Comments Add Comment

चीनले नेपाली भूमि अतिक्रमण गरेको भन्दै संसदमा संकल्प प्रस्ताव

१० असार, काठमाडौं । चीनले नेपालको भूमि अतिक्रमण गरेको भन्दै त्यसलाई फिर्ता ल्याउने पहल गर्न माग गर्दै संघीय संसदको प्रतिनिधि सभामा संकल्प प्रस्ताव पेश भएको छ ।

नेपाली कांग्रेसका सांसदहरु देवेन्द्रराज कंडेल, सत्यनारायण शर्मा खनाल र सञ्जयकुमार गौतमले बुधबार प्रतिनिधि सभामा संकल्प प्रस्ताव पेश गरेका हुन् । ‘नेपालका विभिन्न जिल्लाहरु दोलखा, हुम्ला, सिन्धुपाल्चोक, संखुवासभा, गोरखा र रसुवाका ६४ हजार हेक्टर भन्दा बढी भूभाग अतिक्रमणमा परेको छ’ संकल्प प्रस्तावमा भनिएको छ ।

अतिक्रमणमा परेको भूभागलाई कुटनीतिक माध्यमबाट फिर्ता ल्याउनका लागि र त्यहाँको स्थिति एवं वास्तविक अतिक्रमणमा परेका भूभाग र गाउँको अवस्थाबारे संसदलाई जानकारी गराउन उनीहरुले माग गरेका छन् ।

नेपालको निशान छापमा अंकित नेपालको भौगोलिक, राजनीतिक नक्सा अनुसार नेपाल र चीनबीच १४१४.८८ किलोमिटर सिमाना रहेको र ९८ वटा सीमा स्तम्भहरु रहेको उल्लेख गर्दै कांग्रेसका सांसदहरुले ९८ वटा सीमा स्तम्भमध्ये केही सीमा स्तम्भ हराएका र केही नेपालभित्र सारिएको दाबी गरेका छन् ।

गोरखाको सीमानामा पर्ने ३५, ३७ र ३८ नम्बर सीमा स्तम्भ र सोलुखुम्बुको नम्पा भञ्ज्याङमा पर्ने ६२ नम्बर सीमा स्तम्भ हराएको संकल्प प्रस्तावमा उल्लेख छ ।

गोरखाको ३५ नम्बरको सीमा स्तम्भलाई चीनले नेपालभित्र सारेकोले उत्तरी गोरखाको रुई गाउँ चीनको अतिक्रमणमा पर्दा ७२ घरधुरी चीनको स्वशासित क्षेत्र तिब्बतमा पर्न गएको र दार्चुलाको जीउजीउ भन्ने स्थानका १८ घरसमेत चिनिया अतिक्रमणमा परेको उनीहरुले उल्लेख गरेका छन् ।

संकल्प प्रस्ताव पेश गर्ने सांसद देवेन्द्रराज कंडेलले आफूहरुले चीनले भूमि अतिक्रमण गरेको प्रमाण संकलन गरेको बताए । ‘ठाउँ ठाउँमा खोलाले बहाव परिवर्तन गर्दा खोलालाई नै सीमाना मानेर चाइनिजहरुले अतिक्रमण गरेका छन् । खोला नेपालको भूमि मिच्दै आउने र उनीहरु पनि सीमा सार्दै आउने केही ठाउँमा भएको छ । यस्ता प्रमाणहरु हामीले जुटाएका छौं’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment