+
+
Shares

राष्ट्रपतिद्वारा संविधान संशोधन विधेयक प्रमाणीकरण, नयाँ नक्साले पायो संवैधानिक मान्यता

रघुनाथ बजगाईं रघुनाथ बजगाईं
२०७७ असार ४ गते २०:४१

४ असार, काठमाडौं । लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको नेपालको नयाँ राजनीतिक नक्साले संवैधानिक मान्यता पाएको छ ।

निशान छापमा लिम्पियाधुरासहितको नयाँ नक्सा अद्यावधिक गर्न सरकारले ल्याएको संविधान संशोधन विधेयकलाई प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भई बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गरेपछि नयाँ नक्साले संवैधानिक मान्यता पाएको छ ।

प्रतिनिधि सभाबाट ३१ जेठमा सर्वसम्मत पारित भएको विधेयकलाई राष्ट्रिय सभाले बिहीबार नै सर्वसम्मतिले पारित गरेको थियो ।

राष्ट्रिय सभाबाट पारित भई पुन: प्रतिनिधि सभामा पुगेको विधेयकलाई बिहीबार नै सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिसमक्ष पठाएका थिए ।

सरकारले जेठ ५ गते लिम्पियाधुरासहितका क्षेत्र समेटेर नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा मन्त्रिपरिषद‍्बाट पास गरेको थियो ७ गते नयाँ नक्सा सार्वजनिक गरेको थियो । त्यसको दुई दिनपछि जेठ ९ गते संविधानको अनुसूची ३ मा रहेको निशान छापमा नयाँ नक्सा राख्न संविधान संशोधन विधेयक संसद सचिवालयमा दर्ता गरेको थियो ।

प्रतिनिधि सभामा समाजवादी पार्टीकी सांसद सरिता गिरीले लिम्पियाधुरा नेपालको हो भन्ने तथ्य र प्रमाण नपुग्ने भन्दै संशोधन विधेयक दर्ता गरेकी थिइन्, जसलाई सभामुख सापकोटाले अस्वीकृत गरिदिएका थिए ।

‘हामी इमोसनल भएका हौं ?’

नयाँ नक्सालाई संवैधानिक मान्यता दिने विषयमा संसदमा प्रतिनिधित्व गर्ने सत्तारुढ र विपक्षी दल एक ठाउँमा उभिए । बिहीबार राष्ट्रिय सभामा भएको छलफलमा पनि नेताहरूले लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालको भएको दाबी दोहोर्‍याए । नेताहरूले त्यसका विभिन्न प्रमाणसमेत सभामा प्रस्तुत गरेका छन् ।

यद्यपि राष्ट्रिय सभाका प्रमुख प्रतिपक्षी दलका नेता राधेश्याम अधिकारीले सरकार भारतसँग वार्ताअघि नै कसरी नक्सालाई संवैधानिक मान्यता दिने निष्कर्षमा पुग्यो भनी प्रश्न उठाए ।

‘के संसदबाट नक्सा पास भएपछि वार्ताको गुञ्जायस रहन्छ ? वार्ताको वातावरण बिग्रिएको हो वा बिगारिएको हो ? अनायास, अपर्झट आजको निर्णयमा पुगिएको हो ? के हामी वस्तुगत आधारभन्दा बढी इमोसलन भएका छौं ? नक्सा जारी हुँदैमा भूमिमाथिको हाम्रो भौतिक भोगाधिकार कायम हुन्छ ?’

अधिकारीले अब नेपालको मूल लक्ष्य कालापानीबाट भारतीय सेना फिर्ता गर्नु र त्यस क्षेत्रमा नेपालको नागरिक शासन कायम गर्न आवश्यक रहेको बताए । ‘अब नेपालको मूल लक्ष्य–कालापानीबाट भारतीय सेना फर्काएर नेपालको नागरिक शासन कायम गर्ने हो’ उनले भने ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेता नारायणकाजी श्रेष्ठले भारत वार्तामा बस्न तयार हुनुपर्ने बताए । बिहीबार राष्ट्रिय सभा बैठकमा बैठकमा संविधान संशोधन विधेयकमाथिको दफाबार छलफलमा भाग लिँदै नेता श्रेष्ठले लिम्पियाधुरा क्षेत्रका विषयमा देखिएका समस्या समाधान गर्ने उपाय वार्ता र संवाद नै भएको भन्दै भारत वार्ताका बस्न तयार हुनुपर्ने धारणा राखे ।

‘हामी बारम्बार भनिरहेका छौं वार्तामा बसौं, वार्तामा बस्न आतुर छौं र लगातार प्रयत्न गरिरहेका छौं’ नेता श्रेष्ठले भने, ‘भारत वार्तामा बसेर समाधान गर्न तयार हुनुपर्छ।’

राष्ट्रिय सभामा नेकपाका नेता दिनानाथ शर्माले भारत असल छिमेकी भए नेपाललाई दार्जिलिङ, काँगडासम्मको भूभाग फिर्ता दिनुपर्ने बताए । ‘चेलीबेटीको नाता हो, डोलीबेटीको नाता हो भनेर भारतका नेताहरू भन्नुहुन्छ । यदि त्यसो हो भने सगौरव दार्जिलिङ हामीलाई फिर्ता गरिदिनुपर्छ र काँगडासम्मको भूभाग फिर्ता गरिदिनुपर्छ । यो तपाईंहरूको नासो हो, यो नासो बुझ्नुस् भनेर भन्नुपर्छ’ नेता शर्माले भनेका छन् ।

राजपाका सांसद शेखरकुमार सिंह र समाजवादी पार्टीकी सांसद प्रमिला कुमारीले मधेसी जनता फ्रन्टलाइनका सीमारक्षक भएको बताएका छन् । ‘हामी त फ्रन्टलाइनका सिपाही हौं । बेलाबेला आफ्नो पहिचान दिएर आइसकेका छौं’ राष्ट्रिय सभा बैठकमा सांसद सिंहले भने ।

समाजवादी पार्टीकी सांसद प्रमिला कुमारीले आन्तरिक राजनीतिक एजेन्डा आ-आफ्ना भए पनि राष्ट्र र राष्ट्रिय अखण्डताका विषयमा सबै राजनीतिक दल एकठाउँमा रहेको बताइन् ।

दीप प्रज्वलन गर्न आह्वान

राष्ट्रिय सभामा संशोधन विधेयकमाथि छलफमा उठेका प्रश्नको जवाफ दिँदै कानुन, न्याय तथा संसदीय मामलामन्त्री शिवमाया तुम्बाहाङ्फेले संविधान संशोधन भएको खुसियालीमा दीप प्रज्वलन गर्न सर्वसाधारणमा आग्रह गरेकी छन् ।

उनले अब सीमा समस्याका विषयमा भारतसँग वार्ता हुने पनि बताइन् ।

‘हामीसँग तथ्य र प्रमाण धेरै छन् । प्रमाण भएकै आधारले हामीले हाम्रो भूभाग भनेका हौं’ उनले भनिन्, ‘अब तथ्य र पर्याप्त प्रमाणका आधारमा वार्ताको टेबुलमा बस्छौं । नेपाल सरकार वार्ता गर्दा कुनै पनि तथ्य र प्रमाणलाई नछोडी बस्छ ।’

लेखक
रघुनाथ बजगाईं

अनलाइनखबरको राजनीतिक ब्यूरोमा आबद्ध बजगाईं संसदीय मामिलामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?