Comments Add Comment

बैंकरलाई बैंकिङ कसूर नलगाउन बैंकर्स संघको सुझाव

५ असार, काठमाडौं । नेपाल बैंकर्स संघले कर्जा लगानीमा हस्ताक्षर गरेकै भरमा बैंकरलाई बैंकिङ कसूर लगाउनु उचित नभएको बताएको छ । आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीतिमा आफ्नो लिखित सुझाव दिदै संघले यस्तो व्यवस्था हुनु गलत हुने धारणा राखेको हो ।

राम्रै नियतले काम गर्दा पछिल्ला दिनहरुमा बैंकरमाथि मुद्दा चलेको भन्दै संघले सुझावमै राष्ट्र बैंकको ध्यानाकर्षण गराएको छ । कर्जा लिनेले बद्मासी गर्ने तर कर्जाको फाइलमा हस्ताक्षर गरेकै भरमा विपक्षी बनाई मुद्दा चल्दा यसले समग्र बैंकिङ क्षेत्रलाई नै असर गरेको संघले उल्लेख गरेको छ ।

यो समस्या समयमै सम्बोधन नहुने हो भने हाल कार्यरत राम्रा व्यक्तिहरु बैंकिङ्ग क्षेत्रबाट पलायन हुने तथा नयाँ राम्रा व्यक्तिहरु बैंकिङ क्षेत्रमा आकर्षित नहुने जोखिम बढेको संघले बताएको छ ।

संघले दिएको सुझावमा भनिएको छ, ‘विगत केही समयदेखि बैंकिङ कसूर तथा सजायसम्बन्धी ऐन अन्तर्गत कसूरको अनुसन्धान तहकिकातको क्रममा मुलतः कर्जा प्रवाहसंग सम्बन्धित कुनै कागजातमा हस्ताक्षर गरकै आधारमा गुण, दोष नकेलाई सम्पूर्ण कर्मचारीहरुलाई विपक्षी बनाउने चलनले बैंक तथा वित्तीय संस्थाहरुमा कार्यरत कर्मचारीहरुमा असल नियतले काम गर्दागर्दै पनि अनाहकमा थुनिनुपर्ने तथा लामो कानूनी प्रक्रियामा संलग्न हुनुपर्ने त्रास सिर्जना भई दैनिक कार्य सञ्चालन गर्दा लिनुपर्ने निर्णय तथा जोखिम बहन गर्ने क्षमतामा ह्रास आएको तथा सर्वसाधारणको पनि बैंकर प्रति संशय पैदा भई सम्पूर्ण बैंकङ क्षेत्रमा पर्न सक्ने नकारात्मक असरलाई सम्बोधन गरी बैंकिङ क्षेत्रमा विश्वास बढाउनका लागि सम्बन्धित निकायहरुमा आवश्यक पहल गरिदिनु हुन अनुरोध गर्दछौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment