Comments Add Comment

हिरासतबाट छुटेका युवक गाउँ आएपछि कोरोना पुष्टि

७ असार, काठमाडौं । गोरखाको भीमसेनथापा गाउँपालिका– ८ मा हिरासतबाट छुटेर गाउँ फर्किएका युवकमा कोरोना संक्रमण पुष्टि भएपछि त्रास बढेको छ ।

वडा नम्बर ८ महादेवटारका २८ वर्षका युवकमा शुक्रबार कोरोना संक्रमण पुष्टि भएपछि उनको गाउँ र छिमेकी गाउँमा त्रास बढेको हो ।

उनी जेठ २२ गते हिरासतबाट छुटेर गाउँ फर्किएको दुई दिनपछि हिरासतमा सँगै रहेका युवकमा कोरोना संक्रमण पुष्टि भएको जानकारी आएको वडा नम्बर ८ का अध्यक्ष बासु थापाले बताए । त्यतिबेलासम्म उनले घरमा भोज गर्ने र साथीहरुसँग गाउँ घुम्ने गरिसकेका थिए ।

त्यसपछि युवकलाई क्वारेन्टिनमा राखेर उनीसहित ५ जनाको नमुना परीक्षणका लागि पठाइएको थियो । १४ दिनसम्म रिपोर्ट नआउँदा ती युवक होम क्वारेन्टिनबाट निस्केर परिवारका सदस्य र साथीहरुको सम्पर्कमा पुगेको थापाले बताए । पछि रिपोर्ट आउँदा कोरोना संक्रमण पुष्टि भएपछि गाउँमा त्रास बढेको हो ।

युवकको सम्पर्कमा उनको गाउँ  र छिमेकी गाउँका गरी धेरै व्यक्ति पुगेको अनुमान गरिएको छ । उनीसँग ३० जनाको प्रत्यक्ष सम्पर्क भएको पहिचान गरिएको कन्ट्याक ट्रेसिङमा संलग्न जनस्वास्थ्यकर्मी प्रितम श्रेष्ठले बताए ।  पहिले उनीहरुको पीसीआर विधिबाट कोरोना परीक्षण गर्ने र उनीहरुमा पनि कोरोना पुष्टि भएमा अन्य संक्रमितको फेरि कन्ट्याक ट्रेसिङ गर्नुपर्ने श्रेष्ठ बताउँछन् ।

संक्रमित व्यक्तिलाई गोरखा सदरमुकामस्थित आइसोलेसनमा पठाउने र उनको सम्पर्कमा रहेका ३० जनाको नमुना संकलनको तयारी वडाध्यक्ष थापाले बताए ।

त्यसका लागि गाउँपालिकाले भाइरस ट्रान्सपोर्ट मिडियम (भीटीएम) खरिद गर्न लागेको अध्यक्ष थापाले जानकारी दिए । ‘संक्रमित व्यक्तिसँग प्रत्यक्ष सम्पर्कमा रहेकालाई पीसीआर विधिबाट परीक्षण गर्न जनस्वास्थ्य कार्यालयमा किटको अभाव भएकाले गाउँपालिकाको पहलमा आज चितवनबाट खरिद गरी परीक्षण गरिने भएको छ’ थापाले फेसबुकमा लेखेका छन् ।

भीमसेन थापा गाउँपालिका–८ मा नै अर्का एक युवकमा कोरोना संक्रमण पुष्टि भएको छ । भारतबाट फर्किएर वडाको क्वारेन्टिनमा बसेका उनमा कोरोना संक्रमण पुष्टि भएको हो  । गाउँमा दुई जना कोरोना संक्रमित देखिएपछि पसल खोल्न र मानिसहरु भेला हुने गतिविधि बन्द गरिएको छ ।

सावधानी अपनाउँदा अपनाउँदै कोरोना संक्रमण देखिन थाल्दा गाउँमा त्रास देखिएको वडा नम्बर ७ का वडाध्यक्ष नारायण श्रेष्ठले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment