Comments Add Comment

कोरोना संक्रमित भेटिएपछि भान्से आएनन्, क्वारेन्टिनमा बसेकाहरु भोक्कै

२० जेठ, जनकपुरधाम  । धनुषाको बगचौरा मावि क्वारेन्टिनमा बसेकामध्ये २ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । यससँगै क्वारेन्टिनमा बसेकाहरु भने भोक्कै भएका छन् ।

हंसपुर नगरपालिका-२ को यो क्वारेन्टिनमा ५१ जना थिए ।

उनीहरु मध्ये दुई जनालाई कोरोना संक्रमण भएको सोमबार पुष्टि भयो । तर अझै उनीहरुलाई आइसोलेनमा लगिएको छैन ।

यससँगै क्वारेन्टिनमा बसेकाहरुलाई खाना पकाउनेहरु आउन छाडेका छन् । स्वास्थ्यकर्मीहरु पनि आएनन् । पर्सनल प्रोटेक्सन इक्यूपमेन्ट -पिपिई) नदिएसम्म काममा नफर्किने उनीहरुले बताएका छन् ।

क्वारेन्टिनमा बसेकाहरु भने बिहानैदेखि भोकै छन् । नजिक घर भएका व्यक्तिका परिवारबाट खाना आएको छ भने टाढा घर भएका भोकै छन् ।

क्वारेन्टिनमै बिरामी भएका आफ्ना पति भोक्कै भएपछि आफूले खाना लिएर गएको सोनीदेवी बताइन् । भारतको सुरतमा काम गर्दै आएका उनका श्रीमान् आउनेवित्तिकै क्वारेन्टिनमा बिरामी परेका छन् ।

मंगलबार बिहानदेखि कोही पनि नआएको क्वारेन्टिनमा बसेका इन्दल राउतले बताए । बिहान नगरपालिकाका कार्यालय सहयोगी आएर पानीको बोतल दिएर गएपछि उनी पनि फर्केर नआएको उनले बताए ।

क्वारेन्टिनमा बस्दै आएकी रबीना खातुन भन्छिन्, ‘या त घर जान दिनुपर्‍यो, या त खाना दिनुपर्‍यो ।’

यसबारे बुझ्न खोन्दा हंसपुरका मेयर रामज्ञान मण्डल सम्पर्कमा आएनन् ।

धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले संक्रमित फेला परेपछि कुनै किसिमको जानकारी त्यहाँबाट नपाइएको बताए । ‘हामीलाई जानकारी दिएपछि संक्रमितलाई आइसोलेसनमा ल्याइसकेका हुन्थ्यौं’ उनले भने, ‘अब भोलि उनीहरुलाई ल्याउन पहल गर्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment