Comments Add Comment

आकाशको गुनासो–‘चलचित्रकर्मीलाई नै चलचित्र क्षेत्रको चासो छैन’

नेपाली चलचित्र क्षेत्र कोभिड १९ पछि कस्तो अवस्थामा पुग्ने हो भन्ने अनुमान लगाउन अहिले सकिने अवस्था छैन । देशका विभिन्न व्यवसाय जस्तै चलचित्र व्यवसाय पनि कोभिडका कारण ठूलो मारमा परेको छ ।

लक डाउन खुलेपछि चलचित्र कसरी रिलिज गर्ने, निर्मातालाई सुरक्षित कसरी बनाउने, प्रदर्शकको व्यापारलाई कसरी अगाडि बढाउने भन्ने कुनै योजना बनेको छैन ।

चलचित्रकर्मीहरु चलचित्र क्षेत्र भन्दा अन्य बहसमा रुमल्लिएका छन् । यस्तो अवस्थामा चलचित्र क्षेत्रको बिषयमा सबैले एक पटक सोच्नुपर्ने बेला आएको छ ।

चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी चलचित्र उद्योगको बारेमा चलचित्रकर्मीलाई नै जानकारी नभएको गुनासो गर्छन् ।

आकाशले भने–‘चलचित्र क्षेत्रमा अब के गर्ने, सरकारले के गर्दैछ, संघसंस्थाले के गरिरहेका छन् भन्ने कसैलाई चासो नै छैन । चलचित्रमर्कीलाई नै यो उद्योगको बारेमा जानकारी नभएको अवस्थामा अरु क्षेत्रले हामीलाई वुझेनन् भनेर के गुनासो गर्नु ।’

आकाशले, यो समयमा सबै चलचित्रकर्मीले चलचित्र क्षेत्रको बिषयमा सोच्नुपर्ने अवस्था आएको बताउँछन् । उनले भने–‘राज्यले हाम्रो माग नसुनेको पक्का हो । तर, राज्यबाट विभिन्न छुटहरु पनि हामीलाई प्राप्त हुँदैछ । चलचित्र क्षेत्र राष्ट्रिय प्राथमिकताको उद्योगमा समावेश छ । यो बिषयमा पनि सबैले जानकारी राख्न आवश्यक छ ।’

आकाशले चलचित्र निर्माता संघको तर्फबाट चलचित्र विकास बोर्डलाई विभिन्न माग राखेको पनि बताए । उनले अनलाइनखबरसँग भने–‘हामीले विभिन्न मागहरु च्लचित्र विकास बोर्डको माध्यमबाट सरकारसमक्ष राखेका छौ । चलचित्र हल कसरी चलाउने, नयाँ चलचित्र रिलिज गर्ने वातावरण कसरी गर्ने, कस्ता किसिमका छुट राज्यले दिनुपर्ने लगायतको माग समेटेर बोर्डलाई वुझाएका छौ ।’

चलचित्र क्षेत्रलाई अगाडि बढाउन यो क्षेत्रमा काम गर्ने सबै चलचित्रकर्मी मिलेर अगाडि बढ्नुपर्ने उनको तर्क छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment