Comments Add Comment

अब उद्योग, व्यवसाय सञ्चालन गर्न यस्तो छ मापदण्ड

३० जेठ, काठमाडौं । सरकारले ७९ दिन लामो लकडाउन बिहीबारदेखि केही खकुलो बनाएको छ । मानवीय गतिविधिसहित केही निश्चित आर्थिक क्रियाकलाप २१ दिनका लागि खुल्ला गरिएको सरकारका प्रवक्ता डा.युवराज खतिवडाले बिहीबार जानकारी दिएका थिए । तर यसमा निश्चित शर्तहरू लागु हुन्छन् ।

सरकारको निर्णयानुसार स्वास्थ्य मन्त्रालयले तोकेको कोभिड १९ सुरक्षा मापदण्ड पूरा गरेर उद्योग, व्यवसाय, डिमार्टमेन्टल स्टोर, मार्ट तथा अन्य पसलहरू, सरकारी तथा वित्तीय कार्यालय एवं रेस्टुरेन्टहरू सञ्चालन हुन पाउँछन् ।

सरकारको सोही निर्णयानुसार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले रेस्टुरेन्ट, डिमार्टमेन्टल स्टोर, मार्ट तथा अन्य पसलहरू र उद्योगधन्दा सञ्चालन गर्न निश्चित मापदण्ड (प्रोटोकल) बनाएको छ । जुन सेवा सुरु गर्दा अनिवार्य गरिनुपर्छ ।

पसलमा के गर्ने ?

डिमार्टमेन्टल स्टोर, मार्ट तथा पसलहरू स्थानीय सरकारको समन्वयमा निश्चित समय खुल्ने छ। खुल्ला भएका यस्ता सेवा दिने व्यवसायमा संलग्न श्रमिक तथा कर्मचारीहरूले अनिवार्य रुपमा पञ्जा र मास्कको प्रयोग गर्नुपर्छ । यस्तै, कार्यस्थल प्रवेश गर्नुपूर्व सबै श्रमिक तथा कर्मचारीको तापक्रम जाँच्ने, साबुन पानीले हात धुन लगाउने गर्नुपर्छ ।

कर्मचारी तथा श्रमिकको लागि खाजाको व्यवस्था कार्यस्थलमै गरिनुपर्छ । ग्राहक आफैँले छानीछानी सामान खरिद गर्ने भएमा अनिवार्य रुपमा स्यानिजटाइजर प्रयोग गर्न लगाउनुपर्छ।

यस्तै, ग्राहकहरूबीच भौतिक दुरी कायम गर्न कम्तीमा एक मिटरको दुरी कायम गराउने, यसका लागि संकेत वा आवश्यक गोलो घेरा लगाउने काम गर्नुपर्छ । यस्तै, ग्राहक र कर्मचारी तथा व्यवसाय सञ्चालकले विद्युतीय माध्यमबाट हुने भुक्तानीलाई प्रोत्साहन गर्नुपर्छ ।

उद्योगमा सतर्कता 

सरकारको निर्णयपछि सञ्चालनमा आएका उद्योगहरूले श्रमिक तथा कर्मचारीलाई उनीहरूको बासस्थानदेखि उद्योग वा कार्यस्थलसम्म ल्याउने र लैजाने व्यवस्था गर्नुपर्छ । यसकालागि आवश्यक सवारी साधनको व्यवस्था उद्योगले नै गर्नुपर्नेछ भने साधनको क्षमताको आधा मात्रै यात्रु बोक्नुपर्छ ।

आवश्यकताअनुसार उद्योगभित्र भौतिक दुरी कायम गर्नेगरी कर्मचारीलाई काममा लगाउने र आवश्यकताअनुसार सिफ्टमा उद्योगहरू सञ्चालन गर्नुपर्छ । यस्तै, प्रत्येक सिफ्ट सुरु हुनुअघि कार्यस्थललाई अनिवार्य डिसइन्फेक्सन गर्नुपर्छ।

श्रमिक तथा कर्मचारीहरूले अनिवार्य रुपमा पञ्जा र मास्कको प्रयोग गर्ने, कार्यस्थल प्रवेश गर्नुपूर्व सबै श्रमिक तथा कर्मचारीको तापक्रम जाँच्ने, साबुन पानीले हात धुन लगाउने गर्नुपर्छ ।

रेस्टुरेन्टको मापदण्ड

सरकारले खुकुलो बनाइएको लकडाउन अवधिमा सुरक्षाको उपय अपनाएर होम डेलिभरी सेवा दिनेगरी रेस्टुरेन्ट खोल्ने दिने निर्णय गरेको छ । जसअनुसार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले तयार गरेको प्रोटकलअनुसार यस्तो व्यवसाय निश्चित समय अवधिमा मात्रै खोल्न पाइने छ।

रेस्टुरेन्टमा काम गर्ने कर्मचारी तथा श्रमिकलाई सरसफाइको प्रोटोकलको पालना अनिवार्य गरिएको छ । सबै कर्मचारीको कार्यालय आउने समयमा तापक्रम नाप्नेदेखि साबुन पानीले हात धुने तथा मास्क र स्यानिटाइजरको प्रयोग अनिवार्य गर्नुपर्छ ।

रेस्टुरेन्ट तथा खाजा घरको शौचालय नियमित सफाइ गर्ने तथा अन्य टेबल कुर्सी पनि कम्तीमा दिनमा तीन पटक डिसइन्फेक्सन गर्नुपर्छ ।

सबै टेबलमा स्यानिटाइजरको व्यवस्था गर्नुपर्छ भने ग्राहकहरूको दुरी कम्तीमा एक मिटरको हुनुपर्छ । कारोबारलाई विद्युतीय भुक्तानी अनिवार्य गर्नुपर्ने प्रोटोकलमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment