Comments Add Comment

सुकिला–मुकिला बच्चामा रोगको खतरा ?

हामीलाई लाग्छ बालबच्चालाई हिलो-मैलोबाट अलग राखेमा उनीहरू स्वस्थ एवं निरोगी हुन्छन् । त्यही कारण उनीहरूलाई माटोमा खेल्न, पानीमा भिज्न, हिलोमा लडीबुडी गर्न छुट दिदैनौं । फोहोर–मैलाको सम्पर्कमा जान दिदैनौं । सफासुग्घर वा सुकिलो मुकिलो राखेपछि उनीहरू निरोगी हुन्छन् भन्ने लाग्छ ।

तर उदेग लाग्दो कुरा के छ भने यसरी घरभित्र सुकिला मुकिला बनाएर राखिएका बालबच्चामा रोगको खतरा बढी हुन्छ । उनीहरूलाई सानोतिनो रोगले समेत सहजै गाँज्न सक्छ । उनीहरूको रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ । यसैको नतिजा हो अहिले धनाड्य वर्गका बालबच्चाहरूमा रक्त क्यान्सर बढी देखिएको । फोहोरमैला वा धुलो माटोबाट अलग गरी सुकिलोमुकिलो बनाएर हुर्काइएको बच्चाहरूमा यस्तो रोगको जोखिम देखिएको हो ।

पछिल्लो अध्ययनले भन्छ, ‘जीवाणुमुक्त जीवनशैली’को कारण बच्चाहरूमा केही प्रकारको क्यान्सरको खतरा छ । किन यस्तो हुन्छ त ?

जीवाणुको प्रकार

सामान्यत: जीवाणु भन्नासाथ रोग निम्त्याउने कारक मानिन्छ । तर मानिसको स्वास्थ्यमा भने दुई किसिमको जीवाणु पाउन सकिन्छ । एक, खराब जीवाणु जसले शरीरमा अनेक किसिमको संक्रमण निम्त्याउँछ। अर्को चाहिँ ‘असल जीवाणु’ जसले प्रत्यक्ष रुपमा शरीरलाई स्वस्थ राख्न मद्दत गर्छ ।

जीवाणुसँग लडेर प्रतिरक्षा प्रणाली बलियो

हाम्रो शरीरमा यस्तो प्रणाली हुन्छ । जसले रोगसँग लडेर हामीलाई सुरक्षित राख्न मद्दत गर्छ। अर्थात् हाम्रो प्रतिरक्षा प्रणालीले शरीरलाई रोग लाग्नबाट सुरक्षा प्रदान गर्छ।

अतः प्रतिरक्षा प्रणाली बलियो हुनुमा राम्रो जीवाणु मात्र होइन, खराब जीवाणुको उपस्थिति पनि अहं मानिन्छ । खाने, खेल्ने, हिँड्ने, काम गर्ने आदि क्रममा हामी खराब जीवाणुको सम्पर्कमा पुग्छौं । थरीथरीका यस्ता जीवाणुसँग जति धेरै जुध्न, लड्न पाउँछ, हाम्रो शरीरको प्रतिरक्षा प्रणाली उत्तिनै बलियो हुँदै जान्छ।

जब हामीले बच्चालाई सुकिलो मुकिलो राख्छौं, उनीहरुको शरीर खराब जीवाणुको सम्पर्कमा पुग्दैन । त्यही कारण उनीहरूको प्रतिरक्षा प्रणालीमा जीवाणुसँग लड्ने क्षमता विकास हुन पाउँदैन ।

के भन्छ शोध ?

शोधका अनुसार आधुनिक एवं उच्च वर्गमा ब्लड क्यान्सर बढी पाइएको छ । यसको कारण यो हुन सक्छ कि, आधुनिक जीवनशैली यो रोगको कारण हो । अनुसन्धानकर्ताका अनुसार जन्मिएको पहिलो वर्ष यदि शिशु ‘असल जीवाणु’ र केही ‘खराब जीवाणु’को सम्पर्कमा रहन पाएन भने उनीहरूको प्रतिरक्षा प्रणाली यस किसिमको भाइरससँग लड्नका लागि सक्षम हुँदैन । यही कारण जब अचानक बच्चा कुनै जीवाणुको सम्पर्कमा आउँछन्, जब उनीहरूको प्रतिरक्षा प्रणाली फेल हुन्छ र केही समस्या देखापर्न थाल्छ

ल्युकीमियाको खतरा

प्रतिरक्षा प्रणाली कमजोर भएपछि जुन क्यान्सरको सबैभन्दा बढी खतरा हुन्छ, त्यो हो ल्युकीमिया । यो रगतसँग जोडिएको एक क्यान्सर हो, जो कमजोर प्रतिरक्षा प्रणाली भएका बच्चामा कुनै किसिमको संक्रमणले फैलन सक्छ । यसको सबैभन्दा खतरा २० बर्षभन्दा कम उमेरको बच्चामा हुन्छ । अहिले धेरैजसो ल्युकिमियाको कारण बच्चाहरुको मृत्यु दर बढेको छ ।

ध्यान राख्नैपर्ने कुरा

यो अध्ययनबाट के थाहा भएको छ भने, बालबच्चालाई धेरै सरसफाई राख्ने चक्करमा उनीहरूको प्रतिरक्षा प्रणाली नै कमजोर हुनपुग्छ । किनभने उनीहरूको प्रतिरक्षा प्रणालीले ब्याक्टेरियासँग लड्ने क्षमता गुमाउँछ । यसो भन्दैमा बच्चालाई फोहोर,मैलामा राख्नुपर्छ भन्ने होइन । यद्यपि बच्चालाई धेरै कृत्रिम रुपमा हुर्काउने, माटो, पानी, झार, जंगलको सम्पर्कमा जानै नदिने गर्नुहुँदैन । उनीहरूलाई सकेसम्म प्राकृतिक रुपले हुर्कने वातावरण मिलाउनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment