News Summary
Generated by OK AI. Editorially reviewed.- रसुवाको भोटेकाशीमा बाढी आएको एक साता बित्दा पनि नेपाली सेना, प्रहरी र विदेशी टोलीले हाइड्रोपावरका टनेलमा खोज तथा उद्धार जारी राखेका छन्।
- भारतीय, चिनियाँ र दक्षिण कोरियाली उद्धारक टोलीले लाङटाङ, चिलिमे र त्रिशूली थ्री–ए लगायतका टनेलमा उपकरणसहित काम गरिरहेका छन्।
- विदेशी फरेन्सिक टोलीले नेपाल प्रहरीसँग मिलेर शव पहिचान, डीएनए परीक्षण र मानव अवशेष व्यवस्थापनको काम गरिरहेका छन्।
१७ भदौ, काठमाडौं । १० भदौमा रसुवाको भोटेकाशीमा आएको विनाशकारी बाढीले तहसनहस बनाएको ठाउँमा उद्धारको काम जारी छ । बाढी आएको एक साता बित्दा पनि खोज तथा उद्धारको काम रोकिएको छैन ।
अहिले बाढीले ध्वस्त बनाएका हाइड्रोपावरका टनेल केन्द्रित खोज तथा उद्धारको काम भइरहेको छ । अन्य ठाउँहरूमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले खोज उद्धार जारी राखेका छन् भने नेपाली सेनासहित विदेशी उद्धारकहरू टनेल केन्द्रित भएका छन् ।
बाढी गएको चौथो दिन अर्थात् गत शनिबारबाट विदेशी उद्धारकले समेत काम सुरु गरेका छन् । नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेका अनुसार अहिले नेपालीसँग मिलेर विदेशी उद्धारकहरूले काम गरिरहेका छन् । यसको नेतृत्व नेपाली सेनाले गरिरहेको छ ।
परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीका अनुसार विदेशी उद्धारकले टनेलमा काम गरिरहेका छन् । उनका अनुसार छिमेकी राष्ट्र चीन, भारत र दक्षिण कोरियाका टोलीबाट टनेल केन्द्रित उद्धारको काम भइरहेको छ ।
भारतीय सुरुङ उद्धार टोलीले मुख्यगरी दुई स्थानमा केन्द्रित भएर काम गरिरहेको छ । नेपाली सेनाका प्रवक्ता बस्नेतका अनुसार भारतीय टोली लाङटाङ र चिलिमेमा केन्द्रित छ ।
लाङटाङ हाइड्रोमा भारतीय टोलीसहित २५ जनाको संयुक्त खोज तथा उद्धार टोलीले टनेलभित्र करिब १५० मिटरसम्म प्रवेश गरेर काम गरिरहेको छ । सुरुङभित्र हिलो र ढुंगा अत्याधिक रहेकाले काम गर्न केही कठिनाइ भएको छ । चिलिमे हाइड्रोमा भारतीय टोलीसँग मिलेर नेपाली सेनाले काम गरिरहेको छ ।

माथिल्लो त्रिशूली थ्री–एमा भने कोरियाली उद्धारक टिमसँग मिलेर काम भइरहेको छ । यसअघि आएको कोरियाली टिमले त्रिशूली थ्री–ए सुरुङको अध्ययन गरेको थियो । सुरुङको अवस्थाबारे जानकारी गराएपछि सोहीअनुसारको खोज उद्धारका लागि बुधबार कोरियाबाट थप अर्को टोली आएको छ ।
‘कोरियाली टिमले सुरुङको अध्ययन गरेपछि सोही अनुसारको उद्धार क्षमता भएको कोरियाली टिम आएको उनीहरूले बताएका छन्,’ एक सुरक्षा अधिकारी भन्छन् । कोरियाबाट आएको ४६ जनाको टिम अब घटनास्थल प्रस्थान गरी खोज उद्धारमा खटिने छ ।
दक्षिण कोरियाले यसअघि भदौ ११ र १३ गते गरी दुई वटा सरकारी र्यापिड रेस्पोन्स टिम नेपाल पठाएको थियो । यो बाढीमा परी ९ दक्षिण कोरियाली नागरिकसमेत बेपत्ता भएका छन् ।
माथिल्लो त्रिशूली थ्री–एमै चिनियाँ टोलीले पनि काम गरिरहेको छ । त्रिशूली–थ्री एमा नेपाली सेनासहित ९३ जनाको संयुक्त टोलीबाट ३ वटा स्काभेटर, १ वटा बबक्याटको सहयोगमा माटो पन्छाउने काम भइरहेको सेनाले बताएको छ ।
त्यस्तै कम्प्रेस मेसिन, ब्रेकर तथा ब्लास्टिङ कार्य गरेपछि टनेलको आउटलेट भेटिएको सैनिक मुख्यालय जंगी अड्डाले बताएको छ । वर्षाका कारण राति जमेको करिब १.५ मिटर पानीलाई पम्पद्वारा फाल्ने काम भइरहेको छ ।
त्रिशूली थ्री–बीमा नेपाली सेनाका ६१ जना, गैरसैनिक ३ जना र आयोजनाको प्रबन्ध निर्देशकसहितको उद्धार टोलीले काम गरिरहेको छ । यो टोलीले आयोजनाको कार्यालय र निवास पहिचान गरी उक्त इलाकासम्म पुग्न एक्साभेटरबाट बाटो बनाउने काम गरेको जंगी अड्डाले बताएको छ । माथिल्लो त्रिशूली–१ हाँकुमा नेपाली सेनाको टोलीले खोज तथा उद्धारको काम गरिरहेको छ ।

तीन देशबाट आएका उद्धार टोलीले सेनासँग मिलेर तालिमप्राप्त कुकुरदेखि, डिटेक्टर मेसिनसहित काम गरिरहेका छन् ।
उच्च क्षमताका ड्रोन, ध्वनि तथा भिडियो उपकरण, लाइफ डिटेक्टर र थर्मल इमेजिङ उपकरण लगायतका प्रविधिमार्फत विदेशी उद्धारकहरूले काम गरिरहेका छन् । हिलोमा फस्ने भएकाले कायकिङ बोटमार्फत पनि काम गरिएको छ ।
नेपाली सेनाका अधिकारीहरूका अनुसार विदेशीहरूले प्रयोग गरेका लाइफ डिटेक्टरदेखि ड्रोनसम्मका उद्धार उपकरण नेपाली सेनासँग पनि छन् । यी सबै उकरणहरूको प्रयोग गरेर सेनाले काम गरिरहेको छ । उनीहरूसँग पनि नेपाली सेनाकै जस्तो उपकरण भए पनि ती उच्च क्षमताको हुनसक्ने बताइन्छ ।
सुरुङको उद्धार निकै चुनौतीपूर्ण रहेको उद्धारकर्ताहरूले बताएका छन् । रसुवाको धुन्चे उत्तरको फिल्ड अपरेसन कमान्डर तथा नेपाली सेनाका सहायक रथी उज्वलविक्रम राणाले वस्तुस्थितिबारे जानकारी दिँदै सुरुङभित्रको उद्धार एकदमै जटिल रहेको बताएका छन् ।
सुरुङभित्र थुप्रिएको माटो, ढुंगा तथा अन्य गेग्रान हटाएर उद्धार तथा खोजी कार्य अघि बढाउन तीन–चार महिनासम्म लाग्न सक्ने उनले बताएका छन् ।
‘टनेलभित्र जम्मै जमेका कुराहरू निकाल्न दुई–तीन दिनमै हुनसक्ने सम्भावना देख्दिनँ । त्यसलाई तीनदेखि चार महिनामा पनि निकाल्न नसकिने अवस्था देखेको छु,’ उनले भनेका छन् ।
यता, प्रधानमन्त्री बालेन शाहले अहिले भएको टनेलभित्रको उद्धार क्षमता नेपालसँग मात्र नभई कसैसँग पनि नरहेको दाबी गरेका छन् ।
प्रतिनिधिसभा बैठकमा बोल्दै प्रधानमन्त्री शाहले भनेका छन्, ‘टनेलमा विपद् आउँदा सुरुङमा आएको पहिरो पन्छाएर प्रवेश गर्ने विशेषज्ञता विश्वभर रहेको छ । तर यो फरक घटना हो । अहिले टनेलहरू पहिरोले थुनिएको नभई बाढी र हिलो माटो भित्र पसेर थुनिएका हुन् । यस्तो अवस्थाको सुरुङ खोल्ने विशेषज्ञता अरू मुलुकहरूसँग र हामीसँग पनि थिएन ।
०००
उद्धारमा मात्रै होइन, फरेन्सिक पाटोमा पनि विदेशीहरू काम गरिरहेका छन् । विपद्मा मृत्यु भएकाहरूको शव पहिचान, व्यवस्थापन तथा डीएनएको पाटोमा विदेशीहरू नेपाल प्रहरीलाई सहयोग गरेर काम गरिरहेका छन् ।
परराष्ट्र मन्त्रालयका प्रवक्ता क्षेत्रीका अनुसार अहिले विदेशी फरेन्सिक टिमले नेपाल प्रहरीसँग मिलेर काम गरिहरेको छ । १९ जना भारतीय फरेन्सिक टिमले अहिले डीएनए स्याम्पलमा नेपाल प्रहरीसँग मिलेर काम गरिरहेको छ ।
उनीहरुले मृत्यु भएकाहरुको डीएनए निकाल्ने त्यसको जाँच गर्ने पाटोमा काम गरिहरेको बताइएको छ । त्यस्तै मंगलबार मात्रै चीनबाट पनि ५ जनाको चाइनिज फरेन्सिक टिम काठमाडौं आएको छ । उनीहरूले पनि नेपाल प्रहरीसँग मिलेर काम गर्छन् ।

सिंगापुरबाट ६ जनाको डिजास्टर भिक्टिम आइडिन्टिफिकेसन आएर काम गरिरहेको छ । आज मात्रै १३ जना डीएनए टेस्टिङ टिम उपकरणहरू समेत सिंगापुरबाट आएर काम गरिरहेको छ ।
अहिले कोरियन फरेन्सिक टिम पनि काठमाडौं आएको छ । उपकरणसहित आएको यो टिमले पनि शवको पाटोमा काम गर्नेछ ।
लाइज्ट डिटेक्सन एन्ड रेन्जिङ (लिडार) फ्रिजर, डीएनए परीक्षण किट, लोड क्यारियर मानव अवशेष झोला, उच्च क्षमताका ड्रोन, जिन सिक्वेन्सर लगायतका सामानहरू विदेशबाट ल्याएर काम भइरहेको छ ।
प्रतिक्रिया 4