Comments Add Comment

पाइलटको अभ्यासका लागि विमानस्थलमा अत्याधुनिक सिमुलेटर

४ जेठ, काठमाडौं । पाइलटले कोर्स पूरा गरी जहाज चलाउन जानुअघि हुने प्रशिक्षणका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अत्याधुनिक सिमुलेटर ल्याइएको छ ।

बुद्ध एयरले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित आफ्नो ह्याङ्गरमा जडान गरेको यो उपकरणबाट एटीआर कम्पनीका जहाज उडाउने पाइलटले उडान सुरु गर्नुअघि ग्राउण्डमा प्रशिक्षण लिन सक्नेछन् ।

अहिले नेपालमा बुद्ध र यति एयरलाइन्ससँग एटीआर कम्पनीका जहाज छन् । यो उपकरणले जहाज उडाउनुअघि पाइलटको आत्मविश्वास बढाउने काम गर्छ ।

क्याप्टेन प्रमोद थापाका अनुसार हवाई सुरक्षाका लागि यो उपकरण निकै महत्वपूर्ण सावित हुने गर्छ । ‘सिमुलेटर एक प्रकारको ककपिट हो’, उनले भने, ‘यहाँ बसेर हामी जुनसुकै विमानस्थलमा हुने उडान-अवतरणबारे जानकारी लिन सक्छौं ।’

उनका अनुसार विमानको ककपिटमा बस्दा जुन विधि र प्रक्रिया अपनाएर उडान हुन्छ, सिमुलेटर त्यसकै प्रशिक्षण लिने उपकरण हो । यसअघि बुद्धको ह्याङ्गरमा अघिल्लो पुस्ताको सिमुलेटर थियो । जुन हातले बढी चलाउनुपर्ने र पुरानो प्रविधिमा आधारित थियो । यस पटक भित्र्याइएको सिमुलेटर अत्याधुनिक छ । टचस्क्रिनमा आधारित भएर यसलाई सञ्चालन गर्न सकिन्छ ।

क्याप्टेन थापाका अनुसार सिमुलेटरले पाइलटले ककपिटमा जानुअघि आत्मविश्वासी बनाउँछ । साथै जहाजको प्रविधिमा आएको परिवर्तन र जडान गरिएको सिस्टमबारे सर्वप्रथम अभ्यास गराउने उपरकरण पनि सिमुलेटर हो ।

‘जहाज उडाएर आकाशमा गइसकेपछि कन्फ्युज हुने सुविधा पाइलटसँग छैन,’ उनले भने, ‘त्यसबारे अभ्यस्त हुन यो उपकरणमा अभ्यस्त हुनुपर्छ ।’ उनका अनुसार पाइलटको तालिमका लागि नभएर अभ्यासमा यसको प्रयोग हुनेछ । उपकरणमा ककपिटमा पाइलटले देख्ने, चलाउनु पर्ने, जान्नुपर्ने हरेक सिस्टम राखिएको हुन्छ ।

६ लाख डलर लगानी

बुद्ध एयरले कोरोना भाइरसको महामारीकै बीच यो उपकरण आफ्नो ह्याङ्गरमा जडान गरेको छ । यसमा करिब ६ लाख डलर लगानी रहेको कम्पनीका एक अधिकारीले जानकारी दिए । हवाई सुरक्षा अभिवृद्धिका लागि अत्यावश्यक उपकरण भएका कारण खरिद गरिएको उनको भनाइ छ ।

तस्वीरहरु : आर्यन धिमाल/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment