+
+
Shares

अस्ट्रेलियाली संसद्‌मा विदेशमन्त्री पेनी वोङ : काठमाडौँमा परिवार सहायता केन्द्र स्थापना गर्दैछौं

नेपाल र चीनको तिब्बतमा गएको विनाशकारी बाढीपहिरोका विषयमा अस्ट्रेलियाकी विदेशमन्त्री पेनी वोङले अस्ट्रेलियाली संसद्‌मा सम्बोधन गरेकी छन्।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २२ गते १५:२३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अस्ट्रेलियाकी विदेशमन्त्री पेनी वोङले नेपाल र चीनको तिब्बतमा गएको बाढीपहिरोको क्षति अकल्पनीय भन्दै संसद्‌मा सम्बोधन गरिन्।
  • उनले बेपत्ता अस्ट्रेलियाली नागरिकको खोजी र विपद् प्रतिकार्यका लागि करिब ५० अधिकारी प्रभावित क्षेत्रमा परिचालन गरिएको बताइन्।
  • उनले काठमाडौँमा विशेष परिवार सहायता केन्द्र स्थापना गरिँदै र प्रभावित परिवारका लागि दुई सामाजिक कार्यकर्ता आइपुगेको जानकारी दिइन्।

२२ भदौ, काठमाडौं । नेपाल र चीनको तिब्बतमा गएको विनाशकारी बाढीपहिरोका विषयमा अस्ट्रेलियाकी विदेशमन्त्री पेनी वोङले अस्ट्रेलियाली संसद्‌मा सम्बोधन गरेकी छन्।

बाढीबाट भएको क्षति अकल्पनीय रहेको भन्दै उनले बेपत्ता अस्ट्रेलियाली नागरिकको खोजी र विपद् प्रतिकार्यका लागि करिब ५० जना अधिकारीहरूलाई प्रभावित क्षेत्रमा परिचालन गरिएको जानकारी दिएकी छन्।

संसद्‌मा बोल्दै विदेशमन्त्री वोङले भनिन्, ‘नेपाल र चीनको तिब्बतमा हामीले देखेको विनाश अकल्पनीय छ। बाढीले सहर, गाउँ, घर, सडक र पुलहरू बगाएको डरलाग्दो शक्ति हामीले देखेका छौँ। यो क्षतिको मापन हाम्रो अनुमानभन्दा बाहिर छ।’

अस्ट्रेलिया सरकारले सम्पर्कविहीन भएका आफ्ना नागरिकहरूको अवस्था पत्ता लगाउन काठमाडौँ, बेइजिङ, नयाँदिल्ली र क्यानबेरास्थित अधिकारीहरूलाई चौबीसै घण्टा खटाएको उनले बताइन्।

बेपत्ता नागरिकका परिवारलाई यस अकल्पनीय र कठिन समयमा निरन्तर सम्पर्क र जानकारी दिन परराष्ट्र तथा व्यापार मन्त्रालय र अस्ट्रेलियाली संघीय प्रहरीका विशेष केस अफिसरहरू तोकिएको विदेशमन्त्री वोङले जानकारी दिइन्।

काठमाडौँमा परिवार सहायता केन्द्र

सम्बोधनका क्रममा विदेशमन्त्री वोङले प्रभावित परिवारको सहयोगका लागि सर्भिसेस अस्ट्रेलियाका दुई जना सामाजिक कार्यकर्ता आइतबार राति काठमाडौँ आइपुगेको जानकारी गराइन्। बेपत्ता तथा प्रभावितका परिवारलाई आवश्यक सहयोग गर्न अस्ट्रेलियाली दूतावासले काठमाडौँमा एक विशेष परिवार सहायता केन्द्र स्थापना गरिरहेको पनि उनले संसद्‌लाई जानकारी गराइन्।

यस विपद्ले अस्ट्रेलियामा रहेका समुदायलाई गहिरो चोट पुर्‍याएको भन्दै विदेशमन्त्री वोङले त्यहाँ रहेका नेपाली, तिब्बती र हिन्दु समुदायप्रति संसद्का तर्फबाट ऐक्यबद्धता प्रकट गरिन्।

‘अस्ट्रेलियाको नेपाली समुदाय प्रभावित क्षेत्रमा रहेका आफ्ना परिवार, साथीभाइ र गाउँका लागि शोकमा छ। अस्ट्रेलियाको तिब्बती समुदायले पनि ठूलो पीडा भोगिरहेको छ,’ उनले भनिन्, ‘यस क्षेत्रका तीर्थयात्रा मार्ग र पवित्र स्थलहरूसँग जोडिएका अस्ट्रेलियाली हिन्दुहरूमा पनि यस विपद्ले गहिरो दुःख ल्याएको छ।’

अस्ट्रेलियाली सिनेटले ज्यान गुमाउने सम्पूर्णप्रति शोक व्यक्त गर्दै खबरको पर्खाइमा रहेका परिवारजनप्रति समवेदना प्रकट गरेको छ।

सम्बोधनको अन्त्यमा विदेशमन्त्री वोङले यस अत्यन्तै कठिन परिस्थितिमा नेपाल, तिब्बत र अस्ट्रेलियाका तर्फबाट खटिएका सम्पूर्ण उद्धारकर्मीहरूलाई अस्ट्रेलिया सरकारका तर्फबाट धन्यवाद ज्ञापन गरेकी छन्।

आजै, अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले अस्ट्रेलियाको संसदमा सम्बोधन गर्दै नेपाल र चीनको तिब्बत सीमा क्षेत्रमा गएको विनाशकारी बाढीका कारण भएको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै विपद्को यस घडीमा नेपाल एक्लै नरहेको बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?