Comments Add Comment

८ मिनेट १० सेकेण्ड : जर्ज फ्लोयड प्रहरी नियन्त्रणमा कसरी मारिए ?

अमेरिकामा आन्दोलन फैलिनुको कारण बनेको घटना

२० जेठ, काठमाडौं । मिनोपोलिस सहरमा भएको अश्वेत व्यक्तिको प्रहरी नियन्त्रणमा मृत्यु भएपछि अमेरिका अशान्त छ । व्यापक प्रदर्शन भइरहेको छ । प्रदर्शन हिंसात्मक हुन थालेपछि राजधानी वासिङ्टनसहित ठूला सहरहरूमा रात्रि कर्फ्यू लगाउनु परेको छ ।

अमेरिकी नागरिकमा किन आक्रोश बढेको छ ? आन्दोलन जन्माउने वास्तविक घटना के थियो त ?

मे २५ को दिन ४६ वर्षका जर्ज फ्लोयडले मिनोपोलिसको एक पसलमा २० डलर दिएर चुरोट खरिद गरे । उनले दिएको पैसा नक्कली हो भन्ने थाहा पाएपछि पसलका कर्मचारीले प्रहरीलाई खबर गरेका थिए । लगत्तै प्रहरी आइपुग्यो । पहिलोपटक प्रहरीको कार घटनास्थल आइपुगेको १७ मिनेटपछि फ्लोयडलाई तीन प्रहरीले समातेका थिए । त्यतिबेला उनी अचेत अवस्थामा थिए । उनको मृत्यु भइसकेको जस्तो देखिन्थ्यो ।

प्राप्त भिडियोहरूलाई जोडेर यो घटनालाई बुझ्न सकिने गरी एक भिडियो तयार पारिएको छ । भिडियोमा प्रहरीले मिनोपोलिस प्रहरी विभागको नीति मिचेर गरेको क्रियाकलापहरू देख्न सकिन्छ । यतिसम्म भयो कि प्रहरीको अमानवीय हर्कतका कारण फ्लोयडको उक्त स्थानमा नै मृत्यु भयो । त्यहाँ जम्मा भएका मानिसहरू र फ्लोयडले पनि बचाउन प्रहरी अधिकारीसँग बिन्ती गरिरहेको उक्त भिडियोमा देख्न सकिन्छ ।

फ्लोयडको मृत्यु भएको भोलिपल्ट प्रहरी विभागले सबै अधिकारीहरूलाई निलम्बन गर्‍यो । साथै, यो घटनाले ठूलो रुप लिँदै गएपछि घटनामा संलग्न एक प्रहरी अधिकारी डेरेकम चौविनलाई हत्याको आरोपमा मुद्दा दायर पनि गरिएको छ ।

उनले फ्लोयडको घाँटीमा आठ मिनेट ४६ सेकेण्ड घुँडाले थिचेका थिए । फ्लोयड अचेत भएपछि पनि उनको घाँटीबाट घुँडा हटाएका थिएनन् । स्वास्थ्य टोली घटनास्थलमा पुगेको एक मिनेटसम्म पनि चौविनले फ्लोयडको घाँटीमा घुँडाले थिचिरहेका थिए ।

फ्लोयडको पक्राउमा सहयोगी बनेका तीन प्रहरी अधिकारीमाथि अहिले अनुसन्धान भइरहेको छ ।

भिडियोमा देखाइएअनुसार सुरुमा आफ्नो कारमा बसेका फ्लोयडलाई दुई जना प्रहरीले कारबाट बाहिर निकाल्छन् र उनलाई हतकडी लगाएर प्रहरीको गाडी भएको स्थानमा लैजान्छन् । तर फ्लोयड गाडीमा बस्न मान्दैनन् । त्यसपछि प्रहरीको थप दुई वटा गाडी आउँछ । अन्तिममा आएको गाडीमा डेरेक चौवान र टोउ थाओ पनि हुन्छन् ।

त्यसपछि उनीहरूले फ्लोयडलाई गाडीमा राख्ने प्रयास गरेकोजस्तो र फ्लोयडले नमानेको जस्तो देखिन्छ । त्यसपछिको दृश्यमा प्रहरीको गाडीको छेउमा फ्लोयड लडेका देखिन्छन् । उनको घाँटीमा डेरेक चौविनले घुँडाले थिचेका छन् । उनलाई जे एलेक्जेन्डर कुएङ र थोमस लेनले साथ दिइरहेका छन् । टोउ थाओ भने हेरिरहेका देखिन्छन् ।

घाँटीमा प्रहरी अधिकारीको घुँडाले थिचिरहेको अवस्थामा फ्लोयडले आफूलाई सास फेर्न गाह्रो भइरहेको बताउँछन् । चौवानले ‘उठ र कारमा बस’ भनेर फ्लोयडलाई भन्छन् । तर फ्लोयडको घाँटीमा राखेको घुँडा हटाउँदैनन् । फ्लोयडले घाँटीमा राखेको घुँडा हटाए आफू गाडीमा बस्न तयार रहेको बताउँछन् । तर, चौवानले घुँडा हटाउँदैनन् ।

त्यहाँ उपस्थित मानिसले फ्लोयडको अवस्था खराब भएको भन्दै उनको घाँटीबाट घुँडा हटाउन आग्रह गर्छन् । तर चौविनले उनीहरूलाई उल्टै हप्काएको भिडियोमा देख्न सकिन्छ ।

त्यतिबेलासम्म फ्लोयड अचेत भइसकेका हुन्छन् । अझै पनि चौवानले उनको घाँटीमाथि राखेको घुँडा हटाउँदैनन् । यो घटनाको विरोध गर्दा त्यहाँ रहेका मानिस र प्रहरीको बीचमा भनाभन भएको पनि भिडियोमा देखिन्छ । त्यसपछि मेडिकल टोली घटनास्थलमा आइपुग्छ । त्यसको पनि केही समयपछि मात्र उनको घाँटीमा राखेको घुँडा चौवानले हटाउँछन् र तीन प्रहरीले उनलाई उचालेर स्ट्रेचरबाट एक्बुलेन्समा राख्छन् ।

स्रोत : न्यूयोर्क टाइम्स

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment