Comments Add Comment

कसैले जस पाउला भनेर चिन्ता गर्नु पर्दैन : प्रधानमन्त्री

२८ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियताको मुद्दामा संसदमा राष्ट्रिय एकता देखिएको भन्दै खुसी व्यक्त गरेका छन् ।

लिम्पियाधुरासहित महाकाली पूर्वका भूभागलाई समेटेर जारी गरिएको नयाँ नक्साअनुसार निशान छाप परिवर्तन गर्न सरकारले ल्याएको संविधान संशोधन प्रस्तावलाई विचार गरियोस् भन्ने प्रस्ताव मंगलबार संसदले सर्वसम्मत पास गरेको थियो । संसदभित्र र बाहिर देखिएको राष्ट्रिय एकताप्रति आफूलाई गर्व लागेको उनले बताए ।

बुधबार संसदमा विनियोजन बजेटमाथि उठेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले भौगोलिक अखण्डता र आफ्नो भूमिमा हक स्थापित गर्ने साझा प्रयास भएको बताए । ‘पूर्खाले यो देश लडेर बनाएका हुन्, बचाएका हुन् । आज हामी अडे मात्र हाम्रो भौगोलिक अखण्डता स्थापित गनर्ज सक्छौं,’ उनले भने, ‘अड्ने कुरामा राष्ट्र एक देखिएको छ र संसदले जनभावना मुखरित गरेको छ ।’

उनले अघि भने, ‘यो कसले जस लिने ? कसको देवत्वकरण गर्ने भन्ने विषय होइन । सिंगो नेपालीको साझा भावनाको प्रकटीकरण हो । यसमा हामीले लामो समयदेखि उठाएका छौं । जनस्तरबाट उठेको छ । आफ्नै स्वेच्छाले खोज गरेका छन् । तथ्यहरु स्थापित गरेका छन् र, यसमा कसैले पाउला कि भन्ने चिन्ता गर्नु पर्दैन । कोही जसबाट छुट्ला कि भन्नु पर्दैन । यो हाम्रो संसदको सर्वसम्मतको निर्णय हुन्छ । सर्वसम्मत गरेपछि सबैका भोट, सबैका भावना एकै ठाउँमा समहित छ भन्ने प्रष्ट हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment