Comments Add Comment

पोखरा महानगरको योजना : सिंगो नगर नै फूलबारी !

२३ जेठ, पोखरा । करिब १ वर्ष अघिसम्म पोखरा महानगर ३, ४ र ९ नम्बर वडाको सीमाना पर्ने पालिखे चोकको बीचमै घर थियो । जसका कारण हरसमय त्यहाँ ट्राफिक जामको समस्या हुन्थ्यो ।

पछि महानगरले त्यहाँ भएका ४ घरलाई भत्काउँदै बाटो फराकिलो बनायो । बाटो फराकिलो बनाउनुका साथै त्यहाँ पार्क बनाउनेसमेत योजना बुनेको थियो । तर, लामो समयसम्म त्यो काम हुन सकेन । पालिखे चोकमा डिभाइडर बनाउन सीता कन्स्ट्रक्सनलाई ४१ लाख रुपैयाँमा ठेक्का दिएको थियो ।

सडक फराकिलो त भयो । तर, महानगरको योजनाअनुरुप त्यहाँ हरित पार्क भने बनेन । २ दिनअघिमात्रै महानगरले त्यहाँ बनेको डिभाइडरमा हतारहतार फूल तथा दुबो रोपेको थियो । कारण थियो, वातावरण दिवस । डिभाइडरको बीचमा फूल तथा दूबो रोप्न महानगरले करिब ६३ हजार रुपैयाँ खर्च गरेको छ ।

महानगरलाई ‘फूलबारी’ बनाउने अभियानको सुरुआत शुक्रबार त्यही पालिखे चोकबाट उद्घाटन गरेको छ । कार्यक्रममा पालिखे चोक फराकिलो बनाउन जग्गा तथा घर सहयोग गरेका धनीलाई प्रदेश मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ तथा पोखरा महानगर मेयर मानबहादुर जिसीले सम्मान गरे ।

कार्यक्रममा पोखराका मेयर मानबहादुर जिसीले समग्र पोखरालाई नै फुलबारी बनाउने गरी योजना अघि सारेको जानकारी दिएका छन् । उनले पोखरालाई चिनाउन अब फूलबारीको सहर बनाउने बताएका गरेका छन् ।

‘पोखरालाई प्रदुषणमुक्त बनाउन संरक्षण र वृक्षरोपण कार्यक्रमलाई जोड दिनेछौं । पोखरासँग जोडिएका गाउँपालिका केन्द्र जोड्ने सडकका दायाँबायाँ वृक्षारोपण गर्ने छौं,’ उनले भने, ‘महानगरमै पनि अब प्रत्येक घरमा कम्तीमा ४ फिट अग्ला विरुवा र कौंशीमा पनि फलफूल हरित बगैंचा बनाउने नीति लिएका छौं ।’

मेयर जिसीले पालिखे चोकबाट अभियान पार्कमात्रै नभई ऐतिहासिकता पनि जोडिएको बताए । ‘यो पार्कमात्रै होइन, यहाँ ऐतिहासिकता पनि जोडिएको छ । सानो ठाउँ हो । तर, इतिहास बोकेको ठाउँ हो,’ उनले भने, ‘पालिखेचोकलाई चक्लाबन्दी गर्नै १ वर्षभन्दा बढी लाग्यो ।’

महानगरले जनसहभागिता, प्रदेश तथा संघीय सरकारहरुसँग समन्वय गरी वन वनस्पति, ताल तलैया, खोला, नदीनाला, जलाधार व्यवस्थापन गर्नेसमेत लक्ष्य लिएको छ । ‘जैविक विविधता संरक्षण एंव सम्वर्द्धन गरी पर्यापर्यटनको विस्तार र वातावरणीय सन्तुलनसहितको दिगो विकास गर्ने नीति अवलम्बन गरिनेछ,’ मेयर जिसीले भने ।

महानगरभित्र रहेका ९ वटा तालको संरक्षण तथा प्रर्वद्धन गर्न आफूहरु लागिपरेको मेयर जिसीले बताएका छन् । ‘महानगरमा भएका कोमागाने पार्क, पुष्पलाल पार्क, बसुन्धरा पार्क, मदन आश्रित पार्क, यशोधरा पार्क, राष्ट्रिय विभूति तथा शहीद पार्क आदिलाई संरक्षण र प्रवद्र्धन गर्दै लैजानेछौं,’ उनले भने ।

ठूलाकोट, रानीवनलाई जैविक विविधता संरक्षणका केन्द्र बनाई प्राकृतिक चिडियाखाना बनाउनेसमेत मेयर जिसीले जानकारी दिएका छन् । उनले पञ्चासे लेकलाई ‘सुनगाभा संरक्षण क्षेत्र’का रुपमा घोषणा गर्ने तयारी रहेको सुनाए ।

गण्डकी प्रदेश मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले समेत पोखरालाई पार्कको सहरका रुपमा विकास गर्नुपर्ने बताए । ‘पोखरा पर्यटनको राजधानी पनि हो । अब यसलाई पार्कको सहरका रुपमा पनि अगाडि लैजानुपर्छ,’ उनले भने । उनले व्यवस्थित जग्गा उपलब्ध भएमा ‘नेशनल पार्क’ बनाउने योजना रहेको सुनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment