Comments Add Comment

मोडालिटी परिवर्तनको निर्णय स्वागतयोग्यः उद्योगी

२९ जेठ, काठमाडौं । कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि लामो समय लकडाउन हुँदा उद्योग व्यवसायमा ठूलो क्षति भएको र सरकारले असार १ गतेदेखि सञ्चालन गर्न दिने निर्णय गरेपछि उद्योगी व्यवसायीहरूले सरकारको निर्णयको स्वागत गरेका छन् ।

उद्योगी व्यवसायीहरूले आफूहरूले दुई सातायता लकडाउनको मोडालिटी परिवर्तन गरी व्यवसाय सञ्चालन गर्न दिनुपर्ने माग गर्दै आएको अवस्थामा सरकारले चरणबद्ध रुपमा आर्थिक क्रियाकलापलाई सञ्चालन गर्ने निर्णय गर्नु सकारात्मक भएको बताएका छन् ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले आर्थिक गतिविधिलाई चलायमान गर्न गरेको पछिल्लो निर्णय सकारात्मक भएको बताएका छन् ।

उनले भने ‘आइतबारदेखि लकडाउन खुकुलो गर्ने भन्ने थियो तर हिजो क्याबिनेट बसेर हामीले सबै न्युजहरूमा सुन्नपायौं कि अब सबै व्यवसाय पनि चल्ने, जोर बिजोर गरी गाडी पनि चल्ने र समय पनि ११ देखि साढे पाँच बजेसम्म यी व्यवसायहरू सञ्चालन हुने भन्ने सुनेका थियौं । तर सबै ९ बजेसम्मै गरिदिएकोले यसमा हामी खुसी छौं । साथै, सरकारलाई आर्थिक गतिविधि चलायमान बनाउन लकडाउन खुकुलो बनाएकोमा प्रशंसा गर्दै धन्यवाद पनि ज्ञापन गर्न चाहन्छौं ।’

अध्यक्ष श्रेष्ठले उद्योग व्यवसाय सञ्चालन गर्न दिएपछि स्वास्थ्य सुरक्षाको सावधानी अपनाउने सम्बन्धमा सरकारले अनुगमन गरी सबैलाई सचेत गराउनुपर्ने बताए ।

उनले सरकारले अर्थतन्त्र चलायमान बनाउन निर्णय गरे जसरी नै उद्योगी व्यवसायीलाई कर, बैङ्कको ब्याजदर, सहुलियतपूर्ण कर्जालगायतका विषयमा समेत अझबढी सहयोगी प्याकेज ल्याउने विश्वास व्यक्त गरे।

उनले नेपाल राष्ट्र बैङ्कले ल्याउने मौद्रिक नीतिबाट उद्योगी व्यवसायीका समस्या सम्बोधन हुनेमा आफू विश्वस्त रहेको बताए ।

नेपाल उद्योग परिसंघका अध्यक्ष सतिश मोरले कोभिड १९ संक्रमणको रोकथामका लागि रेड जोन, यल्लो जोन र ग्रिन जोन निर्धारण गरी सबै उद्योग व्यवसाय सञ्चालन गर्न दिनुपर्ने बताए ।

उनले सरकारले पछिल्लो पटक गरेको निर्णय उद्योगी व्यवसायीको हितमा रहेको बताए । उनले भने ‘इकोनोमीलाई विभिन्न जोनहरू बनाएर हुन्छ कि रेडजोन, ग्रिन जोन, यल्लोजोन ओरेन्ज जोन जस्तो बनाएर हुन्छ, जहाँजहाँ कम समस्या छ त्यहाँ खुकुलो नगरी  सुखै छैन । यसबारेमा हामीले विगतमा बनेका धेरै कमिटी, उच्चस्तरीय समन्वय समितिमा पनि हामीले कुरा राखेका थियौं ।’

त्यसको फलस्वरुप नै हिजो बेलुका क्याबिनेटले निर्णय गरेर केही खुकुलो गरेको छ । अझ पनि यसलाई पहिलो, दोस्रो र तेस्रो गरी तीनवटा चरणमा कार्यान्वयनमा ल्याउने भन्ने सुनेका छौं । अब त्यसमा जोर बिजोरको कुरा, पसलहरू खोल्ने कुरा आइसकेको छ । यो एकातर्फ समय सान्दर्भिक कुरा हो र नेपाल उद्योग परिसंघले यसलाई धेरै सकारात्मक रुपले लिएको छ ।’

लकडाउन खुलेको एक साताभित्र सबै उद्योगी व्यवसायीले सुरक्षाका सबै सावधानी अपनाई पूर्णरुपमा व्यवसाय सञ्चालन गर्न सक्ने बताए । उनले विश्व स्वास्थ्य संगठन र नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तय गरेको स्वास्थ्य प्रोटोकल अपनाएर सबै क्षेत्रलाई सञ्चालन गर्नुपर्ने बताए । उनले अर्थतन्त्र जोगाउनका लागि यातायात, होटल तथा आन्तरिक उडान पनि सञ्चालनमा ल्याउनेतर्फ सरकारको ध्यान जानुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment