
२३ जेठ, बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले कृषि, स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राखेर आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
खेतीयोग्य जग्गा भएका वडाहरुमा सार्वजनिक–निजी–साझेदारी मोडलमा कम्तीमा १० बिघा जग्गा चक्लाबन्दी गरी व्यवसायिक खेती शुरु गर्ने नीति नगरपालिकाले लिएको छ ।
आगामी आर्थिक वर्षमा किसानलाई ५० वटा दश हर्षपावरसम्मका हाते ट्याक्टर खरिदमा ५० प्रतिशत अनुदान दिने, प्रत्येक वडामा ५/५ जना अगुवा किसान तयार गर्ने, मकै, गहुँ, तरकारीको बिउ, सिञ्चाई बोरिङ, माछापोखरी, दुध उत्पादन, फूल खेती, पशु बीमा अनुदानलाई निरन्तरता दिइने नगरपालिकाको नीति तथा कार्यक्रममा उल्लेख छ ।
भूमि तथा श्रम बैंक स्थापना गर्ने, कौशी तरकारी तथा फलफूल कार्यक्रम प्रभावकारी रुपमा सञ्चालन गर्ने, उपयुक्त स्थानमा पशु हाटबजार सञ्चालन गर्ने पनि नीति तथा कार्यक्रममा उल्लेख छ ।
नगरपालिकाको शुक्रबारबाट सुरु भएको ७ औं नगरसभामा नगर प्रमुख बासुदेव घिमिरेले कोभिड–१९ बाट उत्पन्न परिस्थितिलाई मध्यनजर गरी आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।
कोभिड–१९ को कारण बन्दाबन्दी हुँदा चालु आर्थिक वर्षमा कर तिर्न नपाएकाहरुलाई आगामी आर्थिक वर्षको ३ महिनासम्म हर्जाना नलिने नीति तथा कार्यक्रममा उल्लेख छ ।
स्वास्थ्य चौकीमा न्यूनतम पूर्वाधार, उपकरण र जनशक्तियुक्त बनाउने, थप २ स्वास्थ्य चौकीमा चिकित्सक नियुक्त गर्ने, प्रयोगशालाबाट एनालाइजरसहितको सेवा प्रदान गर्ने पनि नगरपालिकाको नीति छ ।
सामुदायिक विद्यालयमा विद्यालय स्वास्थ्य कार्यक्रम लागू गर्ने, ७५ वर्ष उमेरमाथिका जेष्ठ नागरिक तथा अपाङ्गता भएकाहरुको आधारभूत स्वास्थ्य सेवा घरमै पुगेर दिने, विपन्नलाई स्वास्थ्य बिमामा अनुदान दिने, गर्भवती महिलालाई झुल दिने पनि तिलोत्तमाको नीति तथा कार्यक्रममा समेटिएको छ ।
बस खरिदको लागि कम्तीमा ५ वटा सामुदायिक विद्यालयलाई प्रति विद्यालय १० लाख विशेष अनुदान दिने, सोह्र–छत्तीस मूल नहरको सम्भाव्य स्थलमा बहुउपयोगी जलाशय निर्माण गरी माछापालन गर्ने, नगरका सम्भाव्य स्थानमा जलाशय निर्माण गरी पानी रिचार्ज हुने व्यवस्था मिलाउने पनि नीति तथा कार्यक्रममा उल्लेख छ ।
प्रतिक्रिया 4