Comments Add Comment

पूर्वी चितवनको रत्ननगर अस्पताल प्रदेश अस्पतालमा स्तरोन्नति

२ असार, चितवन । पूर्वी चितवनको रत्ननगर नगरपालिकामा रहेको रत्ननगर बहुलहर अस्पताल प्रदेश अस्पतालमा स्तरोन्नति भएको छ । आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले रत्ननगर अस्पताललाई प्रदेशस्तरीय अस्पतालको रुपमा स्तरोन्नति गरिएको जानकारी दिएका हुन् । १५ शैय्याको सो अस्पतालमा हाल बहिरङ्ग सेवामात्रै सञ्चालन हुँदै आएको छ ।

शान्ति मेड नेपालको सहयोगले केही गति लिएको सो अस्पतालमा छाला र मिर्गौला रोगको उपचारसमेत हुँदै आएको छ । सो अस्पतालमा छाला, दाँत, प्रसूति र बालबालिकालाई लक्षित गरी बहिरङ्ग सेवा सन्चालन हुँदै आएको छ ।

अस्पतालमा ४५ जनाको मिर्गौलाको डायलासिस मासिक ३० भन्दा बढी महिलाले प्रसूति सेवा लिने गरेको अस्पतालका मेसु डा. विश्ववन्धु बगालेले बताए । यसलाई जिल्ला अस्पतालको रूपमा विकास गरेर सम्पूर्ण विषेशज्ञ सेवासहितको सुविधा सम्पन्न अस्पताल बनाउनुपर्ने मेसु डा. बगालेले बताए । अब अस्पताललाई न्यूनतम ५० देखि १ सय बेडसम्म बनाइने मेसु डा. बगालेले बताए ।

दैनिक १५० बढीको उपचार हुँदा आएको सो अस्पतालको स्तरोन्नति नभएका कारण बिरामीलाई भर्ना गरेर उपचार गर्ने समस्या पर्दै आएको थियो । अस्पतालको जग्गासमेत निकै कम (१९ कठ्ठा) रहेकाले बिस्तारमा समेत समस्या हुने देखिएको छ ।

रत्ननगर नगरपालिकाका नगर प्रमुख नारायण वनले अस्पताललाई प्रदेश सरकारले स्तरोन्नति गरेको भन्दै खुसी व्यक्त गरे । उनले पटकपटक सरकारसँग अस्पतालको स्तरवृद्धिको माग गरिएको र हाल आएर पूरा भएको बताए ।

उनले अस्पतालको स्तरोन्नतिसँगै डाक्टरको दरबन्दी र शैया पनि थप हुनेमा विश्वास व्यक्त गरे । प्रदेशस्तरीय अस्पतालको रुपमा स्तरोन्नती भएसँगै पूर्वीचितवनका चार नगरपालिकावासीलाई सेवा पुग्ने र भरतपुरमा रहेको सरकारी अस्पतालमा बिरामीको चाप घट्ने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment