Comments Add Comment

रङ्गीबिरङ्गी लुङदरभित्र लुकेको रहस्य

स्तुपा, गुम्बा वा बौद्धमार्गीको घर–आँगनमा रंगीचंगी झन्डा फहराइरहेको देखिन्छ । यो रंगीन आयतकार कपडाबाट तयार गरिन्छ, जो हिमालय एवं उच्च पहाडी भेगमा समेत सजाइएको पाइन्छ ।  झन्डामा ‘ओम मणि पद्य्मे हुँ’ लगायत बौद्ध धर्मका मन्त्रहरु अंकित हुन्छन् । मूलत यो पाँच रंगको हुने गर्छ । यी सबै रंगले भिन्न भिन्नै अर्थ बोकेको हुन्छ ।

अहिले यस्ता झन्डा फेसनको रुपमा पनि छाएको छ । घरको ढोकामा, गाडीमा, मोटरसाइकलमा समेत यस्ता झन्डा सजाउन थालिएको छ । झट्ट हेर्दा निकै आकर्षक लाग्ने लुङदरको खास महत्व के छ ? किन गुम्बा, बौद्ध स्तुपा आदिमा यो फहराइन्छ ?

खासमा यो झन्डासँग धार्मिक आस्था जोडिएको छ । बौद्धमार्गीहरुले यस झन्डालाई शुभ प्रतिकको रुपमा लिन्छन् ।

हरेक रंगको अर्थ

लुङदरमा प्रयोग हुने रातो, हरियो, सेतो, पहेंलो र निलो रंगले केही न केही अर्थ दिन्छ । यसमा हरियो रंग पानी, रातो रंग आगो, सेतो र निलो रंग हावा र पहेंलो रंग धर्तीको प्रतिक हो । साथै यसले चारै दिशालाई पनि दर्शाउँछ । त्यसैगरी पञ्चबुद्धको प्रतिकको रुपमा समेत मानिन्छ । नीलोले अक्ष्ेभ्य बुद्ध, पहेंलोले रत्न संभव बुद्ध, रातोले अमिताभ बुद्ध, हरियोले अमोघ सिद्ध बुद्ध, सेतोले बेरोचना बुद्धको संकेत गर्छ ।

जमिनमा राख्न हुन्न

लुङदर एक पवित्र झन्डा हो । यसलाई जमिनमा राख्नुलाई अशुभ मानिन्छ । त्यसैले लुङदरलाई अग्ला स्थानमा राखिन्छ ।

फहराएको शुभ

अक्सर लुङदर हावामा फहराइरहेको देखिन्छ । खासमा लुङदर यसरी हावामा फहराएकै शुभ मानिन्छ । धार्मिक विश्वास के छ भने यसरी हावामा निरन्तर फहराउँदा त्यसबाट एक किसिमको तरंग पैदा हुन्छ । सोही तरंगमार्फत हाम्रो प्रार्थना भगवान समक्ष पुग्छ ।

ओम मणि पद्मे हुँ

झन्डामा अंकित यो मन्त्र करुणा, नैतिकता, धैर्य, परिश्रम, त्याग र ज्ञान जस्तो मूल्यको एक संयोजन हो । के मानिन्छ भने यो मन्त्र जप गर्दा आफुभित्रको ईष्या, अज्ञानता, लोभ, आक्रोस, वासना आदि क्रमस हट्दै जान्छ । अर्थात मनोविकार हटेर मन शुद्ध हुन्छ ।

उपहारको रुपमा पाउनु शुभ

लुङदर उपहारको रुपमा आदनप्रदान गर्नु पनि शुभ मानिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment