका होलान्। घरभित्रै बसिरहँदा हामीलाई घरभित्रको सजिलो वा असजिलो थाहा हुन्छ। कमीकमजोरी थाहा हुन्छ ।

खासमा घर त्यही हो, जहाँ मन बस्छ । अतः घरको आन्तरिक सज्जाले यसमा खास भूमिका खेल्छ। घरभित्रको वातावरण कस्तो हुनुपर्छ ? आन्तरिक सज्जा कसरी गर्नुपर्छ ?

भान्साको आन्तरिक सज्जा

गृहिणीले धेरैजसो समय भान्सामा बिताउँछन्। भान्साको समय भनेको साँझ र बिहान हो। भान्सामा अलि उज्यालो रङ्ग, चहकिलो बिजुली उपयुक्त हुन्छ । भान्साको साजसज्जा यस्तो हुनुपर्छ, जसले गृहणीलाई आकर्षित गर्न सकोस्।

भान्सामा जसले काम गर्छ, उनको लागि अनुकूल होस्। उनीहरू भान्सामै रमाउन सकून् । भान्सा सफा, खुला, उज्यालो हुनुपर्छ । यही कुरालाई ध्यानमा राखेर भान्साको आन्तरिक सज्जा तयार गरिन्छ।

शयन कक्षाको आन्तरिक सज्जा

शयन कक्षा अर्थात् बेडरुमको सज्जा फरक हुन्छ । बेडरुम भनेको नित्तान्त तपाईंको व्यक्तिगत कोठा हो । यसमा तपाईंको मनोभावअनुसार सजावट गर्न सकिन्छ । तपाईं के गर्नुहुन्छ, के रुचाउनुहुन्छ ? ती कुरा तपाईंको बेडरुममा झल्काउन सकिन्छ ।

बेडरुम जहाँ हामी रातको समय बिताउने गर्छौं । अर्थात् सुत्नका लागि प्रयोग गर्छौं । यहाँ धेरै सामग्रीहरू अर्थात् फर्निचर राख्नुहुँदैन । खुला र शान्त देखिनुपर्छ । त्यसैले बेडरुममा इनडोर प्लान्ट लगाउनु उपयुक्त हुँदैन। किनभने रातको समयमा बोट बिरुवाले अक्सिजन लिने र कार्बनडाइअक्साइड निकाल्ने गर्छ । यसले हाम्रो स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्छ ।

बैठक कोठाको आन्तरिक सज्जा

लिभिङ रुम अर्थात् बैठक कक्ष । यो कोठाको प्रयोग हामीले कसरी गरिरहेका हुन्छौं ? अक्सर पाहुना आउँदा राख्ने । पाहुनालाई चिया दिने। जबकि बैठक कोठाको महत्व अर्कै छ।

बैठक कोठा अन्य कोठाभन्दा ठूलो राखिन्छ । बैठक कोठामा टेलिभिजन, सोफा, टेबल आदि राखिन्छ । खासमा यो कोठा भनेको पाहुना आउँदा वा भेटघाट गर्ने कोठा मात्र होइन, पारिवारिक जमघट हुने ठाउँ हो ।

हामी अहिले व्यस्त छौं । एकै छानोमुनि बस्ने परिवारका सदस्यसँग पनि हाम्रो भेटघाट वा भलाकुसारी भइरहेको हुँदैन । त्यही कारण हाम्रो परिवारबीच अन्तर्क्रिया भइरहेको हुँदैन । आपसी छलफल भइरहेको हुँदैन । त्यसैले कतिपय अवस्थामा हामीबीच मनमुटाव हुन्छ, सम्बन्ध बिग्रिरहेको हुन्छ । बैठक कोठा भनेको चाहिँ परिवारका सबैजना भेला हुने, कुराकानी गर्ने, रमाइलो गर्ने । क्वालिटी समय बिताउने ठाउँ हो।

त्यसैले बैठक कोठाको आन्तरिक सज्जा यस्तो हुनुपर्छ, जसले परिवारका सबै सदस्यलाई आकर्षित गर्न सक्छ । हजुरबा, हजुरआमा, नाति-नातिनी, बुबाआमा, छोराछोरी सबैजना त्यहाँ रमाउन सक्नुपर्छ। सबैका लागि अनुकूल हुनुपर्छ।

यसरी सबै जनालाई आकर्षित गर्ने किसिमले बैठक कोठाको आन्तरिक सज्जा एवं डिजाइन गरियो भने सबैजना त्यहाँ भेला हुन्छन्। परिवारका सदस्यहरूले गुणस्तरीय समय बिताउँछन् ।

यसरी कोठाको आवश्यकताअनुसार नै आन्तरिक सज्जा गर्नुपर्छ ।

बालमैत्री सजावट

हरेक घरमा बालबालिका हुन्छन् । अक्सर हामीले डिजाइन गर्दा वा आन्तरिक सज्जा तयार गर्दा उनीहरूको मनोविज्ञानलाई बुझ्ने कोसिस गर्दैनौं । जबकि यी सबै कुरा बालमैत्री हुनुपर्छ ।

कुन किसिमको सजावटमा बालबालिका आकर्षित हुन्छन् ? कस्तो सजावटले उनीहरूलाई सहज बनाउँछ, कसरी गरिएको डिजाइनले उनीहरूलाई बाधा पुग्दैन ? यावत कुरालाई हामीले बुझ्नुपर्छ ।

हामीले प्रयोग गर्ने कमोड, बाथटब, धारा, डाइनिङ टेबल बच्चाहरूलाई असहज लाग्नसक्छ । त्यसमाथि उनीहरूले आफ्नो अप्ठ्यारो बताउन सक्दैनन् । यसरी आन्तरिक सज्जा एवं डिजाइनमा ध्यान नदिँदा बालबालिकाहरूले आफ्नै घरलाई असहज मानिरहेका हुन्छन्।

घरको डिजाइन बालमैत्री हुनुपर्छ। उनीहरूले नै घरमा बढी समय बिताउने भएकाले त्यहाँको आन्तरिक सज्जाले उनीहरूलाई प्रफुल्ल  बनाउनुपर्छ ।

इन्टेरियर डिजाइनर अर्चना शाहसँगको कुराकानीमा आधारित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment