Comments Add Comment

पर्वत अस्पतालका ५ स्वास्थ्यकर्मीमा कोरोना, आकस्मिकबाहेकका सेवा बन्द

५ असार, काठमाडौं । पर्वत अस्पतालका पाँच जना स्वास्थ्यकर्मीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्यकर्मी नै संक्रमित भएपछि अस्पतालको आकस्मिक बाहेकका सेवा बन्द गरिएको छ ।

काठमाडौंको टेकुस्थित राष्ट्रिय प्रयोगशालामा गरिएको स्वाब परीक्षणमा पर्वत अस्पताका पाँच स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको पर्वत अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. शिशिर देवकोटाले जानकारी दिए ।

पाँच जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएपछि अस्पतालको इमर्जेन्सी बाहेकका अरु सेवाहरु अनिश्चितकालका लागि बन्द गरिएको डा. देवकोटाले बताए ।

‘संक्रमण पुष्टि हुनेमा २ जना चिकित्सक, एकजना स्टाफ नर्स, एकजना ल्याब असिस्टेन्ट र एकजना कार्यालय सहयोगी छन्,’ डा. देवकोटाले अनलाइनखबरसँग भने, ‘स्वास्थ्यकर्मीकै रिपोर्ट पोजेटिभ आएपछि अहिले ओपीडी सेवा बन्द गर्ने निर्णय गरेका छौं ।’ अत्यावश्यक सेवा भने बन्द नरहने उनले जानकारी दिए ।

अस्पतालको आइसोलेसनमा हाल ३० जना कोरोना संक्रमित उपचाररत छन् । ती संक्रमित सबै भारतबाट आएका डा. देवकोटाले जानकारी दिए । अस्पतालमा १२ जना चिकित्सक कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment