Comments Add Comment

काठमाडौं महानगरपालिका बजेट : तीनकुनेमा बुद्ध पार्क, प्रशासनिक खर्च कटौती

१० असार, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि १६ अर्ब ४२ करोड ७३ लाख २६ हजार बराबरको बजेट सार्वजनिक गरेको छ । महानगरपालिकाले चालु आर्थिक वर्ष २०७६/७७ को तुलनामा करिब २ अर्ब बढाएर बजेट ल्याएको छ ।

काठमाडौँ महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्की श्रेष्ठले बुधबार काठमाडौंमा आयोजित बजेट नगरसभाको सातौँ अधिवेशनमा वार्षिक बजेट तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् ।

महानगरपालिकाले कुल बजेटको ११ प्रतिशत कार्यालय संचालन तथा प्रशासनिक खर्चमा विनियोजन गरेको छ । बजेटको साढ ५१ प्रतिशत बजेट भने पूर्वाधार विकासका कार्यक्रममा खर्च हुने उपप्रमुख श्रेष्ठले जानकारी दिइन् । उनका अनुसार आर्थिक बिकास क्षेत्रका लागि १७ करोड २३ लाख विनियोजन गरिएको छ । यो कुल बजेटको १ दशमलम ५ प्रतिशत हो ।

यो पनि पढ्नुहोस एक महिनाको घरभाडा नलिए महानगरबाट बहाल कर छुट

कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रको लागि १ अर्ब ७८ करोड २७ लाख ५० हजार विनियोजन भएको छ । यो रकम कुल बजेटको १० दशमलब ८५ प्रतिशत हो । काठमाडौँ महानगरपालिकाले पूर्वाधार बिकास क्षेत्रका लागि ८ अर्ब ४३ करोड ४३ लाख ७१ हजारको बजेट विनियोजन गरेको छ । यो कुल बजेटको ५१ दशमलब ३४ प्रतिशत हो ।

सामाजिक बिकास क्षेत्रका लागि महानगरले २ अर्ब ४९ करोड ९८ लाख बजेट विनियोजन गरेको छ । यो रकम भने कुल बजेटको १५ दशमलब २२ प्रतिशत रहेको उनले बताइन् । सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रका लागि रु. ९६ करोड ३० लाख बजेट विनियोजन भएको छ । शसर्त अनुदान तर्फ २ अर्ब ५७ करोड ५१ लाख ५ हजार विनियोजन गरेको छ । यो रकम कुल बजेटको १५ दशमलब ६८ प्रतिशत हो ।

बजेटको स्रोत के हो ?

काठमाडौं महानगरपालिकाको आगामी आवका लागि अन्तरिक श्रोतबाट ६ अर्ब ७६ करोड ६५ लाख आम्दानी हुने प्रक्षेपण गरेको छ । आन्तरिक स्रोत अन्तर्गत बहाल करबाट १ अर्ब ५० करोड असुल हुने महानगरपालिकाको अपेक्षा छ । सम्पत्ति करबाट ८० करोड उठ्ने अनुमान गरिएको छ । व्यवसाय करबाट ४० करोड, विज्ञापन करबाट ६ करोड असुली गर्ने लक्ष्य पनि महानगरपालिकाले लिएको छ । शुल्क आयबाट १ अर्ब ५० करोड असुल गर्ने लक्ष्य लिइएको छ । कवाडी करलगायतबाट पनि महानगरपालिकाले आम्दानी गर्ने लक्ष्य लिएको छ । महानगरपालिकाले आन्तरिक स्रोतबाट कुल बजेटको ४१ दशमलब १९ प्रतिशत असुल हुने अपेक्षा गरेको छ ।

बाहृय श्रोततर्फ निशर्त अनुदानबाट १ अर्ब ४२ करोड ४८ लाख ९५ हजार, शसर्त अनुदान बाट रु २ अर्ब ५७ करोड ५१ लाख ५ हजार, सामाजिक सुरक्षा भत्ता बापत रु १ अर्ब २० करोड, जग्गा एकीकरण बाट ९६ करोड ८ लाख २६ हजार गरी कुल रु ६ अर्ब १६ करोड ८ लाख २६ हजार आम्दानी हुने प्रक्षेपण महानगरपालिकाले गरेको छ । यो रकम कूल आम्दानीको ३७ दशमलब ५० प्रतिशत हो । यसबाट पनि अपुग हुने ३ अर्ब ५० करोड बैंक मौज्दातबाट व्यहोर्ने महानगरपालिकाले प्रस्तुत गरेको बजेटमा उल्लेख छ ।

कोभिड-१९ को असर र रोकथाम न्युनीकरण

महानगरपालिकाले स्वास्थ्य क्षेत्रलाई मूख्य प्राथमिकतामा राखेर बजेट ल्याएको बताएको छ । यसमा कोरोनाको रोकथाम र यसवाट पर्नसक्ने प्रभाबहरुको न्यूनीकरण गर्ने कार्यक्रम समेटिएका छन् । महानगर पालिकाले बिशेष महत्वका कार्यक्रम अन्तर्गत काठमाडौँ महानगरपालिकाको कार्यालय भवनको निर्माण, भर्टिकल पार्किंग भवन निर्माण, पर्यटन पदमार्ग बिकास, कोटेश्वर तीनकुनेमा बुद्ध पार्क निर्माण, मेघा हल निर्माणजस्ता कार्यक्रम बजेटमा समेटेको छ । सार्बजनिक जग्गा संरक्षण, पार्क निर्माण तथा हरियाली प्रवर्द्धन, नदी नियन्त्रण तथा कोरिडोर निर्माण, शहरी यातायात ब्यबस्थापन जस्ता कार्यक्रम समेत बजेटमा परेका छन् ।

सम्वृद्धिका लागि सहकारी अभियान, एकीकृत शिप बिकास कार्यक्रम, मेड इन काठमाडौँ, जीबन निर्वाहका लागी पारिश्रमिक कार्यक्रम, हप अन हप अफ बस संचालन, प्रबिधीमैत्री सिटि लाइब्रेरी, महानगर महिला सहजिकरण केन्ऽ स्थापना तथा संचालन, युवासंग मेयर कार्यक्रम र वडा-वडामा मेलमिलाप शिबिर संचालन जस्ता महत्वपूर्ण कार्यक्रमहरुका लागि पनि महानगरपालिकाले बजेट विनियोजन गरेको छ ।

गोष्ठी, तालिममा बजेट कटौती, सम्पदा संरक्षण र पूर्वाधारमा जोड

काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक बर्षमा सम्पदा संरक्षण तथा सम्बर्दन र पूर्वाधार बिकासलाई महत्व दिई बजेट विनियोजन गरेको छ । गोष्ठी, तालिम, सम्मेलन र अन्य प्रशासनिक खर्चमा केही बजेट कटौती गरेको जनाएको छ । ‘महानगरबाट संचालित बिकास कार्यक्रमको सुनिश्चितताको लाकि सुत्रमा आधारित बजेट प्रणाली, महानगरपालिकाको प्रशासनिक सुधार, मितव्ययिता र पारदर्शितापूर्ण कार्य प्रणाली, भ्रष्टाचारमा शून्य सहनशिलता जस्ता पारित नीति तथा कार्यक्रमहरुले महानगरले निर्धारित गरेका लक्ष्य हासिल हुने बिश्वास लिएका छौँ,’ बजेट प्रस्तुत गर्दै उपप्रमुख हरिप्रभा खड्की श्रेष्ठले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment