Comments Add Comment

रुकुम घटना छानविन गर्न दलित सांसदकै नेतृत्वमा समिति गठन गर : कांग्रेस

१९ जेठ, काठमाडौं । अन्तर्जातीय बिहेको विवादका कारण पश्चिम रुकुममा पाँच जना मारिएको घटना छानबिनका लागि संसदीय समिति गठन नगरिए कडा संघर्ष सुरु गर्ने चेतावनी दिएको छ । निष्पक्ष छानविनका लागि दलित सांसदकै नेतृत्वमा संसदीय समिति गठन हुनुपर्ने माग कांग्रेसको छ ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा विशेष समय लिएर बोल्दै कांग्रेस सांसद मानबहादुर विश्वकर्माले भने, ‘घटनाको निष्पक्ष छानबिनका लागि दलित सांसदको नेतृत्वमा संसदीय समिति तत्काल गठन होस् । यदि तत्काल गठन भएन भने योभन्दा कडा कदम हामीलाई चाल्न बाध्य नपारियोस् ।’

प्रतिनिधिसभा बैठक सुरु हुनेवित्तिकै कांग्रेस सांसदहरुले उठेर विरोध जनाएका थिए । त्यसलगत्तै सभामुख अग्निप्रसाद सापकोटाले सांसद विश्वकर्मालाई धारणा राख्न दिएका थिए । उनले गृहमन्त्रालयले गठन गरेको छानविन समितिले न्यान दिन नसक्ने दाबी गरे ।

सांसद विश्वकर्माले भने, ‘यति ठूलो घटना घटिसकेपछि अहिले गृहमन्त्रीले साधारण कर्मचारीको अध्यक्षतामा छानविन समिति गठन गर्नुभएको छ । त्यो छानबिन समितिले न्याय दिन सक्दैन । हामीलाई समितिको मान्यता पनि छैन । यस हत्याकाण्डलाई फितलो बनाउन जाजरकोटमा आर्थिक चलखेल भइराखेको रिपोर्ट पनि पाएका छौं सत्तापक्षबाट ।’

पश्चिम रुकुमको चौरजहारी नगरपालिकाको सोती गाउँमा आफ्नी प्रेमिकालाई लिन भनेर जाजरकोटबाट गएका नवराज विकसहितका युवा र केटी पक्षबीच झडप भएपछि भागाभाग भएको थियो । केही युवाहरु ज्यान जोगाउन भेरी नदीमा हाम फालेको बताइएको छ । सो घटनामा पाँच जनाको मृत्यु भएको छ भने एक जना वेपत्ता छन् ।

सो घटनाको संयुक्त राष्ट्रसंघले समेत निष्पक्ष छानबिनको माग गरिरहेको उल्लेख गर्दै कांग्रेस सांसद विश्वकर्माले उनीहरु आफैं हाम फालेको नभई हत्या गरेर फालिएको जिकीर गरे । सांसद विश्वकर्माले भने, ‘पोस्टमार्टमा गर्दा ती मृतकका पेटबाट पानी आएको छैन । मान्छे हामफालेपछि सबैभन्दा पहिले पानी पिउँछ तर तिनको पोस्टमार्टमा गर्दा पानी नआउनुको कारण तिनीहरुलाई मारेर फालिएको थियो । त्यस्तै कसैलाई डोरी बाधेर खोलामा फालिएको थियो ।’’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment