Comments Add Comment

खेतीपातीमा मग्न गायक अमृत गुरुङ

मानो खाएर मुरी उब्जाउने बेला । मनसुन सुरु भएसँगै खेत जोत्ने, आली लगाउने, धान रोप्ने काम सुरु हुने नै छ । तर लकडाउनले गर्दा खेती किसानी गर्नेहरू पनि अलमलमा छन् । एकातिर मल र बिउको अभाव, अर्कोतिर कोरोनाको भय।

यस्तै, अन्यौल र अप्ठ्याराकाबीच गायक अमृत गुरुङ भने आफ्नो पुर्ख्यौली खेतीपातीमा मग्न देखिन्छन् । लोकप्रिय सांगीतिक समूह ‘नेपथ्य’का यी सारथी हाप पाइन्छ, टिसर्ट र ह्याट पहिरिएर कहिले साना कान्लामा मकै गोडमेल गरिरहेका देखिन्छन् त कहिले गाईवस्तुको गोठमा जंगली साग केलाइरहेका छन् । लकडाउन भएयता उनले खेतीकिसानीमा रमाइरहेका तस्वीर सामाजिक सञ्जालमा पोस्ट गर्दै आएका छन्।

गायक गुरुङले भर्खरै मात्र खेतमा मनमग्न भएर धान रोपिरहेका तस्वीर सार्वजनिक गरेका छन् । उनी लेख्छन्, ‘आज दिनभर ‘परेली’सँगै लागेर खेतीमा खटियो । बेस्सरी रमाइलो भयो । अब बाँकी खेती असार १५ लाई । खुसीको कुरा, हाम्रोमा परेली लगाउने चलन अझै छ । गाउँमा सबैको खेतमा गाउँकै सामूहिक-सामुदायिक श्रम आदन-प्रदानबाट पहिलेदेखि गाउँको खेती थालिएको थियो । हामी त्यसलाई निरन्तरता दिने प्रयासमा छौं ।’

देश-विदेशका नेपालीमाझ उनको जुन प्रतिष्ठा छ, त्यो अग्लाइ आफैँमा प्रशंसनीय छ । साथसाथै हरेक गीतमा हृदयको कम्पन पैदा गर्ने सामर्थ्य उनीसँग छ । जबकि त्यो चर्चा, लोकप्रियता एवं ख्यातीबाट उनी कति पनि मात्तिएका देखिँदैनन् । त्यसो नहुँदो हो त यति सामान्य ग्रामीण जीवनमा उनले आफूलाई कसरी रुपान्तरण गर्न सक्थे ?

अति सामान्य ग्रामीण परिवेश आफूलाई समेटिरहेका गायक गुरुङमा पुर्ख्यौली ज्ञान, सिप र दक्षता पनि उत्तिकै रहेछ। त्यसैले त उनी किराफट्याङ्ग्राको गतिविधिबाट प्रकृतिमा हुने परिवर्तनको संकेतबारे भेउ पाउन सक्छन् । खेतीबाली र मौसमको तालमेलबारे अन्दाज लगाउन सक्छन् । एकातिर लोभलाग्दो ख्याती, अर्कोतिर ग्रामीण जीवन-यापन । यी दुईको सुमधुर सन्तुलन नै उनको जीवनको अनुकरणीय पक्ष हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment