Comments Add Comment

होटेल क्वारेन्टिनको नयाँ मूल्य, प्रतिदिन न्युनतम दुई हजार शुल्क

२५ जेठ, काठमाडौं । विदेशबाट फर्केर होटेलमा क्वारेन्टिनमा बस्नेका लागि नयाँ मूल्य कायम भएको छ । अब प्रतिव्यक्ति न्युनतम दुई हजारदेखि अधिकतम ५५ सय रुपैयाँसम्ममा होटेल उपलब्ध हुने भएको छ ।

अधिकतम मूल्य चारतारे र न्युनतम मूल्य पर्यटकीय स्तरका होटेलमा निर्धारित हो । किनकी अहिलेसम्म चार तारे होटेलहरु क्वारेन्टिन बनाउन तयार भएका छन् ।

न्युनतम मूल्यसमेत एउटा कोठामा दुई जना बस्न तयार भएको अवस्थामा मात्र हो । एउटा कोठामा एक्लै बस्न चाहने पाहुनाले भने न्यूनतम तीन हजार रुपैयाँदेखि अधिकतम ८ हजार रुपैयाँसम्म तिर्नुपर्नेछ ।

अर्थातः चार तारे होटेलको कोठामा एक्लै बस्न चाहने हो भने प्रतिदिन ८ हजार रुपैयाँ भुक्तान गर्नुपर्ने छ ।

यसअघि होटेल व्यवसायीले न्यूनतम २५ सय देखि अधिकतम १० हजार रुपैयाँसम्मको दररेट कायम गरी सरकारलाई बुझाएका थिए ।

पछिल्लो पटक यो मूल्यमा व्यवसायी केही घटाउन तयार भएपछि होटेलहरुको सूचि सार्वजनिक गरिएको हो । अहिले ठूला र स्तरीय होटेल समेत क्वारेन्टिन बनाउन तयार देखिएका छन् ।

दर्जनौं प्रतिष्ठानमा क्वारेन्टिन

आइतबार साँझसम्म आफ्नो होटेललाई क्वारेन्टिनका रुपमा प्रयोग गर्न काठमाडौंमा मात्र ५५ वटा होटेल तयार भएका छन् । यसमा स्तरीय रिसोर्ट र चारतारे स्तरका होटेलहरुसमेत रहेका छन् ।

होटेल संघ नेपाल (हान)का अनुसार चारे तारे होेटेल ग्राण्डदेखि बुढानिलकण्ठको पार्क भिलेज रिसोर्टसम्म क्वारेन्टिनमा दिन तयार भएका छन् ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले शनिबार सार्वजनिक गरेको विवरणमा देशभर ४७ वटा होटेललाई क्वारेन्टिनका रुपमा तय गरिएको छ ।

यसमा तीन वटा चारतारे, ९ वटा तीन तारे, २ वटा दुई तारे, ५ वटा एक तारे र बाँकि होटेल पर्यटक स्तरीय रहेका थिए ।

सरकारले विदेशमा अडि्कएका नेपाली नागरिकको उद्दार थालेको छ । यसक्रममा नेपाल आइसकेपछि आफ्नै खर्चमा क्वारेन्टिनमा बस्न चाहनेका लागि होटेलको व्यवस्थापन गरिएको हो ।

आफैं खर्च गर्न मुस्किल हुनेहरुका लागि भने सम्बन्धित स्थानीय तहमा सरकारले निर्माण गरेको सामुहिक क्वारेन्टिनमा राखिँदैछ ।

होटेलले बिहान खाजा-खाना, दिउँखो खाजा र साँझ खाना गरी दैनिक चार पटक खानाको व्यवस्था गर्नेछन् । अन्य सेवा सुविधासमेत होटेलको मापदण्ड सरह हुने होटेल संघ नेपाल (हान)को भनाई रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment