Comments Add Comment

व्यवसायीले भने – तरकारी खाल्डोमा गाड्नु अराजकता

२१ जेठ, पोखरा । पोखरा महानगरपालिका– १५ को वडाध्यक्षको रोहबरमा धादिङबाट आएको तरकारी खाल्डोमा गाडिएको घटनाप्रति उद्योग वाणिज्य संघले विरोध गरेको छ । वडास्तरबाटै भएको यस्तो कार्यलाई संघले ‘स्वतन्त्र व्यापारको बर्खिलाप’ भनेको छ ।

पोखरा महानगरपालिका– १५ मा जेठ १५ गते धादिङबाट आएको ६ ट्रक तरकारी खाल्डोमा गाडिएको थियो । त्यसको विरोधमा उद्योग वाणिज्य संघले कारबाहीको माग गर्दै मंगलबार जिल्ला प्रशासन कार्यालय कास्की र गण्डकी प्रदेश सरकारसमक्ष समेत आपत्ति प्रकट गरेको थियो ।

‘विश्व स्वास्थ्य संगठनले नै तरकारीबाट कोरोना सर्दैन भनिरहेका अवस्थामा अमूक व्यक्तिबाट भएको यस्तो कार्यले व्यवसायीको क्षतिमात्रै भएको छैन । अराजकता पनि बढेको छ,’ पोखरा उद्योग वाणिज्य संघको प्रेस विज्ञप्तिमा भनिएको छ ।

उद्योग वाणिज्य संघलाई समेत नै जानकारी नदिई तरकारी खाल्डोमा पुरिएकोबारे पोखरा महानगर वा जोसुकै संस्थाले गरेको भए पनि निन्दीय कार्य भएको बताइएको छ । ‘यो स्वतन्त्र व्यापारको बर्खिलाप हो । अन्तर देशीय, प्रदेश वा निकायबीचको व्यापार रोक्ने अधिकार कसैलाई छैन,’ पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारी भन्छन्, ‘घटनामा संलग्नलाई कारबाही र व्यवसायीलाई क्षतिपूति दिन माग गर्दछौं ।’

६ ट्रक तरकारी खाल्डोमा पुरेकोबारे सर्वत्र विरोध भएपछि तरकारी गाड्ने संघसंस्थाले कोरोना भाइरसबाट बच्न र जोखिम न्युनीकरणका लागि तरकारी खाल्डोमा गाडेको स्पष्टिकरण दिएका छन् ।

जेठ १५ गते लेखनाथमा ढुंगेसाँघु टोल विकास संस्था, अमितारा महिला समूह, गण्डकी रिभरसाइड युवा क्लब, पटनेरी विकास संस्था तथा नयाँ पाइला युवा क्लबले तरकारी खाल्डामा गाडेका थिए ।

बाहिरबाट आयात हुने तरकारी बन्द भएपछि पोखरा हप्तादिनमै तरकारीको मूल्य दोब्बर बढेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment