
२७ जेठ, काठमाडौं । नेपाल भलिबल संघ (एनभीए)ले नेपाल चिकित्सक संघलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । कोरोना भाइरस (कोभिड १९) महामारीविरुद्ध फ्रन्टलाइनमा खटिरहेका स्वास्थ्यकर्मीका लागि एनभीएले मास्कसहितका स्वास्थ्य सामग्री मंगलबार चिकित्सक संघलाई हस्तान्तरण गरेको हो ।
चिकित्सक संघको कार्यालय प्रदर्शनी मागर्ममा आयोजित कार्यक्रममा एनभीए अध्यक्ष मनोरञ्जन रमण शर्मा र राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव रमेशकुमार सिलवालले चिकित्सक संघका अध्यक्ष लोचन कार्कीलाई हस्तान्तरण गरेका हुन् ।
एनभीएले एन ९५ मास्क १ हजार थान प्रदान गरेको छ । भलिबल संघले प्रदान गरेका मास्क प्रदेश २ का जिल्लाहरुमा पठाइदिन आग्रह गरेको एनभीएले जनाएको छ ।
यसैगरी सोही कार्यक्रममा पुल्चोक इन्जिनियरिङ एल्मुनाई एशोसिएसनले पनि चिकित्सक संघलाई ५ सय थान एन ९५ मास्क हस्तान्तरण गरेको छ ।
चिकित्सक संघका अध्यक्ष कार्कीले सहयोगका लागि भलिबल संघ र पुल्चोक एल्मुनाइलाई धन्यवाद दिए । साथै उनले आगामी दिनमा खेलकुदका क्षेत्रमा आफूहरु मिलेर काम गर्न तयार रहेको बताए ।
राखेप सदस्य सचिव सिलवालले राष्ट्रिय खेल भलिबलले गरेको सहयोगले सकारात्मक सन्देश जाने बताए । यस्तै एनभीएका अध्यक्ष मनोरञ्जन रमण शर्माले सबैको साथ र सहयोगले मात्रै यो महामारीबाट छुटकारा पाउन सकिने भन्दै आगामी दिनमा पनि सहयोग गर्न एनभीए तयार रहेको बताए ।
प्रतिक्रिया 4