Comments Add Comment

स्पेनमा हट्यो आपतकाल, पर्यटकका लागि सीमा खुला

७ असार, काठमाडौं । स्पेनले मुलुकमा लगाएको आपतकाल हटाएको छ । आपतकाल हटेसँगै मुलुकमा अधिकांश युरोप र बेलायतबाट आउने पर्यटकहरुलाई क्वारेन्टाइनमा नबसी मुलुकमा प्रवेशको अनुमति दिएको छ । स्पेनले कोरोना भाइरस नियन्त्रणको लागि निकै कडा किसिमको प्रतिबन्ध लगाएको तीन महिनापछि आपतकाल हटाइएको हो ।

स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले मुलुकमा आपतकाल हटाइएको भए पनि सरसफाइमा ध्यान राखेको वा नराखेको भन्नेबारे पूर्णरुपमाअनुगमन गरिने बताएका छन् ।

स्पेनमा अहिलेसम्म कोरोना भाइरसको कारण २८ हजार ३२२ जनाको मृत्यु भइसकेको छ । युरोपमा स्पेन सबैभन्दा धेरै मानिसको मृत्यु भएको मुलुकको सूचीमा तेस्रो स्थानमा छ ।

गत मार्च १४ मा स्पेनमा आपतकाल घोषणा गरिएको थियो । स्पेनमा वार्षिक आठ करोड पर्यटक घुम्न आउँछन् । यो मुलुकमा कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को १२ प्रतिशत पर्यटनले ओगटेको छ । त्यसैले स्पेनको लागि पर्यटन क्षेत्र खुला गर्नु निकै जरुरी देखिएको हो ।

अहिले मुलुकमा लकडाउन खुला गरिए पनि सार्वजनिक स्थानमा साढे एक मिटरको दुरी कायम राख्नु जरुरी हुन्छ । साथै पसल र सार्वजनिक यातायातमा मास्कको प्रयोग अनिवार्य गरिएको छ ।

सधैं नियम पालना गर्न नसकिने स्थानमा समयसमयमा हात धुनु अनिवार्य गरिएको छ । प्रधानमन्त्री सान्चेजले कोरोना संक्रमणको दोस्रो लहरको जोखिम कायम रहेको भन्दै यसबाट कुनै पनि अवस्थामा बच्नुपर्ने उल्लेख गरेका छन् ।

पोर्चुगलको आग्रहमा पोर्चुगलसँगको सीमाना भने जुलाई १ सम्मका लागि बन्द रहनेछ ।

स्रोत :बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment