Comments Add Comment

एकैदिन २०१ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २३०० पुग्यो

२१ जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा २०१ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या २३०० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । उनीहरूमध्ये नौ जनाको मृत्यु भएको छ ।

प्रदेश १ को ताप्लेजुङ, पाँचथर र तेह्रथुममा पहिलो पटक कोरोना संक्रमित भेटिएका छन् । ताप्लेजुङको शान्ति गाउँपालिकाकको क्वारेन्टिनमा रहेका तीन जनामा संक्रमण पुष्टि भएको हो । उनीहरू १८ देखि ४० वर्षीय पुरुष हुन् । यस्तै, पाँचथर हिलेहाङ गाउँपालिकाका २० वर्षीय पुरुषको पनि कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको छ ।

तेह्रथुमको आठराई गाउँपालिकाको क्वारेन्टिनमा रहेकी २० वर्षीया महिला र धनकुटा शहीदभूमि गाउँपालिकाका २७ वर्षीेय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।

यस्तै, झापाको बुद्धशान्ति गाउँपालिकाका ३० वर्षीय पुरुष र कमल गाउँपालिकाको क्वारेन्टिनमा रहेका १८ वर्षीय पुरुषको पनि कोरोना रिपोर्ट पोजेटिभ आएको छ । मोरङको रंगेली नगरपालिकाको क्वारेन्टिनमा रहेका २६ र ३६ वर्षका दुई जना पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।

यस्तै, सुनसरीमा ८ जना संक्रमित थपिएका छन् । उनीहरूमध्ये ७ जना भोक्राह गाउँपालिकाको क्वारेन्टिनमा रहेकाहरू हुन् । यस्तै, बराहक्षेत्रको क्वारेन्टिनमा रहेका २९ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रदेश २ को अवस्था के छ ?

पर्सामा ७ जना संक्रमित थपिएका छन् । रौतहटको जनता मा.वि. पटरिया क्वारेन्टिनमा रहेका ७ जनामा पनि संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा एक २७ वर्षकी महिला छन् भने अरू १० जना २२ देखि ५० वर्षका पुरुष हुन् ।

यस्तै, सर्लाही १५ जना संक्रमित थपिए । श्रीरामविलास प्रा.वि., बैरिया र जनता मा.वि., हरकटवा क्वारेन्टिनमा रहेका उनीहरूमध्ये एक ११ वर्षीया बालिका समेत छिन् । महोत्तरी मटिहानीका ९ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा एक ४० वर्षीया महिला छिन् भने अरू १५ देखि ३६ वर्षका पुरुष छन् ।

सप्तरी तिरहुतका ४० वर्षीय पुरुष र धनुषाका ३८ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण भएको छ ।

काठमाडौंमा तीन संक्रमित थपिए

काठमाडौंमा ३ जना संक्रमित थपिएका छन् । उनीहरूमध्ये एक काठमाडौं मेडिकल कलेज, सिनामंगलका चिकित्सक हुन् भने दुई जना टोखा नगरपालिकाकी २१ र २७ वर्षकी महिला हुन् । यस्तै, सिन्धुपाल्चोक इन्द्रवतीका २३ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कपिलपवस्तुमा ६९ जना थपिए

धेरै कोरोना संक्रमित भएको कपिलवस्तुमा थप ६९ जनाको रिपोर्ट पोजेटिभ आएको छ । उनीहरूमध्ये मायादेवी र शुद्धोधन गाउँपालिकाको क्वारेन्टिनमा रहेका ६७ जना छन् । संक्रिमित हुनेमा ११ वर्षीया बालिकासहित १० महिला छन् भने एक वर्षका बालक र ८० वर्षका बृद्ध गरी ५७ जना पुरुष छन् । यस्तै, ओडरी मा.वि. क्वारेन्टिनमा रहेका दुई जना २४ र ३९ वर्षका पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।

रुपन्देहीमा थप २७ जनामा संक्रमण देखिएको छ । लुम्बिनी बौद्ध विश्वविद्यालय र मर्चवार आदर्श माविको क्वारेन्टिनमा रहेका २६ जनाको रिपोर्ट पोजेटिभ आएको हो । संक्रमित हुनेमा एक जना ४० वर्षकी महिला छिन् भने अरू सबै पुरुष छन् । यस्तै, मायादेवीका २२ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

पाल्पामा २ जना संक्रमित थपिएका छन् । उनीहरू २८ वर्षीया महिला र २३ वर्षीय पुरुष हुन् । दाङमा पाँच जना कोरोना संक्रमित थपिएका छन् । बगलाचुरी र राजपुरका उनीहरूमध्ये  ९ वर्षीय बालिका र २७ महिला छन् भने अरू १७ देखि २२ वर्षका पुरुष हुन् ।

यसैगरी, नवलपरासीमा ८ जनामा संक्रमण भेटिएको छ । पहलिनन्दन र बर्दघाट क्वारेन्टिनमा रहेका उनीहरू १७ देखि ३४ वर्षका पुरुष हुन् ।

कालीकोट र दैलेखमा ७/७ जना थपिए

कालीकोटमा ७ जना संक्रमित थपिएका छन् । उनीहरू सबै महावैका हुन् र संक्रमित हुनेमा ४ वर्षका बालक समेत छन् ।

दैलेखमा ७ जना संक्रमित थपिएका छन् । ६ जना दुल्लु र नारायण नगरपालिकाको क्वारेन्टिनमा बसेका उनीहरू १७ देखि ३० वर्षका पुरुष हुन् भने अर्का एक नौमुलेका २४ वर्षीय पुरुष हुन् । प्युठानको मान्दवी गाउँपालिकाका दुई जनामा संक्रमण पुष्टि भएको छ । उनीहरू २० र २३ का पुरुष हुन् ।

सल्यानमा तीन संक्रमित थपिएका छन् । कुमाख गाउँपालिकको क्वारेन्टिनमा रहेका १९ र २४ वर्षीय पुरुष र कपुरकोटका २९ वर्षीय पुरुषको रिपोर्ट पोजेटिभ आएको हो ।

सुदूरपश्चिममा ५ संक्रमित

कैलालीका तीन जना संक्रमित थपिएका छन् । थपिएका संक्रमितमध्ये २० र २५ वर्षीय युवक कैलालीको गौरीगंगाका हुन् भने ५१ वर्षीय पुरुष धनगढी उपमहानगरपालिका–५ का हुन् । यस्तै, डोटीको पूर्वीचौकी–४ का २२ वर्षीय युवक र वडा नम्बर ७ का २५ वर्षीय युवकमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

यससँगै नेपालमा कुल संक्रमितको संख्या २३०० पुगेको छ । उनीहरूमध्ये नौ जनाको मृत्यु भएको छ भने दुई सय ७८ जना कोरोना मुक्तभएका छन् । अहिलेसम्म ६४ जिल्लामा कोरोना संक्रमित भेटिएको समेत स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment