Comments Add Comment

एभरटनसँग बराबरीमा रोकियो लिभरपुल

८ असार, काठमाडौं । प्रिमियर लिगमा शीर्ष स्थानको लिभरपुल एभरटनसँग बराबरीमा रोकिएको छ । २३६ औँ मर्सिसाइड डर्बीमा एभरटनले लिभरपुललाई घरेलु मैदानमा गोलरहित बराबरीमा रोकेको हो ।

एभरटनको घरेलु मैदान गुडिसन पार्कमा भएको पछिल्लो ८ मर्सिसाइड डर्बीमा यो सातौं बराबरी हो ।

कोरोना भाइरस महामारीपछि लिभरपुलले लिगमा पहिलो खेल खेलेको हो । एभरटनसँग बराबरी खेलेपछि लिभरपुलले उपाधि जित्न अझै दुई खेल कुर्नुपर्नेछ अर्थात ४ अंक आवश्यक छ ।

बराबरीपछि ३० खेलबाट ८३ अंक जोडेको लिभरपुलले दोस्रो स्थानको म्यानचेष्टर सिटीमाथि २३ अंकको अग्रता बनाएको छ । एक खेल कम खेलेको सिटीको ६० अंक छ । लिभरपुलले अर्को खेल क्रिस्टल प्यालेससँग खेल्दैछ । त्यसपछि लिभरपुलले सिटीसँग घरेलु मैदानमा खेल्दैछ ।

एभरटन ३८ अंकसहित १२औं स्थानमा छ ।

लिगकै अर्को खेलमा चेल्सीले एस्टनभिल्ला विरुद्ध २-१ को पुनरागमन जित हात पारेको छ ।

४३औं मिनेटमा कोर्टेन होउसले गोल गर्दै घरेलु टोली एस्टनभिल्लालाई अग्रता दिलाएका थिए । तर दोस्रो हाफमा अग्रता जोगाउन सकेन । चेल्सीका लागि क्रिस्टियन पुलिसिकले ६०औं मिनेटमा बराबरी गोल फर्काए भने ६२औं मिनेटमा ओलिभर जिरुडले विजयी गोल गरे ।

जितपछि ३० खेलबाट ५१ अंक जोडेको चेल्सीले तेस्रो स्थानको लेस्टरसँग अंकदूरी ३ मा झारेको छ भने पाँचौ स्थानको म्यानचेष्टर युनाइटेडसँग ५ अंकको अग्रता बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment