
२ असार, काठमाडौं । दाङमा थप ५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा ४६ पुरुष र १० महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै दाङमा कोरोना पुष्टि भएकाहरुको संख्या २४३ पुगेको छ ।
मंगलबार संक्रमण पुष्टि भएकामध्ये घोराही उपमहानगरपालिका-४ का ४७ जना छन् । त्यसैगरी घोराही १२ का ४ जना, घोराही ११ का ३ जना छन् । अन्य दुई जना पनि घोराही उपमहानगरपालिकाकै रहे पनि वडा खुलेको छैन ।
प्रतिष्ठानका डाक्टर क्वारेन्टिनमा
यसैबीच दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशकसहित २१ जना क्वारेन्टिनमा बसेका छन् । सो अस्पतालको मेडिकल वार्डमा भर्ना भएका एक जना बिरामीमा संक्रमण पुष्टि भएपछि उनीहरु क्वारेन्टिनमा बसेका हुन् ।
क्वारेन्टिनमा ४ जना डाक्टर, ११ जना नर्स र ६ जना स्वास्थ्यकर्मी बसेको प्रतिष्ठानकी उपकुलपति डा. संगिता भण्डारीले बताइन् ।
स्वास्थ्यकर्मीलाई कोरोना, स्वास्थ्य संस्था र वडा कार्यालय सिल
यसअघि घोराहीमा चार जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसैले उनीहरुले काम गर्दै आएको स्वास्थ्य संस्था र उनीहरु आउजाउ गर्ने वडा कार्यालय मंगलबार सिल गरिएको हो ।
संक्रमितहरु बस्ने गरेको घोराही उपमहानगरपालिका वडा नम्बर ३ को कार्यालय, वडा नम्बर ४ मा रहेको स्वास्थ्य चौकी र वडा नम्बर २ को शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रको कार्यालय सिल गरिएको हो ।
घोराही उपमहानगरपालिका वडा नम्बर १८ का ४६ वर्षीय पुरुष, घोराही उपमहानगरपालिका ३ का ४८ वर्षीय पुरुष तथा घोराही उपमहानगरपालिका ४ का ५७ वर्षीया महिला र घोराही ४ कै ३१ वर्षीया महिलामा कोरोना पुष्टि भएको थियो । यससँगै दाङमा कोरोना पुष्टि भएका स्वास्थ्यकर्मीको संख्या ६ पुगेको छ । यसअघि लमही नगरपालिका १ र राप्ती गाउँपालिका १ का स्वास्थ्यकर्मीमा पनि कोरोना पुष्टि भएको थियो ।
बुधबारदेखि संक्रमित स्वास्थ्यकर्मीहरुको कन्ट्याक्ट ट्रेसिङ सुरु गरिने घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीले जानकारी दिए ।
प्रतिक्रिया 4