+
+
Shares

प्रहरीले आज पनि पसल खोल्न दिएन, व्यापारी भन्छन्– सरकारलाई तालाचाबी बुझाउँछौं

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ २८ गते ८:१६

२८ जेठ, काठमाडौं । न्युरोड क्षेत्रका व्यापारीहरूलाई पसल खोल्न बुधबार पनि प्रहरीले रोक लगाएको छ । तीन दिनदेखि खुल्ला हुँदै आएका न्युरोड क्षेत्रका पसलहरू मंगलबार प्रहरीले एक्कासी बन्द गराएको थियो ।

तर व्यापारीहरूले बुधबार पनि पसल खोल्ने घोषणा गरेका थिए । सो घोषणाअनुसार बिहानै पसल खोल्न गएका व्यापारीलाई प्रहरीले रोकेका छन् । बुधबार बिहान अघिल्लो दिनजस्तो प्रहरी र व्यापारीबीच घम्साघम्सी भने भएन ।

नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालले लकडाउन खुकुलो बनाउनेबारे बुधबार सरकारले केही पनि निर्णय नगरेमा आन्दोलन चर्काउने चेतावनी दिए । ‘हामी आज बाटो हेर्छौं, आज केही निर्णय भएन भने भोलि सयौं व्यापारीहरू सडकमा निस्किन्छौं,’ कटुवालले भने ।

उनले व्यवसाय सञ्चालन गर्न नसक्ने अवस्थामा पुगेको भन्दै अब सरकारलाई ताला चाबी बुझाउने बताए । ‘लकडाउनको कुनै मोडालिटी पनि चेन्ज नगर्ने र व्यवसायीलाई राहत प्याकेज पनि घोषणा नगर्ने सरकारले हाम्रो सम्पूर्ण जिम्मा लेओस्,’ अध्यक्ष कटुवालले भने ।

यसअघि लकडाउनको मिति थपिँदै गर्दा सरकारले कुनै विकल्प नदिएको बताउँदै व्यापारीहरूले २२ जेठको बिहानदेखि पसल खोल्न सुरु गरेका थिए । सो दिनपछि सबै पसलहरू ११ बजेसम्म खुला थिए ।

तर मंगलबार एक्कासी प्रहरीले पसल बन्द गराउँदै हिँडेपछि व्यापारी रुष्ट भएका छन् ।

प्रहरी अधिकृतहरूले भने सरकार कुनै नयाँ निर्देशन नदिएकाले लकडाउनमा कडाइ गरिएको बताएका छन् । उपत्यका प्रहरी प्रमुख डीआईजी विश्वराज पोखरेलले अनलाइनखबरसँग भने, ‘हामीले सरकारको आदेश कार्यान्वयन गर्ने हो, पसल सञ्चालन गर्न दिने भन्ने मोडालिटी छैन ।’

यसैबीच बुधबार लकडाउनको मोडालिटीलगायतका विषयमा छलफल गर्न मन्त्रिपरिषद् बैठक बस्दै छ ।

तस्वीरहरू : शंकर गिरी/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?