Comments Add Comment

विदेशबाट नेपालीको उद्दार कार्य सुरु, म्यानमारबाट २६ जना काठमाडौं आइपुगे

२३ जेठ, काठमाडौं । सरकारले विदेशमा अलपत्र परेका नेपाली नागरिकको उद्दार कार्य सुरु गरेको छ । शुक्रबार पहिलो चरणमा म्यानमारबाट २६ जना नेपाली काठमाडौं आइपुगेका छन् ।

म्यानमार सेनाको एयरफोर्स उनीहरुलाई लिएर काठमाडौंमा अवतरण भएको विमानस्थल सुरक्षा प्रहरी कार्यालयका एसएसपी रामकृपाल शाहले अनलाइनखबरलाई बताए ।

कोरोना महामारी रोकथाम, नियन्त्रण तथा प्रतिकार्यका लागि सरकारले बनाएको कोभिड-१९ क्राइसिस म्यानेजमेन्टर सेन्टर (सीसीएमसी) को संयोजनमा उद्दार गरेर ल्याइएका नागरिकको व्यवस्थापन गरिँदैछ ।

विमानस्थलमा ओर्लिने वित्तिकै उनीहरुको ७ दिन अघिसम्मको स्वास्थ्य परीक्षण प्रमाण पत्रको जाँच गरिनेछ । सीसीएमसी स्रोतका अनुसार म्यानमारबाट आउने २६ जनाकै कोरोना भाइरसको पीसीआर रिपोर्ट नेगेटिभ छ । त्यसैले उनीहरुलाई नेपाली सेनाले होल्डिङ सेन्टरसम्म लगेर होम क्वारेन्टाइनमा बस्ने गरी घर पठाउनेछ ।

सेन्टरमा उनीहरुको थप व्यक्तिगत विवरण पनि संलकन गरिनेछ । नेपाल टेलिकमले पनि उनीहरुलाई विमानस्थलमै निःशुल्क सीम कार्ड वितरण गर्नेछ । ती सीम कार्डको माध्यमबाट संक्रमितको गतिविधिबारे जानकारी लिन सहज हुने सीसीएमसीको विश्वास छ ।

यसअघि सीसीएमसीले ६० हजार सीम कार्डको विश्लेषण गरेर विदेशबाट आएका नागरिकबारे जानकारी संकलन गरेको थियो ।

यूएईबाट विमान आउन ढिलाइ

सरकारले शुक्रबार म्यानमारसँगै यूएईबाट पनि १६८ जनालाई ल्याउने तयारी गरेको थियो । तर, प्राविधिक समस्याका कारण यूएईबाट विमान समयमा उड्न सकेन ।

नेपाली समय अनुसार यूएईबाट आउने विमान १२ बजे काठमाडौं अवतरण हुने भनिए पनि अब कम्तिमा तीन बजेसम्म विमान आउन नसक्ने भएको सीसीएमसीका एक अधिकारीले बताए । उनले भने, ‘अन्तिम समयमा हवाई भाडाबारे केही असमझदारी भएको थियो, त्यसैले ढिलाइ भयो ।’

यूएईबाट आउने अधिकांशको कोरोना परीक्षण भइसकेको छैन । त्यसैले अवस्था अनुसार उनीहरुलाई क्वारेन्टाइन र होम क्वारेन्टाइनमा राख्ने तयारी छ । होटल क्वारेन्टाइनमा बस्न चाहेको खण्डमा त्यसका लागि पनि नेपाली सेनाले संयोजन गर्नेछ । क्वारेन्टाइन अवधि १४ दिनको हुनेछ ।

होल्डिङ सेन्टरमा बढीमा एक दिनसम्म राकेर उनीहरुलाई सम्बन्धित प्रदेशको क्वारेन्टाइनमा पठाउने सरकारी तयारी छ ।

उपत्यकामा ९ होल्डिङ सेन्टर

विदेशबाट दैनिक २९ सय जनासम्मको उद्धार गर्न सक्ने गरी उपत्यकामा होल्डिङ सेन्टर तयार गरिएको छ ।

सीसीएमसीको संयोजनमा काठमाडौं र भक्तपुरमा एक/एक हजार र ललितपुरमा ९ सय जना अट्ने गरी होल्डिङ सेन्टर तयार गरिएको जनाइएको छ । एक अधिकृतका अनुसार काठमाडौंमा प्रदेश नं. ३, ४ र ५, भक्तपुरमा प्रदेश नं. १ र २ र ललितपुरमा कर्ओणाली र सुदुरपश्चिम प्रदेशका नागरिकलाई राखिनेछ ।

काठमाडौंमा होल्डिङ सेन्टरका रुपमा सुकेधारामा मिराकल पार्टी प्यालेस, स्काई जोन पार्टी प्यालेस र बसुन्धारामा यति पार्टी प्यालेस र कुण्डलिनी पार्टी प्यालेसलाई तयार गरिएको छ । भक्तपुरको सूर्यविनयामा इम्पेरियल पार्टी प्यालेस र ठिमीमा हेरिटेज पार्टी प्यालेस तयारी अवस्थामा राखिएको छ ।

ललितपुरको धोविघाटमा सिद्धार्थ कलेज, महालक्ष्मीस्थानमा डिलाइट पार्टी भेन्यू र खरिवोटमा मण्डला पार्टी भेन्यू तयार गरिएको छ । काठमाडौंको मिराकल र ललितपुरको सिद्धार्थ कलेजलाई रिजर्भका रुपमा तयार गरिएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment