Comments Add Comment

डायलासिसपछि नारायणी अस्पतालले सुरु गर्‍यो ओपीडी सेवा

२० जेठ, वीरगञ्ज । वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालले मंगलबारबाट ओपीडी सेवा सुरु गरेको छ ।

अस्पतालले ओपीडी सेवा सुरु गरेपछि मंगलबार बिहानैदेखि सर्वसाधरण उपचारका लागि अस्पताल पुगेका छन् । सामाजिक दुरी कायम गर्दै सर्वसाधरणहरु उपचारका लागि अस्पतालमा लाइन लागेर बसेका थिए । अस्पतालले ओपीडी सेवा सुरु गरेको प्रति वीरगञ्जका स्थानीय लालबाबु सिंहले खुशी व्यक्त गरे । उपचारका लागि लाइनमा बसेका सिंहले भने, ‘नारायणी अस्पताल बारा, पर्सा, रौतहट लगायत भारतका गरिब जनताकाे उपचार गर्ने थलाे हाे, दुई महिना बन्द हुँदा निकै सास्ती बेहोर्नुपरेको थियो । अहिले सेवा सुचारु हुँदा एकदमै खुशी लागेको छ ।’

कोभिड–१९ महामारीको जोखिमका कारण सतर्कता अपनाउँदै प्रत्येक दिन एउटा विभागमा २५/२५ जनाको मात्रै उपचार गर्ने नीति लिएको नारायणी अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. मदन उपाध्यायले जानकारी दिए । ‘आजदेखि बहिरंग सेवा सुरु गरेका छौं, कोभिड–१९ महामारी अवधिभर प्रत्येक बहिरंग विभागमा दैनिक २५ जना बिरामीको मात्र स्वास्थ्य परीक्षण गर्न भनेका छौं,’ डा. उपाध्यायले भने, ‘दैनिक १० जनाको मात्रै भिडियो एक्स–रे गर्न सकिन्छ ।’

मेसु उपाध्यायले यसबारेमा सोमबार नै विज्ञप्ति जारी गरेर सर्वसाधरणलाई जानकारी गराइसकेका थिए ।

सामान्य अवस्थामा नारायणी अस्पतालमा बारा, पर्सा, रौतहटको मात्रै नभएर छिमेकी मुलुक भारतबाट समेत बिरामी उपचारका लागि आउने गरेका छन् । यस क्षेत्रको एक मात्र सरकारी अस्पताल भएका कारण नारायणीले विपन्न समुदायको अस्पतालको रुपमा पहिचान बनाएको छ ।

कोभिड विशेष अस्पतालबाट जनरलमा परिणत हुने नारायणी मुलुक कै पहिलो अस्पताल हो । नारायणी मातहत नै रहनेगरी वीरगञ्ज महानगरपालिकासँगको सहकार्यमा गण्डक कोभिड विशेष अस्पताल सञ्चालनमा छ । गण्डकमा २ जना महिला सहित २० जना कोरोना संक्रमित उपचाररत छन् ।

नारायणी अस्पतालमा बहिरंग तर्फ हाडजोर्नी, पेट तथा छाती, छाला, मुटु रोग, मेडिसिन, गाईने, कार्डियोलोजी, जनरल सर्जरी, पेडियाट्रिक, नाक, कान घाँटी (ईएनटी), दाँत, फिजियोथेरापी र इमर्जेन्सी सेवा पनि सञ्चालनमा छ ।

कोभिड अस्पताल हुनु अघि जसरी नै नारायणीले ओपीडी सेवा दिन सुरु गरिसकेको अस्पतालका बरिष्ठ चिकित्सक डा. विरेन्द्र प्रधानले जानकारी दिए । ‘भिडभाड गराउँदा चिकित्सक, स्वास्थ्यकर्मी र अरु पनि संक्रमित हुने जोखिम हुन्छ । त्यसमा ध्यान दिएका छौं । साह्रै गाह्रो हुँदा २४ घण्टै इमर्जेन्सी खुल्ला रहन्छ,’ डा प्रधानले भने, ‘तत्कालका लागि बिरामी भर्ना नगर्ने निर्णय गरेका छौंं, शल्यक्रिया सुरु गर्न केही दिन लाग्छ । हप्ता, १० दिनमा अन्य सबै सेवा सञ्चालनमा आइसक्छ ।’

अस्पतालले आइतबारबाट मिर्गौलाका बिरामीहरुका लागि डायलासिस सेवा सुरु गरिसकेको छ । अस्पतालबाट सबै संक्रमित डिस्चार्ज भएपछि निर्मलीकरण गरेर आइतबारदेखि डायलासिस सेवा सुरु गरिएको हो । दुई दिनमा १८ जनाको डायलासिस गरिसकिएको वार्ड इन्चार्ज स्टाफ नर्स ज्योती गुप्ताले जानकारी दिइन् ।

‘हामीकहाँ ४० जनाले डायलासिस गराउनुहुन्थ्यो, सेवा बन्द भएपछि ६ जनाको मृत्यु भयो, बाँकी हाम्रो सम्पर्कमा हुनुहुन्छ,’ उनले भनिन्, ‘लकडाउनले जान आउन पनि समस्या छ, तर सबैजना हाम्रो सम्पर्कमा हुनुहुन्छ ।’

मंगलबार पनि ९ जनाको डायलासिस हुँदैछ । ६ वटा मेसिन सञ्चालनमा रहेपनि आवश्यकता अनुसार मात्रै डायलासिस गरिन्छ । चिकित्सकका अनुसार मिर्गौला रोगीले सातामा दुईपटक डायलासिस गर्नुपर्ने हुन्छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, आपतकालिन तथा विपद् व्यवस्थापन इकाई, स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रले ०७६ चैत ३० गते पत्र पठाएर नारायणीलाई कोभिड अस्पताल घोषणा गर्दै अन्य सेवा बन्द गर्न निर्देशन दिएको थियो ।

सोही पत्रको आधारमा नारायणीले ०७७ वैशाख २ गतेदेखि सर्पदंश, ज्वरो क्लिनिक बाहेकको सेवा बन्द गरेको थियो । पुनः स्वास्थ्य समन्वय महाशाखाले वैशाख ३० गते पत्राचार गर्दै उपचारार्थ कोभिड–१९ संक्रमित डिश्चार्ज गरेपछि बहिरंग लगायत अन्य नियमित सेवाहरु क्रमशः सुरु गर्न भनेपछि नारायणीले सोही अनुसार क्रियाकलाप अघि बढाएको छ ।

ओपिडी सेवा सुरुभएपछि नारायणीमा जनरल सेवा सुचारु गर्न माग राखेर घर घरबाट भइरहेको विरोध प्रदर्शन समेत स्थगित गरिएको युवा नेता ओम प्रकाश सर्राफले जानकारी दिए । विभिन्न राजनीतिक दल, सामाजिक अभियन्ताहरुले पनि नारायणीमा जनरल सेवा सुचारु गर्न माग राखेर दबावमुलक कार्यक्रम गरेका थिए ।

नारायणीलाई कोभिड अस्पताल बनाइएपछि सबै सेवा सरकारी दर रेट र सहुलियतमा प्रदान गर्न नेशनल मेडिकल कलेजलाई जिम्मा दिइएको थियो । तर नेशनलबाट प्रदान गरिएको सेवाप्रति सर्वसाधरणले असन्तुष्टि जनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment