Comments Add Comment

क्वारेन्टिनमा बस्नेहरुबाट गाउँपालिकाका प्रशासकीय अधिकृत कुटिए

ब्राइट फ्यूचर एकेडेमी क्वारेन्टिनमा बसेकाहरुको आरडीटी परीक्षण गरिँदै । सोही क्वारेन्टिनमा बसेकाहरुले प्रशासकीय अधिकृतमाथि आक्रमण गरेका थिए ।

२१ जेठ, काठमाडौं । दैलेखको भैरवी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतमाथि क्वारेन्टिनमा बसेकाहरुले बुधबार आक्रमण गरेका छन् ।

वडा नम्बर–४ स्थित ब्राइट फ्यूचर एकेडेमी क्वारेन्टिनमा बसेकाहरुको समूहले क्वारेन्टिन स्थलको व्यवस्थापन उचित नभएको भन्दै प्रमुख प्रशासकीय अधिकृत हीरासिंह थापामाथि आक्रमण गरेको प्रहरीले जनाएको छ ।

अधिकृत थापाले अनलाइनखबसँग भने, ‘१३ दिनदेखि क्वारेन्टिनमा बस्दै आएका व्यक्तिहरुको आरडीटी परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि आज घर पठाउने तयारी भइरहेको थियो । उहाँहरुलाई घरमा पनि सावधानी अपनाउन आग्रह गर्दै थिएँ । त्यहीबेला केही व्यक्तिहरुले गाउँपालिकाको स्टोर हेरौं भन्दै विवाद सिर्जना गरे । मैले स्टोर भोलि हेरौँला भन्दै थिएँ । त्यहीबेला ममाथि मुक्का प्रहार भयो । कालोमोसो दल्ने प्रयास समेत गरे । तर म भाग्न सफल भएँ ।’

क्वारेन्टिनको व्यवस्थापन उचित नभएको बाहना बनाएर आफूमाथि योजनाबद्ध तरिकाले आक्रमण गरेको उनको भनाइ छ । थापाका अनुसार उक्त क्वारेन्टिनमा भारतका विभिन्न स्थानबाट आएका एक महिला, ३ जना बालबालिकासहित ४२ जना बस्दै आएका थिए ।

प्रमुख प्रशासकीय अधिकृत थापामाथि आक्रमण गरेको आरोपमा प्रहरीले १२ जनालाई नियन्त्रणमा लिएको छ ।

केही दिनअघि वडा नम्बर–३ कोे एक विद्यालयको क्वारेन्टिनमा बसेकाहरुले क्वारेन्टिनको व्यवस्थापन राम्रो नभएको भन्दै गाउँपालिका घेराउ समेत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment